Tuesday, November 13, 2018

जनताको विकास – जनताद्वारा:



विकास सम्पूर्ण उन्नतिको अवधारणा हो| चेतनशील ठम्याई, कृयाशील संलग्नता र प्रतिवद्ध नेतृत्व विकासको पूर्वशर्त हो|जनताको दिनचर्या र परिवर्तनशील सामाजिक चेतानासंग विकासको अवधारणालाई गाँस्ने काम शुद्ध राजनीतिक कर्म हो| त्यसैले विकास राजनीतिको परम लक्ष हो|
निरङ्कुश र अधिनायकवादी सोचाइ राख्नेहरु जनतालाई आसे, आश्रित र गुलामको नजरले हेर्छन| उनीहरुका लागि आदेशमा चल्ने रक्षा,सुरक्षा र कर्मचारीतन्त्र मात्र शासनका औजार हुन जसले शासकीय आदेश तामेल गर्छन| त्यहाँ जनताको चेतनशील ठम्याई, कृयाशील संलग्नता र प्रतिवद्ध नेतृत्वको कुनै ठाउँ हुँदैन|हाम्रो देशमा विकास त्यस्तै शैलीमा अहिलेपनि चलिरहेको छ| सरकारले बजेट पठाइदिने, कर्मचारीले टेन्डर जारी गर्ने र ठेकेदारले विकास गर्ने भन्ठानीएको बज्र अवस्था छ| सांसदहरु आफ्नो खल्तीमा रुपिया बोकेर विकास गर्ने उछिनपाछिनमा छन|मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रमा बढी भन्दा बढी भौतिक विकासका टेन्डर जारी गर्न लागि परेका छन|, जनताको नजरमा यि कुरा गर्न नसक्ने जनप्रतिनिधि नालायक ठहरिने संस्कृति स्थापित छ| नेतृत्व वर्गले जनतालाई सोध्ने हिम्मत गर्दैन कि फलानो विकास चाहियो भन्ने चेतनाको आधार के? त्यस्तो विकासका लागि जनताको योगदान र नेतृत्व कस्तो? राज्यले गर्नुपर्ने सहजीकरण कसरी? विकास र समग्र उन्नतिसंगको अन्तरसम्बन्धका बारेमा नेतृत्व आफै प्रष्ट छैन|आम नागरिक वरपर शहरबजार जाँदा देखेको कुरा खुरुक्क आफूकहाँ आइहालोस भन्ने चाहन्छ|यहि हतारोमा सुरु हुन्छ बजेट, ठेकेदार र विकासको जन्जाल| यस्तो विकासको क्रम सुरु हुन्छ जसलाई जनताले मेरो भन्ने ठान्दै ठान्दैन| आफ्नो नठाने पछि विकास कार्यको सम्भार रेखदेखको कुरै भएन|जस अपजस सरकारको मात्र हुन्छ| ठूला मान्छे विकसित देशमा जान्छन| त्यहाँको चौडा सडक, बहुतले घर देखेर आउँछन् र त्यसकै नक्कल गर्न अघि सर्छन| सानोबाट ठूलो तर्फ लाग्ने र उन्नतिबाट आत्मनिर्भर उन्नतिको मार्ग कोर्ने कुरा हामी नेपालीको विकास-चेतनामा छैन| निरन्तर गतिमा गुड्न पायो भने सवारीसाधनले सडक जाम गर्दैन|जिनेभा देखि लन्डनसम्मका सडकमा सार्वजनिक बसमा सुविधाजनक यात्रा गरेका र त्यहाँका उच्चस्तरीय व्यक्तिहरुले त्यसको प्रयोग गरेको देखेकाहरू नेपालमा किन आठ दस लेनको सडकको सपना देख्छन कुन्नि? हामी आठ लेन सडकको धरापमा परिसक्यौं| त्यसको मर्मत सरसफाई र त्यहाँ सुरक्षा र ट्राफिक व्यवस्थापन कसरि गर्ने होला? एक महिनामा सात जनाको ज्यान आठ लेनको चौडा सडकले जम्मा तिन किलोमिटरको दुरीमा लिइसक्यो|एउटा देशलाई अर्कोसँग जोड्ने द्रुतमार्ग समेत चार लेन भन्दा बढीको बनाइन्न| बरु अन्डर-पास वा ओभर-ब्रिज बनाएर सवारीसाधनको गतिलाई निर्वाध राखिन्छ|चौडा सडकले बर्षातको पानी जमिन मुनि रिचार्ज हुन रोक्ने मात्र होइन नंग मासु भएर बसेको समाजलाई सडक वारी र सडक पारिमा विभाजित समेत गरी दिन्छ|
अहिले स्थानीय सरकारहरुमा सकेसम्म चौडा सडक बनाउने होड चलेको छ| डोजर र ड्राइभर भएपछि सजिलै कोतर्न सकिने यो विकास नामको बिनास लीलाले देश आक्रान्त छ|बर्खामा पहिरो, बाढी र गाउँघरमा पानीको सतह डेढ दुइसय फिट मुनि गएर र इनार खोल्सी सुकेर दर्जनौं गाउँहरु बिस्थापित भएका छन|बनेका सडकले खास फाइदा सवारी र ढुवानी साधनका मालिकलाई पुय्राएको छ| जनता ऋण काढेर बस चढेर रमाउने भएका छन| सडक छेउछाउ जग्गा हुने महंगोमा बेचेर सदरमुकाम झरेका छन|स्थानीय संस्कृति र समाज टुक्रीदै गएको छ| सडक वा कुनै पनि विकासको काम त्यसले छुने जनताको कहिल्यै भएन|त्यो त सरकारी भयो, ठेकेदारको भयो वा बढीमा विकास ल्याउनेमा दरिएको कुनै नेता बिशेषको भयो|यस्तो चलते-चलाते रीतलाई फेर्नु पर्छ|
नेपालमा पूर्व पश्चिम जोड्ने गरी  तराई, चुरे, पहाड र हिमालका कतिपय ठाउँमा आधुनिक सडक निर्माणको काम धमाधम चलिरहेको छ| ति सडकलाई छुने गरी उत्तर दक्षिण घोरेटो बाटो बनाइदिए पुग्छ| घोरेटोमा ढुंगा छापिदिने हो भने दुइ पांग्रे मोटरसाइकलमा पनि स्थानीय उत्पादन बजारसम्म ओसार्न सकिन्छ|पर्यटनको विकास गर्न सकिन्छ| घोरेटोको समानान्तर कुलो पैनी चलाउन सकिन्छ|, यि र यस्ता विकासको कामको निर्माण सम्भार र सहजीकरण स्थानीय सरकारले नै गर्न सक्छन|ठूला चौडा सडक यत्रतत्र चाहिन्न| घरघरै मोटर पुय्राउनु पर्दैन| घोरेटोमा हिडेर वा घोडचढी गरेर पर्यटकहरु होम-स्टेमा रमाउन आउनेछन्| ठूला घर, चौडा सडक र प्रदुषित हावा खान कुनै पनि पर्यटक आउदैन| हामीले जनतालाई भन्न सक्नु पर्छ, आफ्नो गाउँ-आफै बनाउँ|
नेपालको संविधानले सामाजिक सुरक्षा, स्थानीय विकास र चेतनाको दायित्व स्थानीय सरकारलाई सुम्पेको छ| सबै कानून र नियम बनिसकेका छैनन्| तर जानेको कुरा के हो भने प्रदेश वा संघले संबैधानिक प्रावधान र मर्मको खिलाफ हुनेगरी नियम कानून बनाउन पाउने छैनन|नियम कानून बनेको छैन भनेर जनताको दिनचर्या र समस्या थाँती बस्दैन|स्वास्थ्य शिक्षा पिउने पानी स्थानीय सडक आवास आदि कुरा स्थानीय सरकार कै कार्यक्षेत्रमा पर्छ| पाठ्यक्रममा स्थानीय गौरव र पहिचानलाई समावेश गर्ने दायित्व पनि स्थानीय सरकार कै हो| चिट्ठी खेस्रा गरिदिने, टाइप गरिदिने र चलानी गरिदिने कर्मचारी नभएर काम गर्न पाइएन भन्ने स्थानीय पदाधिकारी देख्दा मलाई साच्चै टिठ लाग्छ| पंचायती निरङ्कुश शासनको बेलामा समेत पंचहरु झोलामा चीनीको कुपन र पंचायतको छाप लिएर घरघरै आउंथे र परिवारका सदस्यको संख्याको हिसाबले कुपन बाँडेर जान्थे| तर अहिलेका अधिकांश जनप्रतिनिधीहरु सिंहदरबारको रवाफ आफूकहाँ खोज्न थालेका छन| निरङ्कुश शासनकालमा उपल्लाको आशय बुझेरमात्र काम गर्ने चलन थियो|बहुदल आयो| नेताको आशय नबुझी काम गर्न नसक्ने कार्यकर्ताको उदय भयो| बैचारिक निर्देशनमा कम गर्न छोडेर कार्यकर्ताहरु नेताको वैयक्तिक आशयमा रुमलिए|असल चलन आफूले चलाउने हो|पार्टीको दर्शनका आधारमा दावी आफूले गर्ने हो| आफ्नो पार्टीलाई आफैले कूचो लगाउने हो| नत्र फोहर घरको फोहरी होइन्छ भन्ने चेतना राजनीतिक कर्मीहरुमा घट्दै गएको छ|तलबाट नेतृत्वको विकासको प्रकृया अहिले लगभग रोकिएको कारण यहि हो| दुइहजार छत्तिस साल यता कुनै नयाँ नेतृत्वको विकास भएको अनुभव नेपाली राजनीतिले गर्न पाएको छैन|सत्तरी कटेका बुढाहरु तिरै आसाको नजर लगाएर बसेका तन्नेरीहरू आफै असान्दर्भिक उमेरमा पुग्न लागिसके|कि त सबैकुरा आफै जान्ने कि बिल्कुल नजान्ने नेताको चक्रब्युहमा नेपाली राजनीति फसेको छ|राजनीति गर्नेले जनताको अपेक्षा बुझ्नसक्ने क्षमता आफूसंग राख्नु पर्छ|, सम्भावनाको बिषयमा अध्ययन र परामर्श गर्न खुला दिलले तत्पर हुनुपर्छ| नेपालको आधुनिक विकास योजनाको एकलकाँटे चलन पनि यथावत छ| संसारका कतिपय देशमा चीनी मिलको प्रथम उत्पादन चीनी होइन|कतै पाचौं हो, कतै सातौं वा आठौँ हो| मोलासेस, कार्डबोर्ड, बिजुली आदि अनेक उत्पादन गर्छन चीनी मिलले| जलविद्युतमा पनि तलाउ, माछा पालन,पर्यटन, सिंचाई, खानेपानी र वातावरणीय प्रवर्धन संगसंगै गाँसिएर आउँछ|स-साना किसानको खेत करेसामा एकनासको उत्पादन बजारीकरण र प्रशोधन गर्ने सहकारी र तिनको विकास देखेर बुझेर आएकाहरु नेपाल टेकेपछि अजंगको विकासे यान्त्रिकरणको मात्र वकालत गर्न थाल्छन|हाम्रो समस्या यहिं छ| हामी सानोबाट ठूलोमा र आत्मनिर्भरताबाट आधुनिकतामा जाने यात्राको बारेमा चिन्तनशील छैनौं| विकास जनताले गर्ने हो| उनीहरुलाई बताउने जगाउने र सघाउने काम राजनीतिक नेतृत्वको हो| किनकि जनताको अपेक्षा र क्षमताको बारेमा सर्वाधिक जानकार व्यक्ति राजनीतिज्ञ नै हुन|राजनीतिज्ञहरुले पार्टी बिशेष र गुट बिशेषको धंगधंगीबाट मुक्त हुँदै मेरो राजनीति समग्र राष्ट्रको विकासका लागि हो भन्ने समय चेतनाका साथ् कृयाशील भइदिए हामी बामे सर्दै, टुकुटुकु हिड्दै दौडन एक दशक लाग्ने छैन| समग्र विकासको चक्र एकपटक सुल्टो घुमेपछि त्यसले आफ्नो गति आफै समात्नेवाला छ| ढुक्क भए हुन्छ|