Friday, December 23, 2022

जे बी टुहुरे, अविचल आस्थाका प्रतिक

 दुईहजार उनन्चालिस सालमा जेबी टुहुरे बिराटनगर आउनु भएपछी उहाँसंगको मेरो संगत बाक्लो भएको हो। त्यो बेलाको जनपक्षीय राजनीति कठिन अवस्थामा थियो। नाम नामेसी र परिचय गोप्य राख्नु पर्ने अवस्था थियो। सबै सहकर्मी समान शंकटापन्न अवस्थामा रहेकाले आपसमा एउटै परिवार सरह दुःख सुखमा सहयोगी हुने र एक आपसको बारेमा सरोकार राख्ने संस्कार थियो। र, हामी सँधै देश र जनतालाई माया गर्ने सचेत र सहयोगी व्यक्तिको खोजीमा रहन्थ्यौँ ता कि सहयोगीहरुको घेरा फराकिलो हुन सकोस। जेबी मधुमल्लाबाट बिराटनगर झर्नु हाम्रोलागि सुखद सूचना थियो। उहाँ सती भाउजू र छोराछोरी सहित बसाई सर्नु भएको थियो। जेबी बिराटनगर आएपछी उहाँको प्रवन्ध कसरी गर्ने भनेर नगर पार्टी कमिटीको बैठकमा छलफल नहुने कुरै भएन। मदन भण्डारीले स्वयम् उहाँलाई कुनै पेशा व्यवसाय गर्न सघाउनु पर्ने प्रस्ताव राख्नु भयो। हामीसँग ठूलो पुँजी लागानी गर्नसक्ने क्षमता थिएन। जेबीसंग कुनै विशिष्ट शीप पनि थिएन। उहाँ प्राथमिक पाठशालाको पुर्व शिक्षक हुनुहुन्थ्यो। जनपक्षीय उम्मेदवारीको क्रममा र त्यसअघि बिद्यार्थी राजनीतिको सिलसिलामा हाम्रो साथ रहनु भएको ध्रुबनारायण श्रेष्ठको तीनटोलिया क्षेत्रमा सडक छेउको टहरामा एउटा चीया-नास्ता पसल खोल्ने सम्मको जोहो मिलिजुली गरियो। तर पसल चलाउन कठिन हुँदै गयो। पसलमा बेचिने सामानको गुणस्तर र परिमाणमा एउटा असल कम्युनिष्टले दायाँबायाँ गर्ने कुरै भएन। अनि मुनाफा कम हुनु स्वाभाविक भयो। परिवार धान्न कठिन हुँदै गयो। कुनैबेला फेरी मधुमल्ला फर्किनु पर्ने हो कि भन्ने चिन्ता पनि लाग्थ्यो। तर, संघर्ष हो जीवन जीवन संघर्ष हो भनेर हामी जेबी संगै गीत गाउँदै जसरी पनि कुनै उपाय रच्ने निस्कर्षमा बैठक टूंग्याउने गर्थ्यौँ। चीया पसल नचल्ने टूंगोमा पुगेपछि मेरो उद्योगका साझेदार साथी दिनेश सुबेदीको ट्राफिक चोकमा रहेको एउटा लज उहाँसंग उधारोमा किनेर चलाउने भयौँ। उहाँ हाम्रो नजिकका हितैसी भइसक्नु भएको थियो। तर लज सञ्चालनमा पनि समस्या थियो। आम्दानीले जेनतेन खर्च त उठ्थ्यो तर साथीलाई तिर्नुपर्ने उधारो तिर्न सकिएन। बारम्बार म्याद थपिमाग्दा पनि सकिएन। सारा परिवार लजमा कुचीकार देखि भान्से सम्मको काम गर्थे। सति भाउजू बिहान ४ बजे देखि काममा जुट्नु हुन्थ्यो। छोराछोरी सबैले उमेरले दिने भन्दा बढी मिहेनत गर्थे। एवम् रितले अनेक प्रकारका संघर्ष गर्दै जेबीले परिवारलाई बिराटनगरमा स्थापित गर्नु भयो। त्यो संघर्षमय जीवन रहेकोले उहाँलाई उहाँको खास लगावको क्षेत्र गीत संगीतमा हामिले लाग्न दिन सकेनौँ। तथापि उहाँले थुप्रै किशोर किशोरी र तन्नेरीहरुलाई संगठित गरेर पुर्वको सांगितिक क्षेत्रमा आकर्षित गर्नु भयो। उहाँ ति सबैको मनमा अभिभावक बनेर रहनु भयो र अहिले पनि ति सबै उहाँलाई आफ्नो गुरु र पितृ तुल्य मान्दछन।

०४६ को प्रजातन्त्र आउनु अघि मेरो र उहाँको हालत कस्तो रह्यो भने कतै कुनै झै झगडा भयो, छापामार प्रकारको आन्दोलन भयो भने आफूलाई थाहा छैन तर पुलिस आउँथ्यो र साहेबले बोलाउनु भएको छ भन्दै संगै लिएर जिल्ला प्रहरी कार्यालय लिएर जान्थ्यो। साँझसम्म साहेब देखा पर्दैन थिए। अनि ल आज साँझ परिसक्यो भोली लिउँला बयान, भन्दै उतै कस्टडीमा थुन्थ्यो। भोली पर्सी निकोपर्सी गर्दै कहिले ५-७ दिन कहिले ८-१० दिन थुनेपछि बयान लिन्थ्यो र सिडिओ कहाँ पुय्राउँथ्यो। त्यहाँबाट बल्ल मुक्ति पाइन्थ्यो। प्रहरीहरु हामिसँग ठट्टा गर्थे र भन्थे, के गर्नु नेतालाई समात् भन्छन, हामीलाई अरु को को हुन थाहा छैन अनि हाकिम रिझाउन पनि हजुरलाई समात्छौँ। एक पटक त्यसैगरी पुलिस उहाँलाई बोलाउन आएछ। उहाँले पर्ख है भाई भन्दै कोठाभित्र पस्नु भएछ। निस्कँदा उहाँ काँधमा सानो गुण्टा बोकेर आउनु भएछ। प्रहरिले सोधेछ, यो के बोकेको? उहाँले भन्नु भएछ, ‘ भाई तपाईहरुले घरिघरि लानु हुन्छ र भरे राखिहाल्नु हुन्छ, त्यही भएर मैले दरी, तन्ना, गम्छा, मञ्जन, साबुन सबै ठिक पारेर लपेटेर डोरीले कसेर भित्तामा लकड किल्ला ठोकेर टाँगेर राखेको थिएँ, उ अहिले काम लागि त हाल्यो।‘ त्यहीदिन दिउँसो म डेरामा जाँदा भाउजूलाई सोधेको थिएँ, यो के हो सानो गुण्टा जस्तो? भनेर। भाउजूले भन्नु भएको थियो, खै के के गर्नु हुन्छ। अत्याचार गर्न थाल्यो। जहिले पनि लगेको लगै गर्छ। अनि घरबाट बिस्तरा मगाउने झन्झट गर्नु भन्दा तम्तयार राख्ने हो भनेर हाते गुण्टा तयार राखेको अरे। नभन्दै त्यहि दिन ओसार्न भ्याएछ उहाँलाई।

उहाँको दुईवटा शब्दले अहिले पनि मलाई सम्झनामा मात्र होइन लक्ष्यको हिसाबले पनि मार्गदर्शन गरिरहन्छ, दृढ रहनु पर्छ र एमएल ट्याबलेट ख्वाउनु पर्छ।

पञ्चायति निरंकुशता ०४२ सालपछि अलि कमजोर भएको थियो।त्यसअघिको समय भनिनसक्नु अपठ्यारो थियो।नेकपा मा-ले भूमीगत थियो।पार्टीको दस्तावेज लुकाएर ल्याउनु र बिभिन्न कमिटीसम्म पुय्राउनु पर्थ्यो।हरेक दस्तावेजको गहन अध्ययन गरेर राय माथिल्लो कमिटीसम्म पुय्राउनु पर्थ्यो।बेलाबखत बिभिन्न जानबर्गीय संगठन, विद्यार्थी,मजदूर संगठनहरु अनेक विषयमा आन्दोलन गर्थे।र, दमनकारी राज्य पहिले खुलारुपमा चिन्हिएकाहरुलाई दागा धर्थ्यो।पार्टिको लागि आर्थिक श्रोत जुटाउन द्यौसी भैलो खेल्दै कैयन दिन र पुरै रात बिताउनु पर्थ्यो।सांस्कृतिक कार्यक्रमको तयारी गर्न पनि जोगिएर गर्नुपर्थ्यो।यत्रतत्र खतरा मोल्नुपर्ने त्यो कठिन अवस्थामा जेबीले भन्ने वाक्य एउटै हुन्थ्यो, दृढ रहनु पर्छ।आफूले चमेना वा लज चलाउँदा होस अथवा वरपर कोही असल मानिस भेट्दा होस उहाँलाई त्यस्तालाई पार्टीको घेरामा ल्याउने रहर लागिहाल्थ्यो।अनि भन्ने गर्नु हुन्थ्यो, मैले कुरा गरेँ, यो यो कुरा गरेँ, अब उनलाई एम-एल ट्याबलेटको स्वादमा ढाल्नु पर्छ।एमएल ट्याबलेट ख्वाउनु पर्छ।म दर्शन सिद्धान्त र इतिहासको व्याख्या गर्न जान्दिन।अनि शहरियाको मामिलामा मलाई भन्नु हुन्थ्यो, लौ बाँकि काम तपाइको।हामीले धेरैलाई यसरी पार्टी आवद्ध बिभिन्न संगठन हुँदै पार्टीका असल कार्यकर्ता बानाएका थियौँ जो अहिलेपनि बिभिन्न जिम्मेवारीमा कुशलतापूर्वक कार्यरत हुनुहुन्छ।जेबी दाईमा जनताको वहुदलीय जनवादी सिद्दान्तप्रति अगाध विश्वास र आस्था थियो।त्यसका लागि बैचारिक रुपमा संगठनको विस्तार हुनुपर्छ भनेर कृयाशील रहनु भयो।हामी रुसका बाकुनिनको अराजकतावाद देखि लेनिनले बताएको वर्गहरु अनुसारको राजनीति हुन्छ भन्ने बारेमा छोटो चर्चा गर्थ्यौँ।वर्गहरु रहुन्जेल वर्गीय चिन्तन अनुसारको बीचार बोक्ने दलहरु रहन्छन र उनिहरुबीच सत्ता संघर्ष रहन्छ भन्ने बारेमा एउटा प्रशिक्षणमा मदनले छर्लङ्ग पार्नु भएको थियो।नेता भनेको यस्तो हुनुपर्छ जसले आम कार्यकर्ता र जनतालाई बैचारिक रुपले यसरी प्रष्ट पारोस कि त्यस्ता सबै सवालमा उनिहरु आत्मनिर्भर ढंगले निर्णय गर्न सकुन।अहिलेका सर्वोच्चदेखि कनिष्ठ सम्मले बिर्सिएको पाटो यही त हो।जेबी छिट्टै सही निश्कर्ष सुनाउन सक्नु हुन्थ्यो। किनभने उहाँको जीवन स्वयम् व्यावहारिक रुपमा विश्वविद्यालय थियो। उहाँले संगितको औपचारिक शिक्षा त लिनु भएको थिएन।तर उहाँले गाउन थालेपछि दोश्रो हरफ थाल्दा नथाल्दै लाग्थ्यो श्रोताहरु अन्तरीक्षको अपीलबाट आल्हादित भएर नाच्न थाल्थे।किनभने त्यहाँ जीवनको संगीत थियो, चेतना र विश्वासको लय थियो।अनुहार हाउभाउ तडकभडकको आवेगबाट होइन एक्यवद्दताको सन्देशले उब्जाएको आकर्षणबाट आल्हादित भएर श्रोता नृत्यमा मग्न हुन्थे।उहाँलाई कुन कलाकारको के मा क्षमता छ भन्ने कुराको पुरा ज्ञान थियो।त्यसै अनुसार जिम्मेवारी बाँडफाँट गर्नु हुनथ्यो।

उहाँको अचम्भ लाग्दो एउटा बानी थियो।गीत गाउँदा हातमा गीतको कापी वा किताब हुनै पर्ने।त्यो नसमाई गीत गाँउदा अलमल हुने।तर गीतको कापी समाएमात्र पुग्ने।एकटक एकजना साथीले लौ लौ गीतको कापी भन्दै उहाँको हातमा एउटा किताब थमाइदिनु भयो।जेबीले सुरिलो स्वरमा पुरा गीत गाउनु भयो।पछि साथीले भन्नु भयो, जेबी दाई, त्यो गीत त यो किताबमा छापिएकै रहेनछ।

एउटा नितान्त ब्यक्तिगत कुरा सम्झिन मन लाग्यो।म बैंकको म्यानेजर, पछि उद्योगपति र पारिवारिक हिसाबले त्यो बेलामा उच्च मध्यम वर्गीय।मेरो बखरीमा १६ कट्ठा घडेरिको बिकास गरेको थिएँ।पार्टीका साथीहरुले किन्न चाहँदा मेरो स्पष्ट शर्त थियो।त्यहाँको चलनचल्तीको न्युनतम मुल्य आफै बुझ्ने र त्यसमा २५ प्रतिशत कम मुल्यांकन गरेर किन्ने।केही साथीहरुले किन्नु भयो। केही त्यहीँ हुनुहुन्छ।केहीले भाउ धेरै बढेपछि बिक्री गरेर अन्यत्र सर्नु भयो।जेबीले मलाई १ कट्ठा घडेरी दिन र भुक्तानीको लागि समय दिन पनि भन्नु भयो।हामी दम्पति संगै थियौँ।खुसीपूर्वक राजी नहुने कुरै थिएन।मैले उहाँलाई भनेँ, सम्पूर्ण नक्सा नबिग्रनेगरी ठाउँ छान्नुस र बस्नुस।सायद २-३ वर्ष पछि हुनुपर्छ,उहाँ जग्गा पास गर्न जाने भन्दै आउनु भयो।नापीमा भएका साथीलाई पहिले कुरा गरिराख्न उहाँलाई भनेँ।सबै कागजपत्र बनिसकेको खबर उहाँले गरेपछि म लतालाई लिएर मालपोत कार्यालय पुगेँ किनकि जग्गा उहाँको नाममा थियो।उहाँको पिताले छोरीलाई भनेर अति सस्तोमा दिएको।जब मालपोतमा दस्तखत गर्ने बेला भयो, यसो हेरेको त डेढ कट्ठा पो लेखेको छ।‘दाई हौ, जमिन त आधै बढी पो पास गर्ने भन्छ त? ‘ उहाँले हाँस्दै भन्नुभयो, ‘देख्नु भएन तपाईको भाउजूले रोपेको अम्बक र तुलफूलका बिरुवा हुर्की सके, घेरावारा लगाउँदा फडकी न हो अलिक बढी भएछ।‘ लताले सही गर्नु भयो।मैले साक्षी बसेँ।घर फर्किँदा हामी खुसी थियौँ।जेबीदाईको बासको टूंगो लाग्यो।त्यो भन्दा ठूलो खुसि अरु के होला? उ बेलाको चिन्तन, सक्नेले सघाउने।त्यस्तो कर्म प्रचारको लागि हुन्नथ्यो, कर्तब्यबोधले हुन्थ्यो।

जनताको मर्यादा र राष्ट्रको स्वाभिमानको लागि समाजवाद नल्याइ हुँदैन भन्ने कुरामा उहाँ दृढतापूर्वक विश्वस्त हुनुहुन्थ्यो।आजीवन उहाँको त्यो विश्वास डगमगाएन।सादा र सरल जीवन, मिहेनती चरित्र र जस्तोसुकै कठिन अवस्थामा पनि अविचल व्यक्तित्वले सरोवर उहाँजस्ता थिए र त नेपालको वामपन्थी आन्दोलन जतिसुकै हण्डर खाएता पनि आफ्नो लय नछोडी यात्रारत रहन सकेको छ।आम नागरिकबाट सिक्ने, सिकेको कुरा केलाइकुलाइ गर्ने र परिमार्जित तार्किक निश्कर्ष जनता समक्ष लिएर जाने कुरा जुन मदनले बारम्बार हामीलाई सम्झाउने गर्नुहुन्थ्यो त्यसको इमानी परिपालक ब्यक्ति हुनुहुन्थ्यो जेबी।

हरेक व्यक्तिले कहिलेकाहीँ कल्पना नगरेको शंकट ब्यहोर्नु पर्छ।क्रान्ति प्रतिको अदम्य चाहना र केही भइहाल्छ कि भन्ने विश्वासले उहाँले माओवादी पार्टीलाई साथ दिनु भयो।सांसद पनि बन्नु भयो।संसदमा पनि भावुकताले भरिपूर्ण अपील आह्वान गर्नु भयो।र, जीवनको उत्तरार्धमा जनता भन्दा माथि कुर्सी र सत्ताको लागि मरिहत्ते भएर लागेको नेपाली राजनीतिले उहाँलाई घेराबन्दी गरेको कुरा छर्लङ्गसंग बुझ्नु भयो।

दुःखमा जन्मिएर, गरीबीको हण्डर खाएर उहाँले आफ्नै अनुभवबाट सिक्नु भयो कि शोषणमा आधारित राज्य संरचनालाई नबदलेसम्म जनताको सुदिन आउनेवाला छैन।जनताको माया र विश्वास जितेपछिमात्र क्रान्तिको अगुवाई गर्न सकिन्छ।जनतालाई ढाँट्न सकिन्न।ढाँट्नु हुन्न।मदनले भन्नुहुन्थ्यो, जनताको असल गोरु बनेर जो जोतिन सक्छ त्यसलेमात्र धर्ति पल्टाउन सक्छ किनभने यो धर्ति असल मनका जनताको हो। निर्णय बल र इतिहास जनताको मात्र हो।अनि राजनीति जनताको निमित्त गरिने सम्पूर्ण कर्ममात्र हो।

धेरैलाई लाग्न सक्छ जेबी टुहुरे उहाँको जनवादी गीतका कारण सबै प्रकारका मानिसद्वारा रुचाइएको हुनुहुन्थ्यो।हुनपनि उहाँले जनताको लागि असल संस्कृति र आँटिलो कर्मका लागि रचिएको बाहेकका गीत गाउनु भएन।रियाज बेगर, सुर तालको प्राविधिक ज्ञान बेगर पनि उहाँले सिद्धहस्त गायकी प्रस्तुत गरेर सबैको मन जित्नु भयो।तर उहाँलाई नजिकबाट चिन्ने जान्ने र देख्नेहरुका लागि उहाँको इमान मिहेनत सरलता र दृढता प्रमुख तत्व थियो जसका कारण उहाँलाई मनै देखि झन बढी श्रद्धा गरियो।उहाँका गीतले नारीको सम्मानमात्र गर्दैन परिवर्तनको लागि जुर्मुराएर उठ्न अपिल पनि गर्छ।श्रमिकहरु, बसाईँ सर्न वाध्य पारिएकाहरु, दुःखजेलोमा बाँच्न वाध्य पारिएका किसानहरू र सबै देशभक्त नागरिकलाई उहाँका गीतले शीरदेखि पाउसम्म झकझकाउँछ।

आजको नेपाली कलाकर्मीहरुले जेबी टुहुरेबाट सिक्नु र अभिप्रेरित हुन सक्नु पर्छ।जीवन आवेग श्रृंगार र मनोमानी होइन।जीवन जनताको हितका लागि समर्पित रहनेगरी सोद्धेश्यपूर्ण हुनु पर्छ।अनिमात्र आफ्ना कर्महरु कालजयी बन्नेछन।

आदर्शपुरुष जेबी टुहुरे अमर छन।

 

 

सुबोधराज प्याकुरेल,

बिराटनगर।

हालः डाउनटाउन अपार्टमेन्ट,ललितपुर। 

२०७९ पुष, ८ गते। २३ डिसेम्बर २०२२।