बिरेन्द्रकेशरी पोखरेलसंग मेरो लामो सान्निध्य रहेन. ०५८
सालमा म काठमान्डू आएपछी नेपाल मानव अधिकार संगठन संगको सांगठनिक सहकार्यका सिलसिलामा
मात्र उहाँ संगको संगत बढेको हो. उहाँलाई मैले एउटा नम्र, सटिक र स्पष्ट
प्रस्तोताको रुपमा पाएको थिएँ. उहाँका पुराना दौंतरी श्री बद्री प्रसाद खतिवडा
वातावरण र विकाशका मामिलामा बिरेन्द्रकेशरी संगको सहकार्यको बारम्बार स्मरण गर्ने
गर्नु हुन्थ्यो. राजधानीलाई तराईसंग जोड्ने बाटोको चर्चा चलेपछि सडक होइन रेल
मार्गबाट जोड्नु पर्छ भन्ने बिषयमा बिशद ब्याख्या सहितको प्रतिवेदन उहाँहरुले तयार
गर्नु भएको थियो. खर्च, प्रतिफल र आत्मनिर्भरताको लेखा जोखा गरिएको त्यो प्रस्ताव
सरकार र सरोकारवाला सबैले सह्राएका थिए तर समय क्रममा त्यो कतै अलमलियो. नेपालको
संस्कृति, इतिहास र यथार्थका बारेमा बिरेन्द्र केशरीजी बिज्ञ हुनुहुन्थ्यो. भाषिक
शुद्धताको मामिलामा उहाँको लेख्न मात्र होइन वाणी समेत शुद्ध थियो. जस्तो सुकै
कठिन बेला र द्वन्द्वात्मक बिषयमा पनि उहाँले तिखा अभिव्यक्तिको सहारा लिनु भएन.
नेपालमा माओवादीले चलाएको शसस्त्र द्वन्द्वका कारण नेपालको राष्ट्रियतामा पार्न
थालेको दुष्प्रभाव प्रति उहाँमा मैले अत्यधिक चिन्ता छाएको अनुभूत गरेको थिएँ.
अध्ययनका हिसाबले एउटा इन्जिनीयर भएता पनि दर्शन, साहित्य, इतिहास र संस्कृतिका
बिषयमा उहाँको पकड बेजोड नै थियो. सिंगो नेपालको चित्र उहाँको मष्तिष्कमा थियो.
भौतिक बिकाशले आफुलाई जनताको दैनिकी जोड्न सक्नु पर्छ भन्ने कुरा इन्जिनियरिंगको
अध्ययनको सारवस्तु हो भन्नु हुन्थ्यो. ज्ञानेन्द्रले सत्ता कब्जा गरे पछि त्यो
परिस्थितिको बारेमा उहाँको निष्कर्ष संग असहमत व्यक्तिहरु मध्येको एउटा म आफै पनि
हुँ. उहाँले त्यसबेलामा राष्ट्रियता र प्रजातन्त्र बीचको सम्बन्धको ब्याख्या गर्ने
क्रममा प्रजातन्त्रलाइ जनता बीचको भाइचारा सम्बन्धको मजबुत कडीको रुपमा ब्याख्या
गर्दै द्वन्द्वको अनिवार्य परिणतिको रुपमा राजाको सत्ता कब्जाको स्थिति खडा भएको
हो भन्ने ढंगले ब्याख्या गर्नु भयो. हामीहरु भने राजाको नियत र बैधानिक अधिकारको
आधारमा उनको कदमको बिरोध गर्न मुलुक भित्र र बाहिर तल्लिन थियौं. एउटा पाको
व्यक्ति, शालिन र शिष्ट व्यक्तित्व बाट पनि हामी दह्रो आपत्तिको चाहना राख्थ्यौं.
राष्ट्रियताको बिशद ब्याख्या उहाँले राम्ररी गर्नु भएको थियो. संबिधान निर्माणको
क्रममा जसरि जातिय राज्यको माग उठ्यो त्यसको पूर्वानुमान उहाँले द्वन्द्वकालमा
गरिसक्नु भएको थियो. उहाँको प्राविधिक ज्ञान चक्षुले जनसंख्या र भूगोलको समिश्रित
अन्तरसम्बन्धलाई विज्ञता पुर्वक मनन गरेको थियो भन्ने कुरा मलाई आज महसुस भै रहेको
छ. जनता बीचको अन्तरसम्बन्ध र सौहार्दतालाइ मानव अधिकारको दृष्टिले निर्माण गरिने
न्यायिक, सामाजिक र आर्थिक योजना मार्फत संपुष्ट बनाउनु पर्छ भन्ने उहाँको मान्यता
थियो. उहाँको अभिव्यक्ति, व्यक्तित्व, विवेकशील व्यवहार सबैले उहाँको सम्पूर्ण
व्यक्तित्वको परिचय दिन्थे. यहाँ सम्म कि उहाँको पोशाक र आगन्तुक संग गर्ने
व्यवहार पनि सम्भ्रांत र सम्पूर्ण सभ्यताका परिचायक थिए भन्दा अत्युक्ति हुने छैन.
दण्डहीनता र अविश्वासको शंकट व्यहोरिरहेको हाम्रो मुलुकले
उहाँको अवशान बाट मौकामा पाउन सक्ने पाको र सहृदयी मार्गदर्शन बाट बंचित हुनु
परेको छ. उहाँको स्मरणमा अरुले मानव
अधिकार आन्दोलनमा उहाँको योगदान र अन्य बिशिष्ट बिषयमा चर्चा गरेका होलान. मानव
अधिकार संगठनका महानुभावहरुले त्यस सन्दर्भमा उहाँको संलग्नताको ब्याख्या गरेकै
होलान. त्यसैले म उहाँको बिशिष्ट सादगी र शुद्धताको स्मरण गर्दै उहाँ प्रति
हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु.
(लेखक इन्सेकका अध्यक्ष हुनुहुन्छ).
069 Magh 10.