Tuesday, August 11, 2015

नेपाली नागरिक समाज: ( ०७२ श्रावण २५ शान्तिसमाज संग)

                   
नागरिकसमाज भन्नाले विविध विधाका मानिसहरुको अनौपचारिक जमघट भन्ठाने हुन्छ | यस्ता जमघटले औपचारिक निष्कर्ष खिचिरहेका हुन्छन | खुला समाज र लोकतान्त्रिक वातावरण नहुन्जेल नागरिकसमाजले आफुलाई कृयाशील बनाउन सक्दैन | यसकारण नागरिकसमाजले बहुलवादी खुलासमाज, लोकतन्त्र र कानूनी राजको वकालत गरिरहेको पाइन्छ |विद्वान राजनीतिज्ञहरुले नागरिकसमाजलाई आफ्नो समालोचकका रुपमा बुझेका हुन्छन |बिषय केन्द्रीत र राजनीति निरपेक्ष भएतापनि नागरिकसमाजका एजेन्डा जो जो संग मिल्न जान्छ त्यतै संलग्न भएको आरोप नागरिकसमाजलाई लाग्ने गरेको छ | यस्तो काम हुर्कंदो लोकतन्त्रमा बढी हुन्छ | किनकी त्यहाँको सञ्चारजगतले पत्रकारिताका व्यवशायिक जवाफदेहिता बुझिसकेको हुन्न|
एउटा व्यक्ति कुनै राजनीतिक दल वा सरकारमा भएरपनि आफ्नो बिज्ञताका क्षेत्रमा नागरिकसमाजको हैसियत राख्न सक्छ कि सक्दैन ? लोकतन्त्रमा अनेक उदाहरण छन् जहाँ पार्टी र सरकारमा भएरपनि केहि व्यक्तिहरुले क्रिटिकल पर्सनालिटी कायम राखेका छन् | सांसदहरुले मानवअधिकार र लोकतन्त्र सुहाउँदो कानून र नीतिका पक्षमा वकालत गरेका छन् | त्यस्ता व्यक्तिहरुको हिमचिम नागरिकसमाजसंग बढी पाइन्छ |

आपसी सद्भाव र सहिष्णुताको लागि बौद्धिक प्रयास गर्नु र तर्क गर्नु बाहेक नागरिकसमाज संग अर्को कुनै औजार छैन | औचित्यको तागतले मात्र उसको हैसियत निर्धारण गर्ने हो | त्यसैले सामाजिक आन्दोलनहरुमा र सबै प्रकारका मौलिक अधिकारका आन्दोलनहरुमा नागरिकसमाजका मानिसहरुको अदम्य कृयाशीलता देखिन्छ | सडकमा आममानिसका एजेन्डाका साथ् कृयाशील नागरिकअधिकारकर्मीहरुले आमनागरिकबाट पाउने सद्भाव र बिश्वास नै उनीहरुको तागत हो जसले गर्दा उनीहरु राज्यका अनेक गम्भीर निर्णयका बिषयहरुमा हस्तक्षेपगर्न सफल भएका छन् | बौद्धिक विश्लेषणमा आधारित तर्क र ज्ञानको आधार भएका कारण सञ्चार जगतका लागि नागरिकसमाज सरोकार र श्रोतका मध्यम हुन | सामाजिक संजाल र अनलाइन मिडिया थपिएपछि नागरिकसमाज बढी प्रभावकारी हुँदै छ | प्रभाव र लोकप्रियताका साथसाथै उसप्रतिको असहिष्णु राज्य र अनेक स्वार्थ जमातपनि देखिएका छन् | सरकार र राज्यमा उनीहरुलाई लान्छित गर्दै अनेक नियन्त्रणकारी कानून ,नियम बनाउने होडवाजीपनि देखिएको छ | वातावारण परिवर्तन, सामाजिक विभेद, अनियन्त्रित बजारको मनपरी, लोपोन्मुख समुदाय र सामाजिक न्याय लगायत दण्डहीनताको बिरोध गर्ने मामिलामा नागरिकसमाज हरेक देशमा अग्र स्थानमा छ | सद्भाव र सहिष्णुताका लागि सत्य र न्यायको स्थापना हुनुपर्छ |सत्य र न्यायका लागि आमनागरिकको संचेतना जरुरि हुन्छ | निजी स्वार्थ नभएका, सबैलाई आफ्नो ठान्ने, निरन्जन र निश्पक्ष ब्यक्तिलेमात्र सत्यको उद्बोध गर्न सक्छन | जहाँ रहेपनि आफ्नो यो मौलिक चरित्रकासाथ् नेपालको आम नागरिकसमाजपनि स्थापित छ | सम्मानित छ | अनेकन कमि कमजोरीका बावजूद निरन्तर बिकाशमान छ | उसले लोकतन्त्र, सामाजिक न्याय र मानवअधिकारका मामिलामा सम्झौताबिहीन संघर्ष गरेको छ | त्यस्ता संघर्षहरुलाई बौद्धिक खुराक, सामाजिक साथ र अन्तर्राष्ट्रिय मान्यताको तहसम्म उचालेको छ | त्यसैले नेपालको नागरिक आन्दोलन र  सामाजिक संगठनहरुले विश्वमा इज्जत कमाएका छन् | आजको नागरिकसमाजको एजेन्डा दया र करुणा भन्दा अधिकार र क्षमता अभिवृद्धिमा केन्द्रीत छ | राजनीतिकक्षेत्रमा भने शंकट पर्दा स्वतःस्फूर्त कृयाशील हुने जमात ठानेर नागरिकसमाजलाई बेवास्तागर्ने प्रवृति छ | 

No comments:

Post a Comment