Wednesday, May 17, 2017

हरेक व्यक्तिको मनमा इश्वरको वास हुन्छ:


(१):विश्वकै ठूलो प्रजातन्त्रको दावा गर्ने भारतले कुनै पनि निर्वाचनलाई संधै बिरोध गरिरहन सक्नेवाला थिएन| प्रजातन्त्रले आफ्नो रोगको उपचार आफै गर्ने भएको हुँदा कालजयी भएको हो| र, यसको कालजयी प्रकृया भनेको समाधान दिनसक्ने नेतृत्वको निरन्तर बिकाश गर्ने प्रणालीको रुपमा स्थापित निर्वाचन नै हो|
(२): सम्बिधान जारी गर्नेले लगत्तै निर्वाचन गरेर अर्को व्यवस्थापकीय संरचना निर्माण गर्नु पर्छ| जे जस्तो सुधार परिमार्जन गर्ने हो त्यो नयाँ संसदले गर्ने हो| किनकि नयाँ संसद जनताको अद्यावधिक समय चेतनाको प्रतिनिधी संस्था हो|
(३): आजको युगमा उग्र पहिचानवादी आन्दोलनले अत्यधिक अस्थिरता निम्त्याएको छ| भारत आफै त्यो उग्रता बाट पीडित राष्ट्र हो| पहिचानवादको वकालत विश्व पूँजीवादका लागि आफैले खडा गरेको भष्मासुर बनिसकेको छ| पहिले बिन लादेन अहिले आइएस यसका ज्वलन्त उदाहरण हुन|
(४): नेपालको सीमांकन संसार भरि प्रचलित र भारतले पनि अङ्गीकार गरेको प्रणाली अन्तर्गत दुरुस्त लागु गरिएको छ| अझ केहि मामिलामा अनपेक्षित सम्झौता भएको छ| उदाहरणका लागि प्रदेश नं १ र ३ को जनसंख्या नं २ को भन्दा बढी छ| तर प्रदेश नं २ मा ३ र १ को भन्दा बढी स्थानीय तह निर्धारित छ|
(५): युरोपेली, अमेरिकी अन्तर्राष्ट्रिय अभियानका नजिक रहेका कथित विद्वानहरुको लहै लहैमा लागेर मधेस केन्द्रित नेताहरु बीचलित भए र स्थानीय सरकारलाई पूर्णतः प्रदेश मातहत राख्नु पर्ने अनि स्थानीय सरकारले माथिल्लो सदन र राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने अधिकार खोस्नुपर्ने कुराको वकालत गर्न पुगे| उनीहरुले के बिर्सिए भने यसपटकका मतदातामा १९ लाख भन्दा बढी तन्नेरीहरू छन| तन्नेरीहरुको आपसी सम्वाद जीवन्त छ| यो शर्त उनीहरुका लागि यति बेला घाँडो बनिरहेको छ|
(६): संविधानले इतिहासमा पहिलो पटक दलित, महिला लगायत पछाडी परिएकाहरुका लागि राजनीतिक हिस्सेदारीको ढोका खोलेको कुरा सर्वाधिक महत्वको स्वतः जन परिचालनको कारक तत्व रहेको तर्फ मधेसी नेताहरुले ध्यान पुय्राउन सकेनन| मधेसका २० देखि ३० प्रतिशत जनसंख्या दलित रहेका जिल्ला हरुमा उनीहरुले जवाफ दिनुपर्ने स्थिति छ|
(७): आजको समय चेतना आफ्नो क्षमता बढाएर स्वतन्त्रतापूर्वक समृद्धिको यात्रामा समानता पूर्वक लम्कन चाहन्छ| यसर्थ सांस्कृतिक र सामाजिक चालचलनमा रहेको विभेद बिरुद्ध सांस्कृतिक रुपान्तरणको उद्घोष गर्न सकेको भए त्यो नौलो कुरा हुने थियो| पुराना दलहरुलाई चुनौति थपिने थियो| सामाजिक चेतनाको लहर चल्ने थियो र त्यसले मधेसी नेताहरुलाई परिवर्तनको संवाहक बनाउन सक्ने थियो| उनीहरुले मानव बिकाशको मापदण्ड र सामाजिक न्यायको कार्यक्रम लिएर अगाडी बढ्नु पर्ने थियो| तर यो ठाउँ सम्म उनीहरुको दृष्टि पुग्न सकेन| किनकि (१) उनीहरुको बिगत परम्परागत दलहरुमा रहंदा वा नरहँदा संधै सत्ताकै लागि मात्र मरिहत्तेको राजनीति गरेको व्यक्तित्वका रुपमा स्थापित छ| (२) जागीर र राजनीतिक नियुक्तिमा आफ्नो दाउ थापेर बसेका, जनताका बीचमा जानै नपर्ने र ठूला कुरा गरेर संधै ठूलो भाग खान चाहने कथित बिद्वानहरुले उनीहरुलाई हरेक कुरालाई ग्लेमराइज गर्न मात्र उत्प्रेरित गरिरहे|
(८):उपेन्द्र यादवले मनको कुरा भनेका छन- "जन्मेको माटोले भन्यो र म चुनावमा जाने भएँ|" एउटा साहसको जन्म भएको छ| समय छ| माग र औचित्य बिसाउनुस भनेर म मधेस केन्द्रित नेताहरुलाई भन्दिन| यो अधिकार जन अभिमतमा सुरक्षित् छ| तर मधेसको चेतनालाई बुझ्ने र नयाँ नेतृत्व पंक्तिलाई उदियमान हुन अभिप्रेरित गर्ने अवसरका रुपमा उहाँहरुले आगामी निर्वाचनलाई उपयोग गर्नु भए बल्ल हामीले बुझ्न पाउने छौं कि यो संबिधानमा गर्नैपर्ने संशोधन के के हुन र किन हुन? किनकि नव निर्वाचित नेत्रित्वपंक्ति यथार्थमा समय चेतनाको नवीनतम प्रतिनिधि हुनेछन|
(९): हिमाल देखि तराईसम्म देशैभरी जनताले भोगेको पीडा र खोजेको समाधान एकै प्रकारको छ| कूल मतदाताको ७३ प्रतिशत तर उपश्थित अर्थात देशमा रहेका र जीवित मतदाताको ८० प्रतिशत भन्दा बढीले यस पटकको मतदानमा भाग लिंदा आँखा चिम्लिएर समर्थन गरेका होइनन| उनीहरुले आफ्नो समस्याको समाधानको सुत्र हामी नै हौँ र हामी नै समाधान गर्ने छौं भन्ने बिश्वास निर्वाचन मार्फत प्रकट गरेका छन| मधेसका नागरिक संग सम्पूर्ण देशवासीको चिन्तन एकनिष्ठ छ| यो मर्मलाई लोकतन्त्रको जन्मभूमि मधेसका नेताले पनि देरसवेर बुझ्नु हुनेछ भन्ने कुरामा बिश्वस्त हुनुपर्छ|
मधेसी नेताहरुलाई किन जहिले पनि भारतीय दूतावासको भरिया बनाइन्छ? जनताको नजरमा जानाजान उहाँहरुको यसरि तेजोवध गरिएको छैन र? अहिले पनि राजदूतले यसो भने उसो भने भनेर दिल्लीबाट उही व्यक्तिले लेख लेख्छन जसले भारतलाई तिमि क्षेत्रिय शक्ति हौ, तिम्रा नागरिकले नेपालको अर्थतन्त्रको ८५ प्रतिशत कारोबार गर्छन, त्यसैले नेपाललाई पाठ पढाउ भन्छन र नाकाबन्दी गर्न उक्साउछन| उनले लेख लेखेको ३ दिन पछि मधेसी नेताहरु पनि सीमानामा नाकाबन्दी गर्न धर्ना बस्न थाल्नु हुन्छ| नेपाललाई पाठ पढाउ भन्दा नेपालीहरु उपर नै नाकाबन्दी भयो| त्यसको सबभन्दा बढी नोक्सानी मधेसका नेपालीले भोग्नु पय्रो| यो ऐतिहासिक अवसर हो मधेसी नेताहरु उपर गरिएको षडयन्त्र बाट मुक्ति लिने| मिथिला चिन्तनको सार छ - "हरेक व्यक्तिको मनमा इश्वरको वास हुन्छ"| राजा जनकको दरबार (बैठक) मा यो शब्द दोह्य्राइन्थ्यो|


Wednesday, May 3, 2017

कांग्रेसजनमा अपील:- May,1,2017.


१: नेपाली कांग्रेसका मित्रजन, कृपया सम्झनुस किन तत्कालीन सभामुख रामचन्द्र पौड्यालले एमाले द्वारा प्रस्तावित प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय बिरुद्धको महाभियोग प्रस्ताव दर्ता गर्न इन्कार गर्नु भयो?
२: लोकमान बिरुद्धको महाभियोग एमाले र एमाओवादीले प्रस्ताव गर्दा सभापति शेरबहादुर देउवाले भन्नु भयो, संबैधानिक निकायको गरिमालाई नेकां जस्तो प्रजातान्त्रिक पार्टीले हल्का पार्ने गरी कुनै क़दम चाल्न सक्दैन, तपाईहरुको प्रस्ताव उपर हामी औचित्यको आधारमा, लोकतान्त्रिक मूल्य मान्यताको कसीमा जॉचेर मात्र संसदमा प्रस्तुत भएपछि राय दिऔँला। तर अधिकार छ भन्दैमा महाभियोगको अभियोजन गर्न सक्दैनौँ।
३: महान्याधिवक्ता जनताको क़ानूनी अधिकारको रक्षक हुन। कुनै पार्टी बिशेष वा सांसद बिशेष वा सरकारका नायक वा प्रवक्ता होइनन। सामान्य क़ानूनी चेत भएकालाई यत्ति कुरा थाहा छ कि आफूलाई नियुक्त गर्ने सरकार प्रमुखका बिरुद्धको अभियोजन समेत महान्यायाधिवक्ताले गर्नुपर्छ।
४: सरकार आफैले बनाएको प्रहरी पदोन्नतिको नियमानुसार गर भनेर आदेश दिनु अदालतको हैकम होइन परम कर्तव्य हो।
५: अदालत भित्र गुटबन्दी भयो भन्ने अधिकार सरकारलाई छैन। त्यहॉ कुनै समस्या छ भने उजुरी लिने निकाय छ जसलाई न्याय परिषद भनिन्छ।सम्बन्धित ठाउँमा उजुरी नगरी कसैले सरकारमा उजुरी गर्छ भने त्यो कायर, चाकर र अनुशासनहीन ब्यक्ति हो।त्यस्तो बेरितको मौखिक चाप्लुसी लिने र त्यसैको आधारमा महाभियोग चलाउनेले अनुशासनहीनता र बदचलनको सजाय भोग्नुपर्ने छ।
उल्लेखित तथ्य पढेपछि पनि महान्यायाधिवक्ताको निर्लज्ज नेतृत्वमा नेपाली कांग्रेसका सांसद मिन बिश्वकर्माको वेशरम हुँकार प्रति तपाईको चित्त फाट्दैन भने भन्ठाने हुन्छ, सुशीला कार्की बिरुद्धको महाभियोग, सरल अर्थमा महाभियोग मात्र होइन। यो त नेपाली कांग्रेसको आदर्श उपर माननीय सभापतिले ओढाएको तिलान्जलीको कात्रो हो। तपाईको आदर्श, चेतना र इतिहासको रक्षार्थ अन्तरपार्टी संघर्ष गर्ने हिम्मत गर्न सक्नुहुन्न भने कृपया दोहय्राएर सोँच्नुस के कांग्रेस ज्युँदो रहन सक्ला? माओवादीको सिद्धान्तमा त स्वतन्त्र न्यायालय छैन, त्यसको तेजोवध उनीहरुको परम लक्ष हो। के कांग्रेसजनको लक्ष पनि त्यहि भएको हो?