Tuesday, December 18, 2012

नेताज्यूको टेलोमेरेस परिक्षण:








                                                                                                            ०६९ पुष ३, मंगलवार.
दि टाइम्स अफ इण्डियाको फेब्रुअरी १७ को अनलाइन अंकमा एउटा चाखलाग्दो समाचार छापिएको छ. सन् २००९ मा औषधी बिज्ञानमा नोबेल पुरस्कार दिइएको विद्यामा आधारित यो जानकारी अनुसार प्रत्येक व्यक्तिले आफ्नो बाँकी उमेर बारेमा अब सजिलै जानकारी पाउन सक्नेछन. यसकालागि रगतको कोलेस्ट्रोल जाँच गरे जस्तै प्रकृतिको रगत परिक्षण गरे पुग्छ. यो परिक्षणले बाँकी उमेर र बुढ्यौलीका बारेमा बैज्ञानिक तवरले जानकारी दिनेछ. अर्थात अरु कति दिन बाँचिएला भन्ने थाहा पाइन्छ. प्रत्येक व्यक्तिले पिता बाट २३ र आमा बाट २३ क्रोमोजोम पाएर उसको शरीर बनेको हुँदो रहेछ. प्रत्येक क्रोमोजोममा ९२ वटा टेलोमेरेस भन्ने तत्व हुँदो रहेछ. टेलोमेरेसले क्रोमोजोमको टुप्पामा सुरक्षा दिएको हुँदो रहेछ, जुत्ताको फित्ताको शीरमा प्लास्टिक, धातुको बिर्को हाले जस्तो. त्यो टेलोमेरेस कमजोर भए अनुसार बुढ्यौली लाग्ने र मुटु रोग, क्यान्सर, विस्मृति आदि रोग लाग्न थाल्दो रहेछ. विस्मृतिको व्यवहार थाल्नेले आफ्नो आयु सकिन लाग्यो भनी बुझ्नु जाति हुने रहेछ.
हाम्रा नेताज्यू हरुले आ-आफ्नो टेलोमेरेस परिक्षण गर्नु भए हाम्रो कल्याण हुने थियो. धेरै पुरानो कुरा बिर्सने अगुवाहरु संग किन गर्नु. ०४६ को जन आन्दोलन र २०६२ को जन आन्दोलनका बेलामा उहाँ हरुले गर्नु भएको वाचा, त्यसपश्चात गर्नु भएको अनेकन सहमति, प्रतिज्ञा र बितेको ७-८ महिनामा दिनु भएको आश्वाशनहरुलाई चटक्कै भुलेर पाइलै पिच्छे उहाँहरुले फेर्ने गर्नु भएको कुरा सुन्दा सुन्दा जनता हैरान भैसकेका छन. अहिले निजी कर्मचारी विश्वदीप पाण्डे मार्फतको बाबुराम पी.एच.डी.को उर्दी सुन्दा यस्तो लाग्छ कि उहाँलाई त यो रोगले हप्ता दिनमै असाध्य च्यापी सकेको रहेछ.
भारतमा ४ हजार रुपियामै परिक्षण हुन्छ भन्छन. सके नेपालमै यो परिक्षण थालौं, नसके सबै नेतालाई उतै लैजाउँ भन्ने मेरो आग्रह हो. कम्तिमा पदमुक्त प्रधानमन्त्रीलाई त झट्टै जचाई हाल्नु पय्रो. आ-आफ्नो बाँकी जिन्दगीको अवधि र यथार्थ चाल पाएपछि अलिकति बैराग जाग्ला कि?

सुबोधराज प्याकुरेल,
बागडोल, ललितपुर.