Thursday, October 25, 2018

बिकासको भोक



आजभोली हामी नेपालीमा बिकासको भोक जागेको छ| भौतिक विकास र सामाजिक सुरक्षाको अवस्था माओवादी ‘जनयुद्ध’ काल देखि लगभग ठप्प अवाथामा रह्यो| बहुदलीय व्यवस्थाको पुनरागमन भएको झन्डै तिन दशक सम्म कुनै पनि सरकार एक बर्ष पनि टिकेनन| अनि सबैलाई लाग्यो कि स्थिर सरकार नै बिकासको आधार हो| बिकासको अर्थ हुन्छ नागरिकमा स्वामित्व भाव र सन्तुष्टिको आर्जन| उदाहरणका लागि अस्ट्रेलिया स्वतन्त्र भए यता एकाध बाहेक कुनै पनि सरकार एक बर्ष टिकेको छैन| धेरै बिकसित भनिएका डेनमार्क फिनल्याण्ड इज्राएल लगायतका दर्जनौं देसमा अल्पमतको सरकारले शासन गरेको दशकौं भइसक्यो| हामी कहाँ विकास किन भएन त? हामी सोच्छौं कि सरकारले बजेट दिन्छ, कर्मचारीले टेन्डर आह्वान गर्छन र ठेकेदारले विकास गरिदिन्छ| सुरक्षा भन्नासाथ पुलिसलाई र विकास भन्नासाथ भौतिक विकासलाई सम्झने हाम्रो संस्कारमा आमूल परिवर्तन नआउन्जेल विकासले बाटो लिन सक्नेवाला छैन| सरकार वा राज्यका अंग भनेको जनताको बिकासको कृयालाई सहजीकरण सम्म गरिदिने निकाय हुन| विकास गर्न बाटो नहर अस्पताल वा बिद्युत खानी जस्ता बिषय जनताले आफै गर्नसक्ने कुरा होइन| त्यसमा बिशाल धनरासी, उच्चस्तरीय प्रविधी आदि चाहिन्छ| र त्यस्ता ठूला बिकासका संरचनाले अरु स-साना विकासका अभियानलाई सहजीकरण गर्छन| तर संरचनाको बिकासका साथै जनताले त्यसको उपयोग गर्ने चेतना र उपयोगिता कसरी हुन्छ त्यसमा मात्र जनताको बिकासको खाका देखिन्छ|
हामी कहाँ चर्चा चल्ने गर्छ कि फलानो बिकासको काम थोत्रिएर गइसक्यो, कसैले मर्मत सम्हार गर्दैन| गाउँघरमा सरकारले हालिदिएको धाराको टूटी बिग्रन्छ,कसैले मर्मत गर्दैन| पाइप फुटेर पानी खेर गइरहेको हुन्छ, कसैले वास्ता गर्दैन| अनि औंला ठड्याएर सरकारलाई गाली गरेको सुनिन्छ, खोइ, किन मर्मत नगरेको? भन्दै| यो व्यवहारले बताई रहेको हुन्छ कि हामीले विकास भन्नासाथ अरुले हाम्रो लागि गरिदिने विकास भन्ठानेका छौं| यो नै हाम्रो अविकास र अवनतिको लक्षण हो| अरुले तपाईका लागि गरिदिने कुरा दया होला, दान होला, विकास होइन| बिकासको आवस्यकतालाई चिनेर त्यसका लागि प्रतिवद्ध हुनु बिकासको पहिलो आवस्यकता हो| त्यस्तो बिकासको काममा सहजीकरण गर्नसक्ने पात्र पहिल्याउन सक्नु पहिलो क्षमता हो| बिकासका काममा संलग्न हुनु अर्थात योगदान गर्न तत्पर हुनु पहिलो शर्त हो| र, आफ्नो बिकासका लागि निर्मित कामको रेखदेख सम्हार प्रति चनाखो रहेर सामेल हुनु पहिलो दायित्व हो| अर्थात प्रतिवद्धता, पात्र, योगदान र सामेली बिकासका चार पूर्वशर्त हुन| यदि घर बनाएर स्कुल अस्पताल चल्ने भए जहाँतहीँ चल्ने थियो| बनाउना साथ् हुने भए भत्किएका सडक, पुल, चुहिने भवन र अतिक्रमित सार्वजनिक जमिन वन देख्नु पर्ने थिएन| सार्वजनिक सम्पत्ति अर्थात् बिकासका ति कामहरु जो आम नागरिकका लागि गरिएका हुन्छन अथवा सार्वजनिक कोषको रकम जुन आम नागरिकबाट लिइएको हुन्छ, त्यसको उपयोग शुद्ध मनले मात्र गर्नु पर्छ र गर्न दिनु पर्छ| सूचनाको हकको कानून छ| दुरुपयोगको शंका लागेमा सोध्न पाइन्छ| कानूनको शासन भएको देश हो, उजुरी गर्ने निकाय पनि छन| तर निरास भएर अरुलाई सात्तोसराप मात्र गरेर केहि हुनेवाला छैन| कुनैपनि सार्वजनिक सम्पति र सेवाको दुरुपयोग गरिएमा त्यसलाई जघन्य अपराध मानिन्छ| किनकी त्यस्तो दुरुपयोगले थुप्रै मानिसलाई दु:ख दिन्छ| त्यसैले सार्वजनिक सम्पत्ति सेवा र पदको दुरुपयोग गर्नेलाई दिइने सजायको मात्रा व्यक्तिगत गफलत गर्नेलाई भन्दा बढी हुन्छ |
संयुक्त राष्ट्रसंघले घोषणा गरेको दिगो विकास लक्ष सन् २०३० सम्ममा अर्थात अबको १२ बर्षमा हासिल गर्नुपर्ने छ| उक्त लक्षको १७ वटा बुँदा छन जसमा गरिबीको अन्त्य, भोकमरीको अन्त्य, आरोग्यता, गुणस्तरीय शिक्षा,लैंगिक समानता, सफा पानी र सरसफाई, स्वच्छ उर्जा, मर्यादित काम र आर्थिक वृद्धि, उद्यम नवीन खोज र पूर्वाधार, असमानताको न्यूनीकरण, दिगो बस्ती, जिम्मेवारीपूर्ण उपभोग र उत्पादन, जलवायुको शुद्धता, नदीनाला र पानीका श्रोतको संरक्षण, बातावरण र वन,शान्ति र न्यायका लागि सशक्त संस्थागत विकास तथा उल्लेखित लक्षका लागि साझेदारी तोकिएको छ| अन्तिम अर्थात सत्रौं बुँदाले घोषित गरेको कुरा के हो भने आम नागरिकको योगदान र साझेदारी बेगर यि लक्ष प्राप्त गर्न असम्भव छ| नागरिक समाज, नागरिक र अनेकन क्षेत्रमा संगठित व्यक्तिहरुको साथ् सहयोग मात्र होइन कि नेतृत्व बेगर दिगो आर्थिक विकासको लक्ष प्राप्त गर्न असम्भव हुनेछ| अहिले स्थानीय सरकार बनेको छ| र, सम्बिधान बमोजिम उनीहरुले नागरिक संगठन वा समूह संग मिलेर काम गर्नसक्ने ढोका खुलेको छ| हाम्रो आवस्यकता अनुसार कै हाम्रो क्षमता पनि हुने गर्छ| यो शास्वत नियम हो| सानो बस्तीका लागि प्राथमिक पाठशाला, उपचार केन्द्र वा प्रसुती सेवा जस्ता कुरा प्राथमिक आवस्यकताका कुरा होलान| ठूला शहरमा कलेज अस्पतालको माग होला| आवस्यकताको पहिचान गर्न, त्यसका लागि आफ्नो तर्फबाट हुनसक्ने योगदानका लागि तत्परता व्यक्त गर्न र राज्यका सम्बन्धित अंगलाई परिचालित गरेर सहजीकरण उपलब्ध गर्न सक्ने समाजले नै बिकासको लक्ष हासिल गर्न सक्छ| सोँच सुनुवाई र लगनशीलता नै विकासको आधारस्तम्भ हो भनेर त्यसैले भनिएको हो| होइन भने बिकासको भोक भोक मात्र रहनेछ| भोक शान्त हुन कठिन छ| किनकि तपाइको भोक अरुलाई लाग्दैन| र, भोक सामना गर्ने तपाईको इच्छामा कुन चाहिं स्वाद प्राथमिकतामा परेको छ भन्ने कुरा अरुले जान्दैन| त्यसैले बिकासको भोक लाग्नु राम्रो तर भोक निवारणको दिगो उपाय नजान्नु नराम्रो|