सुबोधराज प्याकुरेल.
आजकल नेपालका सांसदहरुको चर्तिकलाका बारेमा निकै टिप्पणी सुनिन्छ. निर्भिक आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो. बिशेषतः संसदीय समिति का काम र काम गर्ने तरिका देखेर व्यवस्थापिका को भूमिका वारेमा थाहा पाउने हरु चाहिं चकित पार्नु अस्वाभाविक होइन. संसदीय समिति नीति निर्माणका सहयोगी हुन. नीति अनुसारको काम भयो भएन भनेर नीतिगत परिक्षण गर्ने सर्वोच्च निकाय पनि हुन. तर नीतिगत परिक्षण गर्ने ले जिम्मेवार पक्षलाई जवाफदेही बनाउनु पर्नेमा हाम्रा सांसद कहिले दुध चाख्न जान्छन भने कहिले प्राविधिक बिशेषले मात्र सम्परिक्षण गर्न सक्ने कुरामा समेत फैसला सुनाउन पुग्छन. उनीहरुले जवाफदेही बनाउनु पर्ने भनेको मन्त्रालय लाइ हो र त्यो पनि सम्बन्धित मन्त्री मार्फत. तर कुनै दिन हवाइजहाज उडाउने ककपिटमा सांसद बिराजमान हुन पुग्नु भयो भने पनि आश्चर्य नमाने हुने अवस्था सृजना गरि सकेका छन उनीहरुले. के त उनीहरु बेरोजगार भएकाले यस्तो भएको हो? कसै कसैको रायमा आफ्नो इज्जतको धोति फुस्केको कुरा राम्ररी बुझेकाले त्यहि सुमर्ने क्रममा यस्ता व्यवहार गर्दैछन उनीहरु. फाल्तुको व्यस्तता सृजना गर्ने क्रममा अनेकन उल्का गर्दै छन. संसदको गरिमा र प्रतिनिधित्व को सर्वोच्च अगुवा संसदीय समिति नै हुन भन्ने ठुलो भ्रम उनीहरुमा छ. काठमान्डू महानगर पालिकाले बनाउन लागेको फ्लाइओभरको मामिलामा संसदीय समितिमा सर्वोच्च अदालतको निर्णय बिरुद्ध भनिएको भनेर जे कुरा बाहिर आयो त्यसले उनीहरुको दम्भ र अज्ञानता कै पुनर्पुष्टि गय्रो भन्दा अत्युक्ति हुने छैन. आफ्नो जिम्मा नपर्ने कुरामा पनि मन्त्री, प्रधानमन्त्री लाई नै बोलाएर हप्काएको अप्रिय दृश्य हामीले हेर्नु परि रहेको छ. अब त पुल, बाटो, अस्पताल, मकै-चामल, दुध, दही, यस्तै एजेन्डामा संसदीय समितिहरु आ आफ्नो हैकम देखाउँदै छन.
सांसदहरु जनताका प्रतिनिधी हुन. उनीहरुले जनताको बोलि बोल्नु पर्छ. सांसद पार्टीको घेरा भित्र मात्र अटाउँदैन. त्यसैले बिकशित देशमा पार्टी व्हिप लाग्ने बिषय हरु नै सिमित गरिएका हुन्छन. सांसद निजी बिल मार्फत कानुनको संसोधन, नया कानुनको निर्माण गर्ने हैसियतका जन-प्रतिनिधी हुन. सांसद मार्फत जनतालाई सुचित गर्नु, जनताको राय लिनु र जनताको अभिमत अनुसार काम गर्नु राज्यका सम्पूर्ण अंगको कर्तब्य हो. त्यसैले सांसद वा सभामुख ले संबैधानिक वा सरकारी निकायमा नियुक्ति गर्दा पार्टी का प्रतिनिधी छान्छन भनेर होइन कि व्यापक जनता संग घुलमिल भएकाले असल मान्छे को पहिचान गर्न सक्षम हुन्छन भनेर उनीहरुलाई त्यो जिम्मेवारी दिइएको हो.
सांसद जनतामा पार्टीको प्रतिबिम्ब पनि हुन. उनीहरुको क्रियाकलापले समग्र राष्ट्रीय राजनीतिको प्रतिनिधित्व पनि गर्छ. जनताले सब भन्दा पहिले सांसदलाई छामेर राज्यको न्यानो को मापन गर्छ भनिन्छ. यसरी हेर्दा उनीहरु उपर बहुमुखी जिम्मेवारी छ. राजनीतिक हिसाबले राज्यलाई अद्यावधिक गर्ने र नीतिगत रुपमा त्यता डोय्राउने जिम्मेवारी उनीहरुमा छ. सरकार देशी-बिदेशी र परम्परागत संरचना को दवाबमा हुन्छ. असल नेताले जनताको दवाब मार्फत त्यस्ता घेरा तोड्नका लागि सांसदको सहयोग लिने गर्छन. जनताको आवाज बोल्ने सांसदको अभिप्राय को साथ पाएर असल काम गर्न सरकार लाइ सजिलो हुन्छ. यस अर्थमा सांसद नागरिक समाज र सरकार बीचका सेतु पनि हुन.
हाम्रा सांसदको चाला हेर्नुस. जनता प्रतिको जवाफदेहिता को मापदण्ड का हिसाबले भन्ने हो भने उनीहरु असफल भइ सके. कसैले पनि सांसद लाइ संझिदैन. केवल पार्टीका नेताको मात्र कुरा गर्छन.
यति गम्भीर सवाल उठेका छन तर संसदमा बहस हुँदैन. हंगकंगमा गएर माओवादीका अध्यक्ष ले पारसशाह संगै तिन अरब डलरको लगानीमा लुम्बिनी बिकाशको योजना बनाए भनिन्छ. त्यो राम्रो भए सहयोग गर्न, नराम्रो भए रोक्न, बिधी-प्रकृया नपुगेको भए पुय्राउन संसदमा बहस हुनु पर्ने. नेपालको बारेमा, विश्व सम्पदाको मामिलामा, युनेस्को लाइ छाडेर युनीडो र चिनिया गैर सरकारी विकास संस्था संग सम्झौता गरियो भनिन्छ. जनता रनभुल्ल मा छन. १९७० मा संयुक्त राष्ट्र संघ संग गरिएको सहमति अनुसार लुम्बिनी गुरु योजना बनेको छ. मंसीर २, २०६६ मा अर्को चिनिया संस्था संग लुम्बिनी विकाश कोषको शर्त मा काम गर्ने सरकारी सहमति भै सकेको छ जसले आठ अरब डलर खर्च गर्ने योजना छ.
रुकुम जिल्ला कि १२ वर्ष की जमुना बुढा कुपोषण का कारण सोमालियाकी भुखमरी पिडित बालिका को जस्तो ज्यान लिएर भेरी अस्पतालमा उपचाररत छिन. सर्व साधारण र संघ संस्था हरु उनलाई सहयोग गरि रहेका छन. देशको संबिधानले खाद्य अधिकार को कुरा गर्छ. कुपोषण र भुखमरी जस्ता अवस्थामा राज्य को भूमिका तोंक्छ. तर यस्ता कुरामा हाम्रा सांसदलाई सरोकार नै हुन्न. नेपालगंज र लुम्बिनी मन्दीर क्षेत्रका सांसद कुनै समाचार पढ्ने सुन्ने गर्दैनन कि क्या हो? उनीहरु आफ्ना पार्टी बाट सम्बन्ध बिच्छेद गरेर बसेका छन कि क्या हो? आफ्नो निर्वाचन क्षेत्र संगको साइनो बिर्सिएकी क्या हो?
हाम्रा नेताहरुले नाबिर्सियुन कि जनता साच्चै आजित भै सके. कुनै दिन यस्तो नआओस कि नेता आयो भन्ना साथ जनता हात हात मा जे पायो त्यहि लिएर नेता लखेट्न , कुट्न थालुन. त्यस्तै बेलामा कुनै भंगज्याहा को उत्पति हुन्छ. निरंकुशता र बैदेशिक हस्तक्षेप को ढोका खुल्छ. त्यसैले जनतालाई नजिक राख्ने, उनीहरुलाई सामेल गर्ने र उनीहरु प्रति संवेदनशील हुने कुरामा गम्भिरता पुर्वक ख्याल गर्ने मामिलामा हाम्रा सांसद हरुले गंभीर हुनै पर्छ. नेताको दास हुन छोडेर सिद्धान्तको अनुयायी, पार्टीको बन्धक बन्न छोडेर जनताको अपेक्षाको भरिया बन्न सके मात्र आ-आफ्नो पार्टीको लक्षको सेवा गर्न सकिन्छ. बिग्रिएका कुरा सच्याउन सक्ने र आलोचनाको घेरा भित्र रहने ले मात्र देश र सिद्धान्तको सेवा गर्न सक्छन. सबै सांसदले हेक्का राखुन कि जनता ले उनीहरुलाई राम्ररी नियाली रहेका छन. आउँदो चुनावमा एउटा यस्तो अभियान पक्का पक्की हुने छ जसले स्वतः स्फुर्त रुपमा प्रमाणित नालायक हरुलाई भोट नहाल्न जनता लाई अपील गर्ने छ. दक्षिण कोरिया मा नालायक हरुको फेहरिस्त बनाएर हजारौं ले सडकमा सार्वजनिक अपील गरेका थिए र सयौं बिगतका खराब उम्मेदवारलाई हराएका थिए. पार्टी भित्र पनि पालो पर्खेर बसेका हरुले दाउ खेल्ने नै छन. माननीय सांसद हरु, कृपया पाउनु भएको अवसर र चुनौति लाइ बेलैमा चिन्नु होस. खतराको घन्टी बजी सक्यो.
August, 10, 2011.