नेकपा विवादको अन्तर्य (गोरखापत्र दैनिक)
समाधानको सरल बाटो चुनाव नै हो
सुबोधराज प्याकुरेल
२०७७ माघ ११ गते निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी एकीकरण गर्दाको सम्पूर्ण अन्तरिम व्यवस्थालाई मात्र मान्यता दिएको फैसला गय्रो । अर्थात् महाधिवेशन नहुञ्जेल दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) को संयुक्त दस्तखतले मात्र औपचारिक मान्यता पाउने भयो । पार्टीका बैठक अध्यक्षद्वयको सहमतिमा एजेन्डासहित तय गरी महासचिव विष्णु पौडेलले बोलाउनुपर्ने भएको छ । पुस ५ यता गरिएका तमाम फेरबदल बदर भएको छ ।
निर्वाचनको उम्मेदवार मनोनयन पत्रमा नेकपाको विवादपूर्व सचिवालयले गरेको निर्णयअनुसार केपी ओलीबाहेकको दस्तखतलाई चिन्न पनि मिलेन । अब अविभाजित नेकपाको नामबाट चुनावमा जानेले यो अनुशासन मान्नुपर्नेछ । माधव नेपाल औपचारिक अध्यक्ष रहनु भएन ।
पार्टी एकीकरण गर्दा दुई वर्षभित्र अधिवेशन गरिसक्ने भनिएको छ । अहिले तीन वर्ष बितिसक्यो । अर्थात् महाधिवेशनको अख्तियारी लिएर दुवै अध्यक्षले आपसी सहमतिमा छान्नुभएका तमाम मनोनीत केन्द्रीय सदस्यको म्याद सकियो । केन्द्रीय समितिबाट निःशृत सबै निकाय अनौपचारिक भइसके ।
दाबी विरोधमा विरोधाभास
अहिले दुवै पक्षबीच घनघोर वाक्युद्ध चलेको देखिन्छ । केपीले भन्नुभयो – ‘‘भेट्नो कुहिएको फल रुखबाट झरे, शरीरको पिलो फुट्यो र सञ्चो भयो, नगदा –नगदी चाहिने माधवले नगदी अध्यक्षता प्राप्त गर्नुभयो ।’’ अर्को पक्षको शब्द चयन पनि अति उत्ताउलो र गालीगलौजको तहमा ओर्लियो । केपीलाई हिटलर, उहाँको नामलाई समेत जोडेर खड्गजस्तो, सङ्घीयता, गणतन्त्र विरोधी, संविधान र व्यवस्था विरोधी, भ्रष्ट आदि भनियो । प्रचण्ड–माधव गुट यतिबेला अन्य पार्टी कार्यालय पुगेर र नागरिक समाजसँग संयुक्त जनआन्दोलन गर्ने अनुनय गरिरिहेछ । ठूला भनिएका खबरमाध्यममा ओलीलाई व्यवस्था विरोधी, अधिनायकवादी र निरङकुश भन्दै एकोहोरो विरोध गर्ने प्रचार शैली चलेको छ । जुनसुकै स्तरको झुटको प्रचार गरिएको छ, पत्रपत्रिका जासुसी गरिरहेका छन् कि पत्रकारिता ? भन्ने प्रश्न उठ्न थालेको छ । स्रोत र सूत्रको हवाला दिएर तिलस्मी कथा बुन्न थालिएको छ । प्रचण्ड कहिले ननभेज (हिंसालु) आन्दोलनको कुरा गर्नुहुन्छ त कहिले ‘‘म युद्धको कमाण्डर हुँ’’ अनि मेरो टाउको चिलायो भन्नु हुन्छ । पूर्व सभामुख दमननाथ ढुंगाना ‘‘न्यायाधीशलाई सडकमा तान्ने अवस्था नआओस्’’ भन्दै सन्त्रास फैलाउनु हुन्छ । संयुक्त नागरिक आन्दोलन बालुवाटारको प्रधानमन्त्री निवासबाट पाँचसय मिटर वर निषेधित क्षेत्रको घेरा तोडेर अगाडि बढ्छ र प्रहरीले पानीको फोहरा छ्यापेर रोक्नुपर्छ । उक्त आन्दोलनलाई छेकेर सरकारले घोर दमनकारी चरित्र उदाङ्गो पाय्रो भनेर आलोचना गरिन्छ । तर अहिलेसम्म कसैले बताउँदैन कि उक्त जुलुसको गन्तव्य कहाँसम्मको थियो ? ढुङ्गा–मुढा गर्दै अगाडि बढेको त्यो जुलुसको गन्तव्य प्रधानमन्त्री निवासभित्र छिरेर त्यहाँ डोनाल्ड ट्रम्पका अनुयायीहरूले अमेरिकी संसदभित्र गरेजस्तो कुनै उत्पात गर्नु थियो कि ? सवाल अनुत्तरित छ ।
चार जना पूर्व प्रधानन्यायाधीश सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसलाई निर्देशित गर्ने गरी संयुक्त विज्ञप्ति निकाल्नु हुन्छ । तीमध्ये दुई जना–सुशीला कार्की र कल्याण श्रेष्ठ त बारम्बार नागरिक आन्दोलनको नाममा सर्वोच्च अदालतको सामुन्ने माइतीघरमा आयोजित नागरिक आन्दोलनको समर्थनमा जुलुसमै सहभागी बन्नुभएको छ ।
अहिले प्रचण्ड–माधव समूहको आह्वान
संयुक्त जनआन्दोलन गरेर ओलीलाई पदबाट बर्खास्त गर्नुपर्छ । नेपाली काँग्रेसका रामचन्द्र पौडेल र गगन थापा अग्रमोर्चामा बसेर त्यही कुरा दोहोय्राइरहनु भएको छ ।
आमनिर्वाचनमा जाऊँ भन्दा व्यवस्था विरोधी भनिने यो कस्तो लोकतान्त्रिक आचरण होला ? दुई वर्षअघि संसद् विघटन गरेर नयाँ जनादेशमा जानासाथ व्यवस्था कसरी समाप्त हुन्छ ? बहसमा सहभागी वकिलदेखि पत्रिका र नेताहरू संसद् पुनर्स्थापना भएन भने जे पनि हुन सक्ने भन्छन् ! कहिले प्रधानमन्त्री र न्यायालयबीच सेटिङ भएको मुख्य समाचार बन्छ । कहिले न्यायाधीशहरू र प्रधानमन्त्रीबीच बालुवाटारमा बैठक भयो भनेर झुठो समाचार बनाइन्छ । गिरिजाप्रसाद कोइरालाले संसद् पुनर्स्थापनको माग गर्दा व्यवस्थामा आमूल परिवर्तनको अभिप्राय थियो । आफ्नो आन्दोलनलाई जनआन्दोलन भन्नेहरूले व्यवस्था परिवर्तनका लागि आन्दोलन गरेको भन्नु भएको छैन । तर सडकबाट सरकार फेर्ने चलन बसाल्ने अभिप्राय देखिन्छ ।
संवैधानिक प्रबन्धको सिद्धान्त
अहिलेसम्म अति चर्चामा रहेको संविधानको धारा ७६ हो जुन सरकार गठनसँग सम्बन्धित छ । त्यसको उपधारा (१) अनुसार कुनै दलले प्रतिनिधिसभामा बहुमत प्राप्त गरेमा उक्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिनेछ । त्यस्तो नभए उपधारा (२) अनुसार एकभन्दा बढी दलको समर्थन प्राप्त सदस्यलाई र संयुक्त दलको सरकार बन्न नसक्ने भए उपधारा (३) अनुसार सबैभन्दा बढी सदस्य भएको दललाई र त्यसमा पनि सफलता नमिले बहुमत पुय्राउने आधार प्रस्तुत गर्ने कुनै सदस्यलाई उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त गरिन्छ । एउटा दलको बहुमत भएको पार्टीले बाहेक अरूले उपधारा (४) अनुसार ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ । विश्वासको मत प्राप्त नभएमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले छ महिनाभित्र अर्को निर्वाचन हुने गरी प्रतिनिधिसभा विघटन गर्नेछ । संविधानवादको सिद्धान्तले भन्छ, संविधानको कार्यान्वयनलाई सहजीकरण गर्न संवैधानिक अदालतको गठन गरिन्छ । न्यायपालिकासँग सम्बन्धित संविधानको धारा १२६ अनुसार संविधान, कानुन र न्यायका मान्य सिद्धान्तअनुसार अदालत र न्यायिक निकायबाट प्रयोग गरिनेछ । संविधान वा कानुन निर्माण गर्नासाथ परिपक्व हुँदैन । त्यसको प्रयोगको चरणमा आइपर्ने बाधा र अनुभवका आधारमा परिमार्जन गर्ने, समुचित अदालती व्याख्याद्वारा पूर्णता प्रदान गरिन्छ । कतिपय कुरा प्राकृतिकरूपमा स्थापित हुन्छन् । सबै कुरा अक्षरमा लेखिरहनु पर्दैन । दूरदृष्टिमा देखिने चिरालाई अदालतको संवैधानिक व्याख्याद्वारा परिपूरण गरिन्छ ।
अनुभवका आधारमा बेलायतमा संसद्को कार्यकाल पाँच वर्षका लागि सुनिश्चित गर्ने कानुन २०१९ मा फेरियो । कारण के थियो भने प्रधानमन्त्री युरोपेली युनियनबाट मुक्त हुन चाहन्थे । तर संसद् उनको पक्षमा थिएन । अतः उनले सर्वोच्च जनतासमक्ष जान पाउने सार्वभौम अधिकारको दाबी गरे । निर्वाचनले उनलाई बहुमत दियो र बेलायत युरोपेली युनियनबाट निस्कियो । थुप्रै देशमा संसद् विघटनको अधिकार संविधान र कानुनका धारा र दफामा खोजिन्न । कार्यकारी प्रमुखको अवशिष्ट अधिकारको रूपमा यसले मान्यता पाएको छ ।
नेपालको वर्तमान संविधानको गहन अध्ययन गर्ने हो भने यसले प्रतिनिधिसभा पाँच वर्षभन्दा अघि विघटन हुनसक्छ भनेर धारा ८५ मा उल्लेख गरेको देखिन्छ । तर अवधि छोटिन सक्ने अवस्था र प्रयोगलाई स्वतः बुझिने सङ्घीय कार्यपालिकासँग सम्बन्धित धारा ७४ ले भनेअनुसारको शासकीय स्वरूप, बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुनेछ भन्ने सिद्धान्तअन्तर्गत छोडिदियो । धारा ७६ सरकार गठन र गठनका क्रममा प्राकृतिकरूपमा हुन जाने विघटनसँग सम्बन्धित छ । धारा ८५ मा ‘पाँच वर्षअघि विघटन भएमा’ भनेपछि विघटनको प्रक्रिया उल्लेख हुनुपर्थ्यो । यहाँनिर धाँजा (फल्टलाइन) रह्यो । त्यस्तो धारा सरकार गठन सँगमात्र होइन, सञ्चालनसँग पनि सम्बन्धित हुनुपर्थ्यो ।
संविधान निर्माणको बेलामा धेरै कुरा छुट्न, अस्पष्ट रहन सक्छ । सरकार गठनको धारा ७६ लाई हेरौँ । बहुमत प्राप्त दलले सरकार गठन गर्न विश्वासको मत लिनुपर्दैन । जबकि सार्वभौम नागरिकको अनुमोदन नलिई सिद्धान्ततः सरकार परिपक्व मान्नु हुन्न । सार्वभौम नागरिकका संवैधानिक प्रतिनिधि भनेको प्रतिनिधिसभाका सम्पूर्ण सांसद हुन् । बहुमतसिद्ध गर्ने औपचारिक थलो संसद् हो, संसदीय दल होइन । संसदीय दलले गरेको निर्णय कार्यान्वयन गर्न अधिकार प्राप्त हुने ठाउँ संसद् हो । धारा ७६ कै सरकार गठनको प्रक्रियामा पनि अस्पष्टता छ । बहुमत, बहुदल, सबैभन्दा ठूलो दल हुँदै व्यक्तिले पनि बहुमत सिद्ध गर्न नसके बहुमत सिद्ध गर्न नसक्ने व्यक्तिको सिफारिसमा संसद् विघटन हुन्छ । उसले सिफारिस नगरे के हुन्छ ? भन्ने कुरा उल्लेखित छैन । यसको अर्थ बहुदलीय शासन प्रणालीको मान्यताअनुसार राष्ट्रप्रमुखमा वा अदालतमा जिम्मा छोडिएको होला । यस्ता धाँजा सबै संविधानमा पाइएको विश्वव्यापी अनुभव रहेको छ जसको समाधान संवैधानिक सम्परीक्षणद्वारा गरिन्छ । हाम्रो संवैधानिक अदालतले पनि यस्ता सबै कुरालाई मध्यनजर गरेर नजीर स्थापना गर्नुपर्ने बेला छ ।
अहिलेको सरकार प्रतिनिधिसभाको ६४ प्रतिशतको मतले बनेको सरकार हो । बाँकी ३६ प्रतिशतले सरकार बनाउन सक्ने संवैधानिक स्वीकृति छैन । एउटा प्रक्रियाले स्थापित परिणाम त्यही प्रक्रियाले नउल्ट्याएसम्म कायम रहन्छ । भारतमा चौधरी चरण सिंहले भारतीय राष्ट्रिय काँग्रेसको समर्थनमा सरकार गठन गरे र अल्पअवधिमै त्यही बहुमतको आधारमा संसद् विघटन गरेर नयाँ निर्वाचन गरे ।
अर्थात् वर्तमान प्रधानमन्त्री ओलीले म सरकार चलाउन सक्दिनँ भन्नासाथ जसरी धारा ७६ को उपधारा ५ को सरकारले बहुमत नपाएर अर्को प्रतिनिधिसभाको चुनाव गर्नुपय्रो त्यसैगरी बहुमतको सरकारले सरकार छोडेपछि अर्को बहुमत बाँकी नरहेकोले चुनावमा जानुपय्रो । कि त भन्न सक्नुपय्रो, मन लागे पनि नलागे पनि तिमीले सरकार चलाएकै हुनुपर्छ । संविधानवादको सिद्धान्तले राजनीतिक अदालतको सर्वोच्च निकाय सार्वभौम नागरिकसमक्ष जानबाट रोक्दैन ।
सरल समाधानका लागि आम निर्वाचन ः
संवैधानिक अदालत भएकोले अदालतले राजनीतिक पाटोबाट पनि हेर्ला । प्रतिनिधिसभा पुनर्स्थापना भएको अवस्थामा कुनै एक दलको बहुमतको सरकार बन्ने अवस्था छैन ।
प्रचण्ड–माधव समूहले केपी ओलीलाई पार्टी सदस्यबाट हटायौँ भन्दैछ । उहाँहरूको दाबीको फैसला नहुन्जेल संसदमा यस विषयमा बहस पनि हुन सक्ने छैन । किनभने यो विषय पहिले निर्वाचन आयोगले टुङ्ग्याउनु पर्नेछ । पार्टी होइन कि सत्ताधारी पार्टीको गुट र अन्य पार्टीहरूसँगको टुक्रे, अस्थिर र असैद्धान्तिक गठबन्धनका कारण नेपालको राजनीति अस्थिरताको भुमरीमा जाकिनेछ । संसद्, संवैधानिक अदालत र निर्वाचन आयोग तीनतिर छरपस्ट रहेको सबै विवाद एकै ठाउँमा गुजुल्टियो भने हामी अनन्त अँध्यारो सुरुङमा प्रवेश गर्नेछौँ । उतिखेर विश्वनाथ उपाध्यायले विघटित प्रतिनिधिसभा पुनर्स्थापन गरेपछि नेपाल सम्पूर्ण अस्थिरता र हिंसात्मक द्वन्द्वमा प्रवेश गय्रो । त्यो अनुभवबाट पाठ सिक्ने बेला पनि यही हो ।
अहिले मध्यावधि चुनावको विरोध गरिरहनु भएकाहरूले ढिलो चाँडो बुझ्नु हुनेछ कि समाधानको सरल बाटो चुनाव नै हो । अन्यथा राष्ट्र अदालत, आयोग हुँदै सम्पूर्ण अस्थिरताको भुमरीमा जाकिनेछ । अस्थिरताबाट मुक्तिका लागि समाधानको अधिकार उहाँहरूमा हुने छैन । राजनीति बाहिरको उपाय रच्नुपर्ने समय फेरि आउन सक्छ । त्यतिबेला पनि समाधानका लागि गर्नुपर्ने त निर्वाचन नै हुनेछ । अबको नेपालमा जनआन्दोलन, जबर्जस्ती, संयुक्त आन्दोलन र अधिनायकत्व, निरङ्कुश आदि शब्दका फत्तुर सबै बासी कथन हुन् । जनताले भोगिसके, चिनिसके, जानिसके । त्यसैले संसारभरि लोकतन्त्रको एकमात्र सर्वोच्च समाधानको माध्यम नागरिक अभिमतलाई मानिएको हो । र, नागरिक अभिमतका लागि आमनिर्वाचनमा जान कसैले हिचकिचाउनु हुन्न ।
(लेखक प्रदेश १का योजनाआयोगका उपाध्यक्ष हुनुहुन्छ ।)
No comments:
Post a Comment