सुबोधराज प्याकुरेल
सन् २०११ को जाडोमा
वाशिंगटनको व्हाइट हाउसमा राष्ट्रपति ओबामालाई मैले भेटेको थिएँ/ विश्वका बिभिन्न
क्षेत्रका अधिकारकर्मीहरुका लागि आयोजित उक्त बैठकमा दक्षिण एसियाबाट म र
पाकिस्तानकी वकिल तथा संयुक्त राष्ट्र संघको पूर्व प्रतिवेदक हिना जिलानीलाई
बोलाइएको थियो/ हामीले ग्वान्टानामोमा अमेरिकी कानुन र मानव अधिकार कानुनको
बर्खिलाफ कैदी बन्दी राखिएको, तिनलाई " सिमित यातना" जस्ता हास्यास्पद
आधारमा यातना दिइएको, इराकमा नक्कली आरोपमा हमला गरिएको जस्ता बिषय समेत उठाएका
थियौं/ राष्ट्रपति ओबामाले स्पष्ट जवाफ दिनु भएको थियो/ एउटा विश्व नागरिकका
नाताले उहाँले सत्यनिष्ठापूर्वक कतिपय कृयाकलाप अनपेक्षित रहेको कुरा स्वीकार्नु
भएको थियो/ बैठक करिब ४० मिनेट सम्म
चल्यो/ राष्ट्रपति ओबामाले राज्य संचालन गर्दा आइपर्ने अप्ठयाराका बारेमा चर्चा
गर्ने क्रममा भन्नु भयो " आज तपाइहरुले टेलिभिजनमा देख्नु हुनेछ कि कसरि मलाइ
अमेरिकीहरुको स्वास्थ्य सुबिधाको योजना ल्याउन खोजे वापत आलोचना गरिन्छ, आज २ बजे
एउटा विद्यालयमा कार्यक्रम छ, सके हेर्नु होला"/ उहाँको उक्त योजनाको सार उहाँले
बताउनु भएको थियो/ योजना अनुसार राज्यले स्वास्थ्यको जिम्मा लिनु परे पछि उक्त
खर्च घटाउनकालागि रोग नलाग्ने उपायहरु गर्न राज्य बाध्य हुनेछ/ स्वच्छ पानी,
उपयुक्त ढल निकास, वातावरणीय सुरक्षा, जन-स्वास्थ्य सम्बन्धि संचेतना जस्ता बिषयमा ध्यान दिने संस्कृतिको बिकाश
हुनेछ/ तर अमेरिकीहरु आफै कमाउने र आफ्नोलागि आफै सुबिधाको छनौट गर्ने कुरामा
अभ्यस्त भै सकेका छन/ उनीहरु भन्छन " म कमाउछु, कमाइ अनुसारको बीमा गर्छु,
रोगब्याध लागेमा मन परेको अस्पताल वा देशमा जान्छु र उपचार गर्छु/ तिमि को हौ मलाई
यसो गर, उसो गर, रोग लागेमा तिम्रो उपचार फलानो अस्पतालले गर्छ, त्यहाँ जाउ,
भन्ने?" ओबामाले भने अनुसारकै प्रश्न उहाँलाई श्रोता हरुबाट सोधिएको मैले
देखें/
यस पटक सम्पन्न
भारतीय निर्वाचनमा गुजरातका मुख्यमन्त्री मोदीको जादु नै चल्यो/ प्रचारको ब्यापार
पाएका निजि सञ्चार जगतमा त झन् भनिसक्नु थिएन उनको प्रचार/ त्यो मोदीको जादुको
पछाडी एउटा मन्त्रले काम गय्रो, गुजरातमा लगातार डेढ दशक देखि बिकाशको लहर चलेको
छ/ बिकाशको मापदण्डको रुपमा चौडा सडक, ठुला कारखाना, शानदार हवाई अड्डा र बैदेशिक
र स्वदेशी लगानीका ठुल ठुला परियोजनाको सचित्र बर्णन गरियो/ सफा शहर, अत्याधुनिक
रेल स्टेसन, हराभरा स्वच्छ शहर टेलिविजनमा हेरेर दर्शक मन्त्रमुग्ध भए/ ६० प्रतिशत
जनता गरीबीको रेखा मुनि बस्ने भारतमा धेरैले ति संरचना मेरै उपभोगका लागि हो भन्ने
कल्पना गरे/ केजरिवाल र राहुल गान्धीले तथ्यांक सहित गुजरातका किसानको जमिनबाट
भएको बेदखली, बढ्दो गरीबीको खाडल, सार्वजनिक स्वास्थ्यको बेहाल लगायतका कुरा उठाई
रहे/ राहुल गान्धीले त १ रुपिया प्रति बर्ग मिटरको मुल्यमा अडानी नाम गरेको ब्यापारिक
घरानालाई जमिन उपलब्ध गराउन त्यहाँका किसानलाई उठिबास गराइएको र गुजरात अहिलेको
भारतमा सर्वाधिक बढी ऋण केन्द्र सरकारबाट लिएर चुक्ता गर्न नसक्ने राज्यमा दरिएको
तथ्यांक पनि प्रस्तुत गरे/ उत्तर प्रदेशका मुख्यमन्त्री मुलायम सिंह यादवले
गुजरातबाट अहिले पनि ३७ हजार किशोरी हरु हराईरहेको दर्दनाक चित्र प्रस्तुत गरे/
यस्ता अनेकन आरोप र दावाले पटक्कै काम गरेन/
मोदीको पक्षमा
गरिएको प्रचारको मन्त्र थियो,बिकाशका मामिलामा कुनै सम्झौता हुँदैन; जातीय आरक्षण,
धर्म निरपेक्षता, रोजगारीमा आरक्षण, सरकारी कोषबाट दातब्य जस्ता कुराले मानिस
पराश्रयी हुन्छ; राज्यले संरचना बनाइदिने, त्यसको उपयोग गरेर आफ्नो बिकाश गर्न
चाहनेलाई सुरक्षा र सम्मान दिने मात्र हो/ अल्छी र बाधकलाई सजाय दिनै भनेर राज्यको
निर्माण गरिएको हो/ जहाँ राज्यको भरोसाको कुरा हुन्छ त्यहाँ पार्टी, राजनीति र
नेताको आधारमा भेदभाव हुन्छ/ प्रकृया ध्वस्त हुन्छ, नेता हावी हुन्छ/
राहुल गान्धी गाउँमा
बस्ने भारतीय मानव संसाधनको कुरा गर्थे/ ७० प्रतिशत भारतीय गाउँले जीवनमा छन्/
उनीहरुको क्षमताको बिकाश गर्नु, उनीहरुका लागि अवसर जुटाउनु राज्यको कर्तब्य हो र
यस क्रममा पछाडी परेका हरुको संरक्षणगर्नु राज्यको कर्तब्य हो भन्थे/ उनले यस
सन्दर्भमा बर्षमा सय दिनको काम र सुचनाको हक सम्बन्धि कानुन र भ्रष्टाचार बिरुद्ध
लोकपाल बिलको कुरा गरे/ कांग्रेसका नेताहरु बारम्बार भारतीय जनता पार्टीलाई
सार्वजनिक रुपमा सोध्ने गर्थे " यो गुजरात मोडेल भनेको के हो?" भनेर/
गुजरात मोडेल बताउनै परेन/ त्यहाँको चित्र र बिकाशका ठुला ठुला संरचनाको बिवरण नै
काफी भयो/
आजका नेताले ख्याल
गरुन कि अबको तन्नेरी पुस्ता कसैको दया र दातब्यमा आश्रित हुन चाहन्न/ अवसर पाए
पनि त्यसको उपयोग गर्न सक्दिन कि भन्ने हीनताबोधबाट अबको पुस्ता मुक्त हुने क्रममा
छ/ नेपालमा १५ देखि ५९ बर्ष उमेर समुहका मान्छेको संख्या कुल जनसंख्याको ६० प्रतिशत
छ/ यो इन्टरनेट पुस्ता देखेको र भोगेको कुरामा बाहेक बिश्वास गर्दैन/ गफ हो कि
यथार्थ भन्ने कुरा जाच्न उ शिपालु भै सकेको छ/ २ करोड नेपाली स्मार्ट फोन चलाउछन्/
१ करोड इन्टरनेटमा अभ्यस्त छन्/ यस्तो बेलामा अनेकन आरक्षण र सरकारी कोषको लोभ
देखाएर जनतालाई कार्यकर्ता र कार्यकर्तालाई पिछलग्गु बनाउने प्रवृति अब चल्नेवाला
छैन/ भारतीय राजनीतिमा देखियो र हामीकहाँ पनि मज्जाले देखिन थालेको छ कि सर्वाधिक
बेइज्जति भएको क्षेत्र भनेको राजनीतिक व्यक्तित्व को हो/ यो राम्रो संकेत होइन/
यसर्थ आफ्ना घोषित आदर्श बाट परिचालित हुने, जनता समक्ष स्पष्ट, तार्किक र सहज
बन्ने अनि आफ्नो अनुगमन गर्ने क्षमता बढाउने काम गरेर मात्र नेताहरुले आजको
क्षमतावान पुस्ताको नेता बन्न सक्छन/ यो युग प्रतिष्पर्धाको युग हो/ आजका जनता
ज्ञानी छन/ बुद्धिमान पनि छन/ तिनलाई नेतृत्व दिन विवेकशील व्यक्तिले मात्र सक्छ/
हामी कहाँ आरक्षण
पनि चाहिएको छ/ सहयोग र सुरक्षा पनि चाहिएको छ/ सूचना र संरक्षण पनि चाहिएको छ/
भर्खर प्रकाशित नेपालको मानव बिकाश प्रतिवेदन अनुसार जातीय र लिंगीय भेदभाव बढी
भएका जिल्लामा स्वास्थ्य, शिक्षा लगायतको बदहाल छ, त्यहाँ भ्रष्टाचार व्यापक छ/ बैदेशिक
रोजगारी बाट प्राप्त हुने पैसाले पनि त्यस्ता ठाउँमा जग्गाको मुल्य बढाउने बाहेक
अरु कुनै योगदान गर्न सकेको छैन/ सरकारी कोषमा बैदेशिक रोजगारीमा जानेबाट, आयकर
तिर्नेबाट, दुर सञ्चार प्रयोग गर्नेबाट उठाइएको अरबौं रुपिया खर्च गर्न नसकेर
थन्किएको छ/ जनताको नजरमा नेताहरुले राज्यको कोषमा मनपरी गर्छन/ त्यसैले उनीहरु
पनि बिजुलीको खम्बा गाड्दा वा बाटो-नहर खन्न खोज्दा मनपरी मुवाब्ज़ा माग्छन/
अहिलेका हाम्रा नेतासंग देखाउनका लागि मोदीको जस्तो गुजरात छैन/ र, तार्किक ढंगले
सैद्धान्तिकृत गरेर आश्वस्त पार्न सक्ने विवेकशील क्षमता पनि छैन/ हिंसात्मक
द्वन्द्वबाट गुज्रिएका राष्ट्रहरुले शान्ति स्थापनाको एक दशकलाई बडो विवेकपूर्ण
नजरले हेर्न र चलाउन सक्नु पर्छ/ अन्यथा एक दशकमा फेरी विविध रुपको हिंसाको चक्र दोहरिन सक्छ/ यो
बेलामा पारदर्शी, तार्किक र आम जनता संग निकटताको आभाष दिने नेतृत्वको आवश्यकता छ/
एक्लै ले नसके मिलिजुली सहि/
०७१ जेठ ०५, मई१९, ०१४ को अन्नपूर्ण दैनिकमा प्रकाशित/
This comment has been removed by a blog administrator.
ReplyDelete