Tuesday, October 29, 2013

स्वच्छ निर्वाचनकालागि नागरिक अभियान:किन?



पंचायतकालीन निर्वाचन देखि बहुदलकाल सम्म हरेक निर्वाचनमा नागरिक समाजले पर्यवेक्षण गरि आएको छ. निर्वाचनका क्रममा भएका धाँधलीका बारेमा सार्वजनिक गर्ने, उजुरी गर्ने गरि आएको छ. तर निर्वाचन आयोग र पर्यवेक्षण समूह बीच औपचारिक सम्बन्ध नहुने भएको हुँदा त्यस्ता जानकारीलाई आधार मानेर कुनै कारवाही भएको छैन.
निर्वाचन भनेको जनताको अपेक्षाहरुको अद्यावधिक जानकारी बटुल्ने, उनीहरुले चाहे अनुसारको आदर्श र व्यवहारलाई स्थापित गर्ने अवसर हो. तर निर्वाचन सम्बन्धि नियम बनाउंदैको अवस्थामा नेताहरुले आदर्श र नजिर भत्काउने काम गरेका हुँदा निराशा थपिएको अवस्था छ. एक प्रतिशतको थ्रेशहोल्ड पनि नमान्ने, तीस प्रतिशत सम्म उम्मेदवार उठाउने पार्टीले समावेशी उम्मेदवारी दिन नपर्ने, उम्मेदवारले सम्पत्ति घोषणा गर्न नपर्ने, आपराधिक मामिलाका अभियुक्त हरुले पनि उम्मेदवारी दिन पाउने आदि आजको जनमानसलाइ नपच्ने खालका प्रावधान राखेर निर्वाचन सम्पन्न गरिंदै छ.विघटित संबिधान सभाले स्वीकार गरेका बिषयमा समर्थन गरी बाँकि बिषयमा यथाशिघ्र सहमति गर्ने आश्वासनको प्रतिकुल हरेक जसो बिषयमा फरक फरक धारणा प्रस्तुत गरिएको छ.
भ्रमित र त्रस्त मतदाताले गरेको चुनावले असल परिणाम ल्याउन सक्दैन.जनताका आवश्यकता र अपेक्षाहरुको बारेमा सुसूचित, प्रतिवद्ध र त्यसको व्यवहारिक समाधान गर्न सक्ने उम्मेदवारहरुले जित्दा मात्र युग र चेतना सुहाउँदो संबिधान बन्न सक्छ. यति बेला मतदाता परिक्षक बनेका छन्. परिक्षकमा परिक्षण गर्ने क्षमता हुनु अनिवार्य छ. लोभ, भ्रम, आश र त्राशमा परेका मतदाताले सहि निर्णय गर्न सक्दैनन्.
उम्मेदवारहरु सबैनै हाम्रालागि अगुवा हुन.उनीहरुको व्यवहार प्रेरणादायी, उदाहरणीय र भरोसा गर्न लायक हुनुपर्छ.मतदाताले उम्मेदवार छान्नु अघि  जनताको प्रत्यक्ष सरोकार संग सम्बन्धित बिषयमा, उम्मेदवारको नीजि आचरणका बारेमा, लोकतन्त्रको मर्यादा, अर्काको इज्जत सम्मान गर्ने,  कानुनको शासन र मानव अधिकारको परिपालन गर्ने सवालमा ति उम्मेदवारले बिगतमा कस्तो व्यवहार गरेका थिए, अहिले के भन्दै छन् र के गर्दै छन् भन्ने बिषयमा राम्ररी कसी नलगाईकन भोट हाल्दा फेरी नेपाली जनता भ्रमको पासोमा पर्न सक्छन. जनता राष्ट्रिय एकता, आर्थिक बिकाश र जनजीविकाका सवालमा बढी चिन्तित छन्. जनताका सरोकारका बिषयमा प्रष्ट हुने प्रयत्न गर्नु भनेको हाम्रा नीति निर्माताहरुलाई प्रष्टताका साथ् भविष्यको रेखांकन गर्न सघाउनु पनि हो.
उम्मेदवारहरु संग संगै छलफल गर्नु, सार्वजनिक रुपमा प्रष्ट पार्ने अवसर उनीहरुलाई दिनु र एकतावद्ध भएर जनता र राष्ट्रको इज्जत, स्वतन्त्रता, एकता  र स्वामित्वको सम्वर्धन गर्नु अहिले निर्वाचनको संघारमा हामी सबैको कर्तब्य हो. यो ठिक बेला हो. अहिले जनताको इजलासमा उम्मेदवारहरु खडा छन्.
देश भरि रहेका सञ्चार माध्यम, इन्टरनेट, सामाजिक सञ्जालको प्रशस्त प्रयोग गरेर यो काम लाइ सहयोग गर्न सकिन्छ. संसारका धेरै देशहरुमा यस्तो भएको छ. कस्तालाई भोट दिने र कस्तालाई नदिने भन्ने कुरा जनतालाई थाहा छ. उनीहरुले थाहा पाएको बिषयमा आत्म बिश्वास थप्नु जरुरि छ. अबको युग ढाँट बाट नचल्ने युग हो. पौने तीन करोडको आवादीमा डेढ करोडले फोन, मोबाइल प्रयोग गरिरहेका छन्. पचास लाख भन्दा बढी इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गर्छन. बिदेशमा रोजगार चालीस लाख तन्नेरीहरू देशका आफन्तसंग निरन्तर सम्पर्कमा छन्. बिज्ञहरुको ठुलो जमात तयार भै सकेको अवस्था छ.
योजना, अपेक्षा र चेतनाका बीचमा समायोजन गर्न सकियो भने मात्र खराब प्रवृति भएका ढटुवा हरुलाई पाखा लगाउन सकिनेछ. चुनाव पुर्व जनताले आफ्नो चेतना र अपेक्षाका साथ् नेताहरुले प्रवृति र व्यवहारका मामिलामा चुकेका र सुधार गर्नु पर्ने बिषयमा खुलस्त प्रकट गर्न सके भने मात्र निर्वाचनमा धाँधली गर्ने देखि जनतालाई भ्रममा पर्ने दुर्नियत रोकिन सक्छ. त्यसले मात्र निर्वाचन स्वच्छ हुने अनि  त्यस्तो निर्वाचनको परिणामले मात्र असल संबिधान बन्न सक्ने कुराको ग्यारेन्टी गर्न सक्छ.
यो स्वस्फुर्त अभियान भएको ले सबैलाई आ-आफ्नो ठाउंबाट यस्तो अभियान संचालन गर्नु हुन हामी सार्वजनिक अपील गर्दछौं. बिभिन्न जिल्लाहरुमा यो अभियानले गति लिन थालीसकेको छ. रेडियो, छापा र सामाजिक सञ्जालमा यसको लोकप्रियता बढ्दै छ.
आउनुहोस हातेमालो गरौँ.
सम्पर्क:
स्वच्छ निर्वाचनकालागि नागरिक अभियान.
फोन:............    ...................    ................
इमेल:.......................................
वेबसाइट:............................................................
सचिवालय:
इन्सेक, केन्द्रीय कार्यालय, कलंकी. फोन: ४२७८ ७७० , फ्याक्स: ४२७० ५५१
अथवा:

हरेक जिल्लामा रहेका इन्सेकका प्रतिनिधिहरु तथा क्षेत्रिय कार्यालय: पोखरा, नेपालगंज, धनगढ़ी बिराटनगर,काठमाडौँ.