Sunday, October 15, 2017

नोंचके खाई – सोंचके दिई:


स्थानीय तहको निर्वाचनमा नागरिक बीचमा बहस गर्न बिरगंज गएको बेलामा एउटा उत्तेजक चर्चा चल्यो| स्थानीय एउटा एफएमका साथीहरु निर्वाचनमा आर्थिक चलखेल देखेर वाक्क दिक्क हुनु भएछ| र, एउटा अपील प्रसारण गर्न थाल्नु भएछ, नोंचके खाई – सोंचके दिई| स्थानीय भोजपुरी भाषामा प्रसारित यो सन्देशको नेपालीमा अर्थ लगाउँदा, कोतरेर खाउ तर सोंचेर देउ भन्ने हुन्छ| बहस केन्द्रित थियो, यस्तो प्रसार गर्नु हुन्छ कि हुन्न? खाउ भन्न त नहुने नै हो| झन् कोतरेर खाउ त कसरि भन्नु? तर आएको पैसा नलेउ भन्ने स्थितिमा स्वच्छ निर्वाचनका पक्षधर कसैको पनि स्थिति थिएन| गरीबी भन्दा पनि चुनावमा उठ्नेहरू आफ्ना लागि उठने हुन र जिते पछि कसैका हुँदैनन भन्ने भावनाले गर्दा पाएको रकम हातलागि गर्ने मानसिकता सर्वत्र बढेको पाइयो| म बाट उत्तरको अपेक्षा गरियो| र, मैले भनें, कतिपय कुरा खुलेआम भन्नु हुन्न तर यो वाध्यताको दुख:द अभिव्यक्ति हो|
सिरहाको एउटा सानो बजारमा हामी खाजा खान पस्यौं| चिया पसलका एकजना भाई सुस्केरा हाल्दै आए र साहुजीलाई भने,- हो बाप, बडा मुस्किल से माछ टा भेटल| अर्थात, हे पिता बडो मुस्किलले माछा सम्म भेट्टाईयो| ति भाईसँग मैथिलीमा अन्तरंग कुरा गरें| उनले बताए, उनि वास्तवमा आज कुखुरा किन्न एउटा कुखुरा फारममा गएका रहेछन| तर फारम धनीले कुखुरा बेच्न मानेनन् रे| कारण स्पष्ट थियो| फारममा छसय कुखुरा बेच्ने बेलाका तयार रहेछन| तर दुइवटा उम्मेदवारका मान्छेले सबै कुखुरा अरुलाई नबेच्नु भनेर बुक गरिसकेका रहेछन|
धनुषाको एउटा गाउँमा हामी रुखको आड लागेर सुस्ताई रहेका थियौं| साइकल बेगले दौडाउँदै एकजना तन्नेरी पराले झुपडीको टोल तिर हुँइकिए| उनको साइकलको अगाडिको डण्डीमा दुइवटा कुखुराको खुट्टा एउटा डोरीले बाँधेर दायाँ बायाँ उँधोमुन्टो पारेर झुन्ड्याइएका थुप्रै कुखुराका जोडी लहरै रहेछ| खरको टाटीले बारिएको घर अगाडी पुगेर उनि कराउँथे, हे हो लिय| अर्थात, को हुनुहुन्छ लिनुस| र पत्रिका ल्याउनेले घर घर पत्रिका हुय्राए जस्तो एकजोडी खुट्टा बाँधिएका कुखुराका जोडी बाँसको टाटी माथीबाट बरन्डामा झर्ने गरी उनी हुय्राउंथे|
निर्वाचन अधिकृतहरु अलमलिएका पनि पाइयो| जनकपुर बजार नजिकको केन्द्रमा मतदाताको हुल थियो| मतदान केन्द्र स्कुलमा थियो जहाँ अतिरिक्त कोठाहरु थिए| मैले अधिकृतलाई आग्रह गरें, एउटा थप कोठामा छाप लगाउने प्रवन्ध गर्न सकिन्न? चर्को गर्मीमा फरिया लगाएका महिलाहरुलाई साह्रै सकस भैरहेको थियो| उनीसंग अतिरिक्त छाप र छापदानी थियो| तर मिल्छ कि मिल्दैन भनेर अलमलिएका थिए| मैले प्रहरीसंग सोधें उनी तयार भए| अधिकृतज्यु भन्न थाल्नु भयो दलहरुको सहमति चाहिन्छ| दलका प्रतिनिधीहरुलाई सोधें| सबै तयार थिए| बल्ल छाप लगाउने ठाउँ थपियो| अर्को एउटा मतदान केन्द्रमा छाप लगाउने कोठा बाहिर प्रहरी उभिएर छाप लगाउन सिकाउंदै थिए| उनलाई भन्नु पय्रो, उनको काम सुरक्षा दिनु हो, सिकाउनु होइन| र सुरक्षाकोलागि भीड तिर केन्द्रित हुनुपर्छ, त्यो ठाउँमा होइन|
निर्वाचन आयोगले बनाएको आचार संहिताको अक्षर र भावनाको परिपालन तिनै चरणको चुनावमा हुन सकेन| चुनाव एउटा उत्सवको रुपमा जनताको घर घर छिरेको थियो| बर्दियाको एउटा गाउँमा एउटा घरमा पुर्व पटी एउटा पार्टीको र पश्चिम पटी अर्को पार्टीको झन्डा बडो सौखले फर्फराई रहेको थियो| सायद परिवारका सदस्यले सदासयतापूर्वक आ-आफ्नो प्यारो पार्टीलाई सजाएका थिए| पार्टी चिन्ह अंकित टोपी, गन्जी नलगाउने र तराईमा गम्छा समेत नलगाउने मानिस भेटिन मुस्किल थियो| रंगीन पोष्टर, ठूला ब्यानर यत्रतत्र देखिन्थ्यो| एउटा आचारसंहिताको परिपालना पहाड तराई सर्वत्र भएको पाइयो, भित्ते लेखन लगभग थिएन| सायद भित्ताका धनीहरु चेतनशील भएका थिए अथवा पछि मेट्ने खर्च आफैले गर्नुपर्ने पीरले गर्दा उनीहरुले लेख्न दिएनन| राजमार्गका दायाँ बायाँ लहरै पार्टीका झन्डाहरु डोरीमा उनेर आकास ढाक्ने गरी सजाइएका थिए| मधेसमा बाँसलाई हाँगा सहित ठड्याएर हाँगा पिच्छे पार्टीको झन्डा उनिएको दृश्य मनमोहक थियो| ठाउं ठाउँमा अग्ला द्वार बनाएर पनि माथि पोस्टर, ब्यानर र दायाँबायाँ झन्डा सजाइएका थिए| सडक छेउका यस्ता प्रचारलाई निर्वाचन आयोगले हटाउने काम गरेको पनि पाइयो| मुख्य निर्वाचन अधिकारीहरु भन्नु हुन्थ्यो, पार्टीका मान्छेले अनेकथरीका प्रचार गरी दिन्छन भनेर उम्मेद्वारहरु पन्छिन्छन, हामी आफै नलागी कसले हटाउने? प्रहरी र साधन जोहो गरेर सकेसम्म त हटाएकै छौं| भारतीय नम्बरप्लेटका गाडीहरु पहाड देखि तराई सम्मै प्रशस्त भेटियो| किन भारतीय मोटर ल्याएको भन्दा उनीहरु भन्थे, नेपालमा गाडी कहाँ छ र? त्यसमाथि यहाँका गाडी भन्दा आधा सस्तो भाडामा भारतीय गाडी पाइन्छ| चिया पसल पान पसल चोक चौबाटो सर्वत्र चुनावको चर्चा थियो|
तामझाम र उत्सवको खर्च जस्तो भयो निर्वाचन| एकजना तन्नेरी खेलाडी जो आफ्नो गाउँमा लोकप्रिय छन उनलाई पार्टीले वडा अध्यक्षको उम्मेदवार बन्न टिकट लेउ भन्यो| उनले भनेछन, म पार्टीको उम्मेदवार भएँ भने खर्च जुटाउन सक्दिन सबैले ठूलो मुख बाउँछन बरु म स्वतन्त्र उठ्छु| मानिसहरु मधेसमा पार्टीको अथवा सिद्धान्तको कुरा बिरलै गर्थे| उम्मेदवारको सम्भावना उनको जात समुदायका आधारमा बढी गरिन्थ्यो| आफ्नो ठाउँको पहिचान र अपनत्वका मामिलामा सबैमा चेतनशील एकता थियो| तर स्थानीय सरकारले कसरि आफ्नो ठाउँको सगोलको परिचय र उन्नतिको आधार दिन्छ भन्ने कुरा आम नागरिकलाई थाहा थिएन| संविधानको धारा अनुसूची र प्रवन्धका बारेमा न उम्मेदवार न पार्टी कसैले पनि चेतना बाँडेको पाइएन| किन चुनाव जरुरि छ भन्ने कुरामा जानकारी भएका मतदाता नै ठिक निर्णय गर्न सक्षम हुन्छन|र, सक्षम अर्थात चेतनशील मतदाता भएभने मतदान स्वच्छ हुन्छ| यो बिषयको जिम्मेवारी कसले लिने हो? निर्वाचन आयोगले मतदाता शिक्षा अन्तर्गत यस्ता बिषय पनि सामेल गर्नु जरुरि छ|
जनकपुरमा मिथिला इतिहासका बारेमा शोध गरेका तन्नेरीसंग भेट भयो| शिक्षाको सम्बन्धमा माध्यमिक शिक्षाको अधिकार प्राप्त गरेको स्थानीय सरकारले कसरी पाठ्यक्रम मार्फत स्थानीय गौरव र इतिहासको जगेर्ना गर्नसक्छ भन्ने वारेमा उहाँसंग चर्चा गर्न पाइयो| अहिले जिल्ला प्रशासन कार्यालय मार्फत पासपोर्ट पाए जस्तै केन्द्रिय अभिलेख प्रणालीलाई इन्टरनेट मार्फत जोडेर नागरिकताको प्रमाणपत्र स्थानीय सरकारले दिने व्यवस्थापन गर्न के गर्न सकिएला भन्ने बारेमा अर्का तन्नेरीसंग छलफल गरें| उहाँले सजिलै सकिने भन्दै केहि प्राविधिक ज्ञान दिनु भयो| भूमि व्यवस्थापन मात्र होइन भाषाको कम्प्युटर मानक बनाएर सर्वसाधारणको पहुँचमा राज्यको प्रशासनलाई पुय्राउन् सकिने बारेमा पनि उहाँसंग ज्ञान प्राप्त गरें| अहिलेको समाजमा हरेक ठाउँमा क्षमतावान तन्नेरीहरू छन| तिनको योग्यता र क्षमतालाई प्रयोग गर्ने बारेमा कुनै स्थानीय राजनीतिक समुहले सोंचेको छ कि भनेर धेरै ठाउँमा भेट भएका पार्टीका अगुवाहरुसंग सोधें| सबैको ध्यान चुनाव कसरि जित्नेमा मात्र केन्द्रित थियो| योजनावद्ध विकास र जनआधारित निर्णय प्रणालीका बारेमा सोंच पनि बिकसित हुनसकेको पाइएन| पार्टीका प्रमुखहरुको आफ्नै समस्या थियो, चुनाव खर्च कसरि टार्ने? पार्टी केन्द्रले जिल्ला भरीलाई दस पन्ध्र लाख देखि पच्चीस तीस लाख भन्दा बढी दिनसक्ने पाइएन| तर अधिकांश ठाउँमा वडा स्तरको चुनाव खर्च नै पच्चीस लाख भन्दा बढी हुने आंकलन गरेको पाइयो| चार जना जिल्लाका पार्टी प्रमुखहरुले दुखेसो व्यक्त गरे, के गर्नु चुनाव यति महँगो भएको छ कि आफ्नो खर्च आफै गर्न सक्ने मात्र होइन अतिरिक्त आर्थीक योगदान गर्नसक्ने केहीलाई उम्मेदवार बनाएर भएपनि चुनाव खर्चको जोहो गर्नु परेको छ| र, शहर बजार मात्र होइन गाउँ घरमा समेत रोडा बालुवाका ब्यापारी ठेकेदारहरु वैदेशिक रोजगारी कम्पनीका दलाल र शहर उन्मुख गाउँमा प्लटिंगको काम गर्नेहरुनै धनाढ्य कहलिएका रहेछन| चुनावको व्यवस्थापन गर्ने जिम्मा पाएकाहरुको आफनै रोइलो छ|जनताको नजरमा उनीहरु ठेकेदार व्यापारीका पक्षधर कहलिएका छन| इतिहास भएका पार्टीमा योगदान गरेका र वैचारिक रुपले असल मानिसहरु चुनावमा उठ्ने हिम्मत गर्न छाडेका छन| नेताहरु आफ्नै साख कसरी जोगाउने भन्ने चिन्तामा छन|
प्रजातान्त्रिक आन्दोलन जुन वैचारिक धरातलमा उभियो त्यसको बन्टाधार भइसक्यो भन्ने चिन्ता पाका राजनीतिज्ञहरुमा बढ्दो छ| देशबाट ओर्लिएको राजनीति गाउँ टोल र जात समुदायमा सीमित हुँदै गएको चिन्ता सबभन्दा बढी मधेसमा ब्याप्त छ| विकासलाई ठेकेदार र गैरजिम्मेवार कर्मचारीको जिम्मा लगाइएको अवस्था छ| चन्द्र निगाहपुरबाट गौर जाने सडकको दायाँबायाँ असारको बाढीको पानी अहिलेपनि जमेर बसेको छ| गौरमा सेवानिवृत प्राध्यापकसंग भेट भयो| उहाँ भन्दै हुनुहुन्थ्यो, यो सडकमा कमसेकम दसवटा ठाउँमा कल्भर्ट हाल्नुपर्छ भनेर कति ठाउँमा भनियो तर कसैले सुनेन, हेर्नुस सडक बनाउन बनाइएको अग्लो बाँधले पानीलाई आफ्नो प्राकृतिक बहावमा बग्न दिंदैन छेकेर राख्छ| असारको पानी असोज सम्म जमेपछि हाम्रो बिल्लीबाठ हुने भयो| मधेसको बाटो सर्भे गर्न इन्जिनियरहरु मङ्सिर पुषमा आउँछन् जतिबेला सुक्खा हुन्छ| जहाँ अलिक होचो जमिन देख्छन त्यहाँ ह्युम पाइपको इस्टिमेट गरिदिन्छन|
फेरी चर्चा गरौँ चुनावी प्रचारको| तराइमा खुब चलेको प्रचार युद्ध थियो, डीजे| ठूलठूला साउण्ड बक्स लिएर पिकअपमा एक हुल आउँदो रहेछ| कसैको घर अगाडीको चोकमा हिन्दी वा स्थानीय भाषामा उत्ताउला गाना बजाइदो रहेछ| डीजे त्यस कार्यक्रमको संचालक हुँदो रहेछ| उसले अनेक हाउभाउ देखाउदो रहेछ| बीच बीचमा उम्मेदवारको प्रचार गरिदो रहेछ| कतै कतै नर्तकी र धेरै जसो ठाउँमा पुरुषलाई नर्तकी बनाएर नृत्य पनि गरिँदो रहेछ| एकजना बृद्ध महिलाले गुनासो गर्नु भयो, समसमी एक हूल मान्छे झमक्क साँझ परेपछि अथवा एका बिहानै बरण्डा सम्म आइपुग्छन| सुरु सुरुमा त डर लाग्थ्यो, को हुन? कताबाट आए? भनेर| मध्य रात सम्म गाना बजाना, एक बिहानै हुलका हुल, म त अशान्त भइसकें| हामीले निर्वाचन अधिकृतसंग सोध्यौं| उहांहरु भन्नु हुन्थ्यो, हेर्नुस आचार संहिताको निर्माण दलहरुको सहभागितामा गरिएको हो, आफै अटेर गर्छन, हामी के गर्न सक्छौं? हामी बल प्रयोग गर्ने होइन, नियमन सम्म गर्ने निकाय हौँ, सुरक्षा निकाय संवेदनशील ठाउँको अनुगमनमा व्यस्त छ| हामीलाई लाग्यो कि आचारसंहिताका कतिपय मापदण्ड व्यवहारिक बनाउनु पर्छ| टोपी, झन्डा,गन्जी र गम्छा नियन्त्रण गर्न कठिन छ| तर हो हल्ला, तडकभडकजन्य गतिविधिलाई भने रोक्नै पर्छ| आर्थिक चलखेललाई कठोरतापूर्वक नियन्त्रण नगर्ने हो भने सबै पार्टीहरुले धनाढ्य सामु समर्पण गर्नुको बिकल्प रहने छैन| बर्षभरी मतदाताको संचेतनाको सञ्चार र शिक्षाको अभियान चलाउनु पर्छ| र दलहरुले बिचारमा आधारित राजनीति तर्फ फर्किनै पर्छ|

Subodh.freenep@gmail.com  Published in Nagarik Daily, Ashoj,30,2074 16th October,2017.

No comments:

Post a Comment