Tuesday, June 29, 2021

ज्येष्ठ नागरिकको सम्मान राष्ट्रको स्वाभिमान { मदन भण्डारी फाउन्डेशन द्वारा आयोजित वार्ता, ०७८ असार १५ }

 


 

जननेता मदन भण्डारीको नेतृत्वमा पारित जनताको बहुदलीय जनवाद आधुनिक युगको प्रतिस्पर्धी लोकतन्त्रको परिष्कृत स्वरूप हो। सोभियतसंघको विखण्डन पछि मुक्त बजारका पक्षधरहरू हौसिएको बेलामा विश्वका प्रगतिशील समाज रूपान्तरणमा विश्वास राख्ने हरुलाई धैर्यतापूर्वक आन्दोलनमा टिकी रहने आधार हो। अबको प्रतिस्पर्धा बल पूर्वक मात्र सम्भव छैन। लोकतन्त्रमा राज्य प्रणाली मुख्य कुरा हो। र, जसरी स्वतन्त्रता खुलापन र कानुनको शासनको आवरणमा विश्व पुँजीवादले आम नागरिक उपर थिचोमिचो गर्ने गरेको छ त्यसको प्रतिरोध त्यही प्रणालीलाई उपयोग गरेर गर्न सकिन्छ भन्ने कुरालाई सिद्धान्तिकृत गरिएको राजनीतिक दर्शन हो। आधारभूत तहका जनतासँगको सहकार्यलाई व्यवस्थित गर्दै पुँजीवादले बेवास्ता गर्ने भुइँ मान्छेको समस्याको प्रगतिशील समाधानको रणनीति पनि हो जनताको बहुदलीय जनवाद। यस कारण जनताको बहुदलीय जनवादले राष्ट्रवाद, राष्ट्रिय गौरव र नागरिकको मर्यादालाई सर्वोच्च स्थान दिएको छ। नागरिकको मर्यादाको कुरा गर्दा हामीले चार कुराको ख्याल गर्नु पर्ने हुन्छ। किनकी मर्यादा  मूलतः अनुभूतिमा आधारित छ। जब व्यक्ति आत्मनिर्भर हुन्छ अनि उसमा आत्मविश्वास बढ्छ। आत्मविश्वास भएको व्यक्ति सिर्जनशील हुन्छ। आफ्नो क्षमता विकास प्रति सचेष्ट हुन्छ। सचेष्ट व्यक्तिले आफ्नो अधिकारको रक्षाको लागि आफै पहल लिन सक्छ र समाज र समुदायको साथ सहयोगमा न्याय प्राप्त गर्न सक्छ। अर्थात:

(१) आत्मनिर्भरता

(२) आत्मविश्वास

(३) सिर्जनशीलता र

(४) सहकार्य, मर्यादित नागरिक निर्माण गर्ने कामको आधारभूमि हो।

अहिले हाम्रो नेतृत्वको सरकारले यही मर्मलाई आत्मसात गरी सुखी नेपाली - समृद्ध नेपालको  मूल नारा अन्तर्गत दीर्घकालीन विकास योजना बनाएको छ। र, प्रदेश नं एकले स्वच्छ, सुखी, समुन्नत प्रदेशको मूल नारा अन्तर्गत आवधिक योजनाको निर्माण गरी तदअनुकूल विकास कार्यक्रम संचालन गरी रहेको छ। उल्लिखित मानव विकासका चार आधारको बारेमा नागरिक बीच संचेतना जगाउनु, विभिन्न चरणका कष्टसाध्य लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक विधि र प्रकृयाको उपयोग गर्दै

(१) निर्वाचन मार्फत जनताको सरकार बनाउनु

(२) त्यसरी प्राप्त शक्तिको विन्यास बिना भेदभाव आम जनताको सेवामा लगाउनु, अहिलेको तत्कालीन कार्यभार हो।

(३) जनताको मन जित्दै प्राप्त गर्ने विश्वास साथ र सहयोगको आधारमा जनवादी संस्कारको जग बलियो बनाउनु पार्टीको राजनीतिक रणनीति हो।

सबै कामको नेतृत्व पार्टीले गर्नु पर्ने हुँदा सरकारको निर्माण मात्र होइन उसको कामलाई व्यवस्थित गर्ने, निर्देशित गर्ने र सम्भावनाको खोजी गर्दै तथ्यका आधारमा सत्य स्थापित गर्न आवश्यक अध्ययन अनुसन्धान र सम्पर्क विस्तार गर्ने काममा पनि अबको पार्टी अब्बल बन्नु पर्छ। किनकी हामी प्रतिस्पर्धाबाट श्रेष्ठता स्थापित गर्ने चुनौतीको मार्गमा छौं। आधुनिक युगको ज्ञान विज्ञान, अनुसन्धान र पराक्रम भएका, व्यवहारसिद्ध पराक्रमी, व्यवस्थापकीय गुणले युक्त कार्यकर्ता नेताको विकास गर्ने अभिभारा पुरा गर्न सक्ने पार्टीले मात्र आजको युगको चुनौती समाधान गर्न सक्छ। मुनाफा र बजारको हातमा जनताको भविष्य सुम्पने होडबाजीमा लागेको विश्व पुँजीवाद समेत यति बेलाको कोविड महामारी पश्चात विश्वलाई एक परिवार ठानेर साझा जिम्मेवारी लिनुपर्ने चर्चा गर्न थालेको छ। र, सबै सुरक्षित नभई विश्व सुरक्षित हुँदैन भन्ने निष्कर्षमा पुगेको अवस्था छ।

जब विश्व यो टुङ्गोमा पुगेको छ भने हामी देशभक्त न्यायप्रेमी नागरिक कसरी फरक ढंगले सोच्न सक्छौं? कम्युनिस्टले बूढाबूढीलाई मार्छन भन्ने  फत्तुर चलाइएको बेलामा एमालेको पहिलो अल्पमतको सरकारले वृद्ध भत्ताको सुरुवात गरेको थियो। एक सय रुपियाँ मासिक भत्ताले हाम्रा अभिभावकमा मर्यादाको अनुभूति दिएको थियो। सामान्य पकेट खर्च गर्न कसैको भर पर्नु परेन। त्यो सानो रकमले मर्यादाको मामिलामा ठूलो फड्को माय्रो। २०५१ सालको रु १ सयको आजको मूल्यमा गणना गर्दा रु ५ सय भन्दा बढी हुन्छ।

हाम्रो राष्ट्र र यसको मर्यादामा हाम्रा पूर्वजको योगदान छ। उहाँहरु वृद्धावस्थामा सन्तानको मात्र भर पर्नु पर्ने हुन्छ। खान र बस्न त जो कोहीले पनि देला। तर परिआएको सामान्य खर्च वर्चको लागि हाम्रा निर्माताले हात पसार्नु पर्ने अवस्था दुःखदायी हुन्छ। अहिले सरकारले ७० वर्ष नाघेका नागरिकको स्वास्थ्य बीमा निःशुल्क गरी दिन्छ। मासिक ४ हजार भत्ता दिन्छ। यस बाहेक दलित र कर्णालीका बासिन्दालाई ६० वर्ष उमेर काटेपछि यो सहयोग दिन्छ। एकल महिला,  दलित बालबालिका, अपांगता भएकालाई पनि मासिक रूपमा सामाजिक सुरक्षा शीर्षक अन्तर्गत यो सहयोग दिइन्छ।

राज्यले प्रदान गर्नुपर्ने सामाजिक सुरक्षाको जिम्मेवारीले स्वचालित रूपमा थप भूमिका आकर्षित हुन्छ। नेपालको जनसांख्यिक बनावटलाई हेर्दा २०५१ मा करिब ४ प्रतिशत नागरिक ज्येष्ठ उमेरका थिए भने अहिले त्यो संख्या ६ प्रतिशत भन्दा बढी पुगिसकेको छ।१५ देखि ६४ वर्ष उमेर समूहका कृयाशील उमेरका व्यक्तिको संख्या पनि ५४ प्रतिशत बाट उक्लिएर ६५ प्रतिशत भन्दा बढी भइसकेको छ।२०५१ मा सरदर आयु ५५ वर्ष रहेकोमा अहिले ७१ वर्ष नाघी सकेको छ। नेपालको मृत्यु दर प्रति हजारमा २०५१ मा १२ प्रतिशत रहेकोमा अहिले ७ प्रतिशत भन्दा तल झरिसकेको छ। संयुक्त राष्ट्रसँघको अध्ययन अनुसार सन् २०५० सम्ममा विश्वको ज्येष्ठ नागरिकको संख्यामा ५० प्रतिशत बढोत्तरी हुने छ। चीन, सिङ्गापुर लगायतका देशमा अहिले नै २० देखि २५ प्रतिशत र बुल्गेरिया, इटाली देखि जापान सम्म ३६ देखि ५१ प्रतिशत सम्म जनसंख्या ज्येष्ठ नागरिकको छ। यो तथ्याङ्कले के बताउँछ भने ज्येष्ठ उमेर समूहका व्यक्तिको संख्या बढ्दो क्रममा छ र यसको समाधान भनेको आत्मनिर्भर नागरिकको सिर्जना नै हो। विकसित देशहरूलाई पाका नागरिकको हेरविचार गर्ने समस्या विकराल बन्दै गएको परिप्रेक्ष्यमा हामीले उत्पादनशील उमेरमा कठिन बेलाका लागि आवश्यक श्रोतको जोहो आफै गर्न सक्ने आत्मविश्वासी र आत्मनिर्भर समाज निर्माण गर्नुपर्ने छ। पाको उमेरमा पनि उत्पादनशील काम गर्न सक्ने वातावरण र सामग्री उपलब्ध गराउन सक्नु पर्ने छ। साथै ज्येष्ठ नागरिकको सम्मान गर्ने, उहाँहरुको अनुभवबाट सिक्ने र हाम्रो सम्मानको संस्कृतिको जगेर्ना गर्ने संस्कारको रक्षा र विकास गर्नुपर्ने छ। जनताको तहबाट उठेको नेतृत्व र समावेशी संगठन प्रणाली मार्फत सबै तह र तप्काका जनताको साथ र सहयोगमा हामी यो काम फत्ते गर्ने छौं।

                                - X -