Friday, September 29, 2023

कोशी प्रदेश ः आर्थिक सामाजिक रूपान्तरण र समृद्धिको प्रस्ताव

                                                          प्रथम कोशी प्रदेश अधिवेशन

२०८० असोज १२१३, बिराटनगरमा प्रस्तावित

संयोजक क. शेरधन राई

सदस्य क. हिक्मत कार्की

सदस्य क. सुबोधराज प्याकुरेल

कोशी प्रदेश कमिटी

नेकपा एमाले

                                                                             खण्ड १

.  वैचारिक पृष्ठभूमि

·       जनताको वहुदलीय जनवादले हाम्रो देश सामन्तवाद, दलाल नोकरशाह पुँजीवाद र वैदेशिक थिचोमिचोमा रहेको भनेर वर्णन गरेको छ।

·       पार्टीको नवौँ महाधिवेशनले २०६२/६३ को परिवर्तनलाई मौलिक ढङ्गले सम्पन्न पुँजीवादी-जनवादी क्रान्तिको रूपमा विश्लेशण गरेको छ।(विधानमहाधिवेशनको राजनीतिक प्रतिवेदन)

·       समाजवादका आधार तयार गर्दै अघि बढ्ने सामाजिक-आर्थिक रूपान्तरणको कार्यक्रम अर्थात

जनताको वहुदलीय जनवाद नै हाम्रो तात्कालिक कार्यक्रम हो।(उही)

·       वर्तमान मुख्य चुनौती भनेको समाजवादको आधार तयार गर्दै अघि बढने मुख्य कार्यदिशा भएको स्थिति हो।(उही)

·       समाजवाद-उन्मुख आर्थिक प्रणालीको आधार निर्माण गर्दा पुरानो विरासत र चुनौती सहित मूलतः निम्न कुरामा ध्यान दिनु पर्ने हुन्छः (उही)

                    1.     उत्पादनका साधनमा सबैको पहुँच र विस्तार।

                   2.     योग्यता अनुसारको काम र काम अनुसारको पारिश्रमिक।

                    3.      राष्ट्रिय पुँजी निर्माण मार्फत स्वाधीन अर्थप्रणालीको विकास।

                   4.     सर्वसुलभ शिक्षा, स्वास्थ्य र सामाजिक सेवाहरूको प्रत्याभूति।

                   5.     आय र सम्पत्तिको पुनर्वितरण मार्फत लोककल्याणकारी राज्यको स्थापना तथा सर्वकालिक सामाजिक सुरक्षा।

                   6.      आर्थिक, सामाजिक, साँस्कृतिक र लैङ्गिक विभेदको अन्त्य एवं सहभागितामूलक उत्पादन र विकास पद्धति।

                   7.     तदनुकुलको उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकास मार्फत तीब्र आर्थिक विकास।

·       जनताको बहुदलीय जनवादले हामीलाई प्रतिष्पर्धामा श्रेष्ठता हासील गरेर जनताको सेवा गर्ने जन अभिमत प्राप्त गर्ने दिशा निर्देश गरेको छ।

·       जननेता मदन भण्डारीले बारम्बार भन्नु हुन्थ्यो कि जुनसुकै र जस्तोसुकै परिस्थितिमा पनि हामी जनताको सुख दुःखमा उनिहरूको साथमा उनीहरूको असल गोरू सरह जोतिन तयार रहने छौँ।०४८ सालको चुनाव पछि प्रमुख प्रतिपक्षी दलको नाताले उहाँले भन्नु भएको थियो, जनताले हामीलाई जनताको एजेण्डा सहित सत्ताको खबरदारी गर्न र समाधानका जनवादी वैकल्पिक उपाय सहित कृयाशील रहन खटाएका हुनाले हामी त्यही भूमिकामा रहने छौँ।

.२ जनताको बहुदलीय जनवादको बिकासको रणनीति

o   देशको औद्योगिकरण र समाजको पर्याप्त भौतिक बिकास बिना योग्यता अनुसारको काम र काम अनुसार दाम दिने समाजवादी समाजको निर्माण गर्न सकिन्न।त्यसकारण अहिले राष्ट्रिय पूँजी र उद्योगको बिकास सुनिश्चित गर्नु पहिलो र अनिवार्य काम हो।त्यसको निम्ति सामन्तवाद र साम्राज्यवादको अन्त्य गर्नु जरुरी छ।हाम्रो वर्तमान क्रान्तिको सामाजिक, आर्थिक चरित्र पूँजीवादी जनवाद हो।हाम्रो लक्ष्य जनवादी व्यवस्था स्थापना गर्नु हो।यो पहिलो काम पूरा गरेर मात्र हामी समाजवादको निम्ति अघि बढ्न सक्छौँ। (पाचौँ महाधिवेशन बाट पारित)

o   हाम्रो जनवादी अर्थव्यवस्थाको आधारभूत चरित्र मिश्रित अर्थतन्त्र हो जसमा समानता एवं सामाजिक न्यायमा आधारित भएर श्रमजीवीहरू, निम्न आय भएका गरीबहरू तथा पिछडिएका जाति,समुदाय र क्षेत्रको उत्थानमा राज्यको अग्रणी भूमिका रहने छ। (उही)

o   यसमा सफलता हासिल गर्न निजी क्षेत्रको पूर्ण र सक्रिय संलग्नता आवश्यक हुने छ।निजी क्षेत्रलाई बिशेष गरी आर्थिक बृद्धिदर उच्च पार्ने, रोजगारी सिर्जना गर्ने, विदेशी मुद्रा आर्जन गर्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्ने निर्यातमूलक उद्योग संचालन आदिमा प्रोत्साहित गरिने छ।(उही)

o   जमीनको प्रकृति, माटो र हावापानी आदिको आधारमा खद्यान्न नगदे वाली, पशुपालन र फलफूलको विकासको योजनाबद्ध रुपले अघि बढाउँदै कृषिको आधुनिकीकरण गर्ने र कृषि क्षेत्रलाई कुटिर एवं आधुनिक उद्योगको स्थापना, प्रवर्द्धन र विकासमा योगदान पुय्राउने किसिमले विकास गर्ने।(उही)

.  स्थानीय विकास

o   व्यापक जनसहभागिताद्वारा स्थानीय तहमा उत्पादनबृद्धि, रोजगार प्रवर्द्धन र शीप विकासको कार्यक्रम अभियानको रूपमा संचालन गर्ने।(उही)

o   विकास निर्माणका कार्यहरूमा जनप्रतिनिधिका साथै उपभोक्ताहरूलाई पनि प्रत्यक्षरूपमा संलग्न गराई योजना तर्जुमादेखि कार्यान्वयन, सुपरीवेक्षण र संरक्षण गर्ने व्यवस्था गर्ने।(उही)

o   जबजले अवलम्बन गरेका प्रमुख रणनीतिहरू बिस (२०) सुत्रमा अभिलेख गरिएको छ।(जनताको बहुदलीय जनवादको आर्थिक नीति तथा कार्यक्रम, विकासको जनवादी बाटो) । यसै अनुसार एमालेको पहिलो जनपक्षीय सरकारले आफ्नो गाऊँ आफै बनाउँ को कार्यक्रम अन्तर्गत सबै स्थानीय तहलाई रु ३ लाखको दरले जनसहभागिता जुटाई सिर्जनात्मक काम गर्ने अख्तियारी पठाएको थियो। नौ स को कार्यक्रम अन्तर्गत

(१) स्थानीय सडक (२)साना सिँचाई (३) स्वच्छ पिउने पानी (४) शिक्षा र साक्षरता (५) सुलभ स्वास्थ्य (६) शिपमूलक तालीम र रोजगारी (७) सामुदायिक बृक्षारोपण (८) साना जलविद्युतको बिकासबाट ग्रामीण विद्युतिकरण तथा (९) घरेलु तथा साना उद्योगको विकास एकैसाथ, गर्ने गरी आधारभूत तह केन्द्रित समन्वयात्मक कार्यक्रम ल्याएको थियो।(उही)

.  संवैधानिक प्रवन्ध

·       नेपालको इतिहासमा पहिलो पटक हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनताद्वारा जारी गरिएको संविधानको भाग-३ अन्तर्गतको मौलिक हक र कर्तव्यको धारा (१६) देखि (४६) सम्म (३१) वटा मौलिक हक र धारा (४८) अन्तर्गत नागरिकका कर्तव्य निरुपण गरेको छ।

·       त्यस बाहेक भाग-४ अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व भनी धारा (५०) देखि धारा (५४) सम्ममा १०३ उपधाराहरूमा त्यसको बिवेचना गरिएको छ।अरू देशमा निर्देशक सिद्धान्तलाई राज्यले ध्यान दिनुपर्ने तथा कुनै अदालतमा दाबी गर्न नपाइने विषयका रुपमामात्र राखिन्छ। तर हाम्रो संविधानको धारा (५२), (५३) र (५४) अनुसार राज्यको दायित्वको रूपमा उल्लेख गर्दै धारा (५३) अनुसार सरकारले उपलब्धिको प्रतिवेदन राष्ट्रपति मार्फत संसदमा पेश गर्ने र धारा (५४) अनुसार राज्यका निर्देशक सिद्दान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्यांकन गर्न संघीय संसदमा संसदीय समिति रहने प्रवन्ध गरेको छ।

·       यति विस्तारित र जनताका आधारभूत सामाजिक सांस्कृतिक तथा आर्थिक अधिकारको प्रत्याभूति गरिएको संविधान अन्य देशमा पाइन्न।धारा (२१) अपराध पीडितको हक, धारा (२४) छुवाछूत तथा भेदभाव विरुद्धको हक, धारा (३०)स्वच्छ वातावरणको हक, धारा (३२) भाषा तथा संस्कृतिको हक, धारा (३३) रोजगारीको हक, धारा (३६) खाद्य हक (३७) आवासको हक, धारा(३८) महिलाको हक, धारा (३९) बालबालिकाको हक, धारा(४०) दलितको हक,धारा (४१) ज्येष्ठ नागरिकको हक, धारा (४२) सामाजिक न्यायको हक, र धारा (४४) उपभोक्ताको हक जस्ता नागरिकका अधिकारहरू अरु देशमा आवश्यकता अनुसार कानुन बनाएर वा कार्यकारी आदेश मार्फत कार्यान्वयन गरेको पाइन्छ।

.  अन्तर्राष्ट्रिय प्रतिवद्धताको सन्दर्भमा हाम्रो विकास नीति

सन् २०३० सम्ममा विश्वलाई सन्तुलित, न्यायपूर्ण, साझेदारीयुक्त, समावेशी र दिगो विकासको लागि तत्पर बनाउने लक्ष्य सहित जारी दिगो विकास लक्ष्यका हामी पनि साझेदार हौँ।यसका ५ स्तम्भहरू छन्, (१)पृथ्वी (२)मानव (३)समृद्धि (४)शान्ति र (५)साझेदारी।दिगो विकास लक्ष्यका १७ मध्ये  समुन्द्री जीवनसँग सम्बन्धित बुँदा (१४) बाहेक सबै हामीसँग प्रत्यक्ष सम्बन्धित छ।यी लक्ष्यहरु निम्नानुसारका छन्

(१)         सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने

(२)        भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने र दिगो कृषिको प्रवर्द्धन गर्ने

(३)        सबै उमेर समुहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवर्द्धन गर्ने

(४)        सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र समृद्ध जीवन प्रवर्द्धन गर्ने

(५)        लैङ्गिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउने

(६)        सबैका लागि स्वच्छ पानी र सरसफाईको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने

(७)        सबैका लागि किफायती, विश्वसनीय, दिगो, र आधुनिक उर्जामा पहुँच सुनिश्चित गर्ने

(८)        भरपर्दो, समाबेशी र दिगो आर्थिकवृद्धिकालागि पूर्ण र उत्पादनमूलक रोजगारी र मर्यादित कामको प्रवर्द्धन गर्ने

(९)        उत्थानशील पुर्वाधारको निर्माण, समावेशी र दिगो औद्योगीकरणको प्रवर्द्धन र नवीन खोजलाई प्रोत्साहन गर्ने

(१०)       मुलुक भित्र तथा मुलुकहरूबीचको असमानता हटाउने

(११)       शहर तथा मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने

(१२)       दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने

(१३)       जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल थाल्ने

(१४)       दिगो विकासका लागि महासागर, समुन्द्र र समुन्द्री साधन स्रोतहरूको दिगो प्रयोग तथा संरक्षण गर्ने

(१५)      स्थलीय पर्यावरणको संरक्षण, पुनर्स्थापना र दिगो उपयोगको प्रवर्द्धन गर्ने, वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमिकरण र भुक्षय रोक्ने तथा जैविक विविधताको संरक्षण गर्ने

(१६)      दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्द्धन गर्ने, सबैको न्यायमा पहुँच सुनिश्चित गर्ने र सबै तहमा प्रभावकारी,जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने

(१७)      दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गर्ने।

.  अन्तर्राष्ट्रिय अनुभवको सन्दर्भमा हाम्रो विकास नीति

सन् १९२१ मा रुसी क्रान्तिको सफलता पश्चात लेनिनद्वारा प्रस्तावित नयाँ आर्थिक नीति लागु गरिएको थियो।उक्त नीतिले राष्ट्रिय उद्योग र कृषिलाई स्वतन्त्रतापूर्वक सञ्चालन गर्न दिने भनिएको थियो।आधारभुत संरचना, केन्द्रीय बैंक र संवेदनशील तथा आम नागरिकलाई सहज उपलव्ध गराउनु पर्ने उत्पादन र सुबिधा बाहेकका सबै उद्यम व्यवसायलाई निजी क्षेत्रले सञ्चालन गर्न पाउने स्वतन्त्रता दिइएको थियो।चीनमा कृषकको समूह बनाएर आफ्नो उत्पादनको स्वतन्त्र ब्यापार गर्न दिने नीति पश्चात त्यहाँको कृषिले फडको मारेको हो।भियतनाम, लाओस लगायत ल्याटिन अमेरिकी देशको अनुभवले पनि यहि बताउँछ।कार्ल मार्क्सले पुँजीको निजीकरण र उत्पादन सम्बन्धको सामाजिकीकरणको सैद्धान्तिक ब्याख्या गर्नु भएको छ।पुँजीको यथेष्ट विकास नहोउन्जेल गरीबी बाँड्न सकिएला समृद्धि बाँड्न सकिन्न।पुँजीको अर्थात उद्यमशीलताको विकास व्यक्तिको सिर्जनशीलतामा आधारित हुन्छ।व्यक्तिले तबमात्र आफ्नो सिर्जनशीलताको उपयोग गर्नसक्छ जब उसले स्वतन्त्रतापूर्वक आफ्नो क्षमताको उपयोग गर्न पाउँछ।हामीले यतिबेला लिने नीतिले एकातिर पुँजीको विकासलाई प्रोत्साहित गर्नुपर्छ भने सँगसँगै पुँजी र श्रमिक दुबै बीचको सम्बन्धलाई सामाजिक न्यायमा आधारित बनाउँदै लग्नु पर्छ।पुँजी र उत्पादक शक्ति, अर्थात सबै प्रकारका श्रमजीवी संगको सम्बन्धलाई समन्यायिक (Equity based) बनाउनु पर्छ।उत्पादक शक्तिको उत्पादनशील क्षमतालाई बढाएर उनीहरूको सौदावाजीको लागि अनुकूल अवस्था सिर्जना गर्नु पर्छ।यो मामिलामा प्रविधि बजार पहुँच सूचना जस्ता संरचनागत मामिलामा राज्यको भूमिका निर्णायक हुन्छ।हामी सरकारमा हुँदा त्यस अनुसारका योजना कार्यान्वयन गर्ने र नहुँदा तद अनुकूलको कुरा अधारभूत तह देखिनै उठाउने कुरामा शिपालु हुनु पर्छ।किनभने व्यवस्थापिकामा उठाइने हरेक सवाल पहिले जनस्तरबाट उठ्यो भनेमात्र त्यसले राजनीतिक वजन प्राप्त गर्छ।नत्र संसदमा जस्तोसुकै राम्रो कुरा उठाएता पनि त्यो अंकगणितीय फैसलाको मात्र विषय बन्ने खतरा हुन्छ।

 

 

.  विकासको प्राथमिक लक्ष्य, व्यक्ति

अहिले हामी दार्शनिक वैचारिक विश्वास, उदाहरणीय व्यवहार र सिर्जनात्मक आचरणको माध्यमले शुद्धिकरण सहित जनविश्वास हासिल गर्न प्रतिष्पर्धा गर्नुपर्ने चरणमा छौँ।हामीले संविधानको प्रगतिशील ब्याख्या गर्दै समाजवाद उन्मुख राष्ट्रको परिभाषा जनताको घरदैलोमा पुय्राउन बाँकी छ।त्यस अनुसारको चरणवद्ध कार्यक्रम लागु गर्न बाँकी छ।हाम्रो लक्ष्य हो नागरिक मर्यादा।मर्यादित नागरिकका लागि प्रगतिशील प्राप्तिको अन्तर्वस्तुलाई पाँच (५) बुँदामा उल्लेख गर्न सकिन्छ; (१) आर्थिकरुपले आत्मनिर्भर (२) बीचारका हिसाबले सचेत(३) ब्यवहारमा संगठित (४) जिम्मेवारीमा नेतृत्वदायी  (५)सामाजिक ग्राह्यतामा मर्यादित

.  आर्थिक सामाजिक रुपान्तरणका लागि समृद्धि

यो आर्थिक मात्र होइन, अर्थ राजनीतिको सवाल हो जसलाई टुक्र्याउन सकिन्न।हाम्रा विकास योजनाले पहिलो प्राथमिकतामा कुन वर्गलाई राख्छ भन्ने कुरा केन्द्रिय महत्वको राजनीतिक सवाल हो। जातीय छुवाछूत लगायत सबै प्रकारका विभेदको अन्तर्यमा आर्थिक शोषणको अभिप्राय लुकेको हुन्छ।संस्कार, राजनीति, प्रशासनिक तौरतरिका, सेना प्रहरी जेल आदि सबैमा यो कुरा संस्कारको रुपमा देखिन्छ।राज्यले अवसरको घोषणा गर्नुमात्र पर्याप्त हुँदैन। मुख्य कुरा अवसरमा पहुँचको कुरा हो।पहुँचका लागि क्षमता विस्तारको अवसरमा पछि परेकाहरूले पाउनु पर्ने प्राथमिकताको सवाल हो।यस्तो प्राथमिकता सडक देखि विद्युत सञ्चार सम्म र पाठ्यक्रम देखि नेतृत्व विकास सम्म सम्पूर्ण सामाजिक आर्थिक र संस्कारजन्य मामिलामा देखिनु पर्छ। राजनीति वर्गीय हुने हुँदा आर्थिक सामाजिक सांस्कृतिक कारणले पछाडी पारिएकाहरुले पहिलो प्राथमिकता पाउने गरी समृद्धिको योजनाको पहिचान गर्नु, त्यसको पक्षमा जनमत सिर्जना गर्नु र समृद्धिको योजनाको प्रमुख लक्ष्य समन्यायमा आधारित अर्थ राजनीति (Equity based political economy) का लागि सामाजिक रुपान्तरण हुनु पर्छ भन्ने कुरामा प्रतिवद्ध जनमत सिर्जना गर्नु अहिलेको प्रमुख राजनीतिक कार्यभार हो।

.  विकासको सामग्रिक सोँच

कोशी प्रदेशको पहिलो आवधिक योजना निर्माण गर्दा विकासका बिभिन्न क्षेत्रलाई सामग्रिक रूपमा परिभाषित गरिएको थियो। जस्तैः

उत्पादनको परिभाषा, उत्पादन – प्रशोधन – भण्डारण – बजारीकरण र ब्रान्डिङ्ग। (ब्रान्डिङ्ग, भौगोलिक लगायत)।

जलश्रोत विकासको प्राथमिकीकरण, खानेपानी – सिँचाई – पर्यावरण – स्थानीय सहभागिता र जलबिद्युत।

स्वास्थ्य, प्रतिकारात्मक र निरोधात्मक – शुद्ध पिउने पानी – सरसफाई र पोषण।

आर्थिक उपलब्धीको मापन, पाल्मा इन्डेक्स (तल्लो ४० र माथिल्लो १० का नागरिक बीचको आयस्तर)।र जिनी को एफिसिएन्ट (आम्दानीको आधारमा जनताबीचको फरक मापन)।

.१० कोशी प्रदेशको पहिलो आवधिक योजना (२०७६/७७ – २०८०/८१) को मूल नारा,

स्वच्छ – सुखी – समुन्नत प्रदेशको दीर्घकालीन सोचका आधारलाई निम्नानुसार ४/४ उपशिर्षकमा विभाजित गरी कूल १२ शीर्षकमा परिभाषित गरियोः

स्वच्छ; (१) स्वस्थ र सन्तुलित पर्यावरण (२)आधारभुत सरसफाइ (३)नविकरणीय उर्जा र (४) जैविक कृषि।

सुखी; (१) परिष्कृत तथा मर्यादित जीवन (२) सभ्य र न्यायपूर्ण समाज (३)सुशासन र (४) बढ्दो जीवनस्तर।

समुन्नत; (१) उच्च र समतामूलक आय (२) मानवपूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग (३) सर्वसुलभ तथा आधुनिक  पुर्वाधार एवम् सघन अन्तर आवद्धता र (४) उच्च र दिगो उत्पादन तथा उत्पादकत्व।

.११  आत्म मूल्याङ्कन

o   प्रदेश योजना आयोगले गर्नुपर्ने आधारभूत तह देखिको परामर्श गर्ने समय पाएन।

o   तथ्याङ्कहरू उपलब्ध थिएनन्।

o   योजनाको प्राथमिकीकरण जनताको माग भन्दा जनप्रतिनिधीहरूको छनौटमा आधारित भएर वजेट बिन्यास गर्नुपर्ने अवस्थामा सरकार रह्यो।

o   योजनाको लागि दवाब दिनेले सामग्रिक विकास भन्दा टोल विशेष र आफ्नो प्रभावलाई विस्तार गर्ने मनसायका साथ गरे।

o   जनसहभागिता, जनताको योगदान, जनताको छनौट र जनताको अनुगमन प्रणाली पहिलेदेखि ध्वस्त पारिएको अवस्था रह्यो।

o   संघीय सरकारको केद्रिकृत मानसिकता, योजनाको दोहोरोपन, केन्द्रिय कानुनको अभावले रिक्तता र मानवीय लगायत सबै प्रकारका साधन श्रोतको नितान्त कमि रह्यो।

o   कोविडको दुष्प्रभावले सीमित श्रोत पनि आकस्मिक स्वास्थ्य क्षेत्रमा बिन्यास गर्नु पय्रो।

.१२  कुनैपनि योजनाको प्रस्तावमा रहनुपर्ने प्रश्न

o   योजनाले कति अवसर, आम्दानी र मर्यादा अभिबृद्धि गर्छ?

o   योजनाले कस्तो नयाँ सिर्जनशीलता र सहभागिताको नजीर निर्माण गर्छ?

o   योजनाले सामुहिक स्वामित्वको भावनाको विकास गर्छ कि गर्दैन?

o   आर्थिक सामाजिक सांस्कृतिक बिभेदलाई योजनाको निर्माण सञ्चालन र लाभको वितरणको सन्दर्भमा सन्तुलनमा ल्याउन मद्दत गर्छ कि गर्दैन?

o   र, योजना छनौट देखि कार्यान्वयनको चरणमा उल्लिखित चार(४) कुरामा जनचेतनाको विकास गरिन्छ कि गरिन्न?

Thursday, September 28, 2023

कथा : रम्नीमा सुबोधराज प्याकुरेल

 हामी रेष्टुराँको टेबुलमा आमने सामने बसेका थियौँ। उसले भनि ‘ म मोटाएकी छैन त?’।मैले भनेँ, ‘कहाँको मोटाउनु म त दुब्लाएकी देख्छु?’ उ उन्मुक्त हाँसी, वरपर सबैले सुन्नेगरी।र थपि, ‘म सँधै यस्तै त हुँ।‘ हाम्रो भेट चार बर्ष पछि एकाएक बाटोमा भएको थियो। म एक तमासले बिस्तारै मोटर चलाउँदै थिएँ।झलक्क देखेँ, परबाट एउटी नारी आउँदै गरेकी।पातलो ज्यान,हावाले उडाइ रहेको रेशमी पछ्यौरी।संयोग, उनको बिपरित दिशामा म जाँदै थिएँ।मैले घ्याच्च ब्रेक लगाउँदा उ आत्तिएकी थिइ।मैले अगाडी सिटको सिसा झारेर सोधेँ, ‘कता?।‘ ‘आम्मै कसरी देख्यौ मिस्टर बिजी मलाई?’ उही ढाँचामा उसको प्रश्न तेर्सीयो।मैले भनेँ, खुरुक्क गाडी चढ अनि बताउँला। ‘अनि, म कता जान हिँडेको मान्छेलाई कता लग्दै छौ उल्टो बाटो?’ मैले सम्झिएँ, ‘अनि उसले धेरै प्रयोग गर्ने शब्द हो। ‘तिमीलाई मनपर्ने ननभेज खान जाने, हुन्न?’ फेरी उन्मुक्त हाँस्दै उसले भनी, ‘ हुन्छ जाउँ।‘ चार बर्षमा पनि जस्ताको तस्तै तर अलिक पातली भै छौ हो? ‘होइन, म कहिलेकी बल्लीई हुँ र? अहिले त बरु अलिक मोटाएकी पो।‘ ‘अनि तिम्रो खबर बताउ त,सप्पै कुरा भन्नु, हाम्रो भेट टुटेको चार बर्षमा के प्रगति गय्रौ? छोराछोरी के गर्दै छन्? तिमी के गर्दै छौ? लौ लहरै बताउ त।आज पेट भरी कुरा गर्नु पर्छ ल?’ हस्, मैले बेलिबिस्तार लगाएँ।छोराछोरीको खबर, जहानको खबर, मेरो शहर बाहिर जानु र फर्किनुको खबर।सबै खबरमा सन्तोष लिन सकिने कुराहरू थिए। तर मेरो लय र स्वरलाई आफ्नो स्वास प्रस्वासमा तानी रहेकी रम्नीमाले आँखी भौँ तन्काएर म तिर हेरी र भनी, ‘ सुन मिस्टर बिजी, चित्त बुझाउन सिक। म बुझी रहेकी छुँ, तिमी सन्तुष्ट छैनौँ, हो कि होइन?’ ‘बोक्सी रम्नीमा, तिमीलाई कसले सक्ने? मेरो मनको ढुकुटीको ताल्चा खोल्न मात्र हो र फोड्न समेत पारंगत छ्यौ तिमी।‘ मैले हार्नु अवश्यम्भावि थियो। मेरो पेशा परिवर्तन, व्यवसायिक यात्रा, साझेदारबाट भएको धोखा र हुर्किएका सन्तानहरूलाई भन्न पनि नसक्ने र चित्त बुझाउन पनि नसक्ने मानसिक तनावको अवस्था आदिको बारेमा सविस्तार बताएँ मैले।मन हलुको भएको अनुभूति भयो। ‘अनि, हल्का भयौ मिस्टर बिजी?’ उ फेरि खितखिताएर हाँसी।मलाई आफ्नै जीवन र दिनचर्या चित्त बुझिरहेको छैन।त्यो पक्का हो।तर यी बोक्सी, कसरी मेरो मन मष्तिस्क सबै पढछे कुन्नी भन्ठान्दै थिएँ उसले थपी, ‘ जसरी म्यामले सबैसँग रमाइदिन जान्नु भएको छ नि हो.. त्यसैगरी तिमी पनि एडजस्ट गर्न सिक, बुझ्यौ? कमायौ हुर्कायौ सबैलाई समर्थवान बनायौ र अहिले थाहा भयो कि तिमीसंग आफ्नो मात्र त केही पनि बाँकी रहेनछ।सबै कि जिम्मा लगायौ कि सिध्यायौ।अब न कमाउने उमेर छ न अवसर छ न हात थाप्ने आँट छ। अनि, हो कि होइन मिस्टर बिजी?’ मैले भनेँ ‘हो ठ्याक्कै कुरा त्यही हो। तर यति सटिक अन्दाज गय्रौ कसरी?’ उसले भनी, ‘यो त घर घरको कथा हो।मेरा सन्तान तिनैजना बिदेश गए।उतै भासिए।छोरा छोरी खासमा आमाका मात्र हुँदा रहेछन। बाउ संग त अन्तरंग कुरै हुँदो रहेनछ। नाति नातिना उतैका भए।दुई पटक हामी पनि छोराछोरीका देश गयौँ र कसम खाएर फर्कियौँ, लौ सकेसम्म नजाने।मैले अरुले जस्तो नाति नातिनाको सुत्केरी स्याहार्न परेन। छोरा छोरीले म संग अन्तरंग कुरा गर्छन। बेला बेलामा पैसा पनि पठाउँछन।हाम्रो त्यही सानो दुई तले घर छ।तल्लो तला भाडामा लगाउँछु। मेरो पेन्सन आउँछ, बाइस हजार। बुझ्यौ? उहाँको आउँदैन।प्राइभेटमा काम गरेको नि त।त्यसैले मैले घरको भाडा उठाउने र आफ्नै खल्तीमा राख्ने काम श्रीमानजीलाई दिएकी छुँ। अनि बुझ्यौ?’ मैले भनेँ, ‘मेरो भाडा लगाउने कुनै कुरा छैन, तिमीलाई थाहा छ पेन्सन आउने काम गरिएन।दुइटा नियमित आम्दानी छ मेरो। एउटा बाह्र लाखको मुद्दती खाता छ जसले महिनाको एघाह्र हजार ब्याज दिन्छ।अर्को ज्येष्ठ नागरिक भत्ता महिनाको चार हजार।नागरिक भत्ताको रकम यता उता दान चन्दा दिएर सक्काउँछु।खासमा त्यतिले पनि पुग्दैन।कमाएको बेलामा गरेको सर सहयोगले गर्दा धेरैले आश गर्दा रहेछन्।‘

यति लामो चर्चा गरुन्जेल मैले सकेसम्म कम ट्राफिक हुने बाटोमा गाडी घुमाई रहेँ।मलाई आजको समय कहिल्ये नसक्कीयोस जस्तो लागि रहेको थियो। आखिरमा अति भयो जस्तो लाग्यो र एउटा शान्त ठाउँको सफा रेष्टुराँमा गाडी रोकेँ र हामी टेबुलमा पुग्यौँ।मैले मेनु उनको अगाडी सारि दिएँ। उसले सर्रर आँखा दौडाई र छानी, चिकेन ड्रम स्टिक, आलु साँधेको। ‘अनि, हुन्छ?’ उसको प्रश्नले झस्कायो मलाई। ‘कति मन परेको तिमीलाई सँधैउही कुरा?’ मेरो टिप्पणी सुन्ना साथ उसले भनी, ‘ लौ जाउँ त पिज्जा खान।‘ मैले भनेँ, ‘तिम्रो रहर नै मेरो रहर।‘अब भैगो।आजलाई यहीँ ठिक छ।‘उसले भनी।

एकाएक हामी शान्त भयौँ।मैले उसलाई गहिरिएर हेरेँ।उसले अर्डर गरेको शित्तल लस्सी आइपुगेको थियो र उ स्वाद लिएर पिउँदै थिइ। अनुहार मलिन देखेँ।लगाएको नक्कली कुन्डल खुइलिएको।अनुहार मलिन मलिन।आँखा गाला चिउँडो घाँटी सबै तिर मेरा आँखा घुमी रहे।मनमनै गमेँ, रम्नीना दुब्लाई छ, कमजोर भई छ। ‘अनि, मेरो पीर लाग्यो?’ उसले ठूलो स्वरमा सोधी, म झस्किएँ। मेरो मनमा कुनै कुरा पनि नलुक्ने भयो। कसरी थाहा पायौ?भनेर मैले प्रश्न गरेँ। उसले भनी, ‘ म तिमीसँग सँधै नजिक हुन्छु।तिम्रो भाव म कल्पनामा पढ्छु। तिम्रो हाउभाउ मेरो वरिपरि हुन्छ।तिमीलाई पो वास्ता हुन्न।मलाई त एकएक थाहा हुन्छ, कसैलाई नसोधी थाहा पाउँछु म। मलाई मेरो भगवानले बताउनु हुन्छ।मलाई थाहा नहुने एउटा मात्र कुरा छ, कि तिमी कहाँ छौ।त्यो थाहा पाउन पाए क्या मज्जा हुन्थ्यो। तिमीलाई हजार पटक भनेँ, तिमी कतै जाँदा मलाई एक लाइन खबर गर्ने गर, स्वास्थ्य कस्तो के छ, बाबा महिनामा एक पटक मात्र भएपनि एउटा सन्देश मात्र भएपनि पठाउने गर।मान्यौ? अनि अहिले के को पीर? मलाई थाहा छ, भोलि देखि तिम्रो ढाँचा उही त हो।‘

हामी संगै हुर्क्यौँ बढ्यौँ र पढ्यौँ। मेरो बाल्यकाल र किशोर अवस्थामा मेरो पहिरन पढाई देखि खाजा पानी सम्म खासमा उसले जिम्मा लिएकी थिइ।म स्कुल नगएको दिन घरमै हेर्न आइपुग्थी।तर म, उ अनेकौँ दिन हाजीर हुन नआउँदा पनि वास्तै गर्दैन थिएँ।जब तंग्रिएर उ स्कुल आउँथी, म खुब रमाउँथेँ।तर उ ठुस्स पर्थी।जे भएता पनि सोध्न छोडदिन थिइ ‘ आउ खाजा खाउँ, पानी पियौ? बिहान के के खाएर आएको? होमवर्क गय्रौ? यो फोहर के गरी पाय्रौ लुगामा हँ? मलाई उ संगको संगतले अति पराश्रयी बनाएको हुनु पर्छ।कति तिखा आँखा, कति अन्वेषी नजर? मैले निर्धक्क संग भनेँ, ‘रम्नीमा मलाई अचेल तिम्रो साह्रै सम्झना आउँछ। र, खासमा तिमीले गरेको मेरो स्याहार सुसार र वास्ताको सम्झना उत्पात आउँछ।अनि तिमीले जस्तो वास्ता गर्ने कोही भएन, झन हुने छैन भन्ने कुराको त्रास पनि लाग्छ। अनि मनमनै गम्छु, तिमीलाई पनि वास्ता गर्नेहरू छन कि छैनन होला? सन्तान विदेशमा छन्।नातागोता इष्टमित्र संगको आवतजावतले मन भुलाउँछ भन्छन।तिमी के गर्दी हौ? कमजोर पो हुँदै गयौ कि? कुनै रोगब्याध छ कि? यस्तै यस्तै। ‘मिस्टर बिजी, मेरो जस्तै वास्ता परिवारका अरुको पनि गर।अनि, ठुस्किएर मनमै पाक्ने होइन मान्यवर, खुलस्त संग सरोकार प्रकट गर्ने गर।भन्न त भन्छन बैँस जाओस बानी नजाओस।तर आफ्नो सुरक्षाको लागि भएपनि अब बानि फेर।म थोडै तिमीलाई सम्हाल्न आउन सक्छु? अर्को जुनीमा चाहीँ पक्का आउँला ल?’ एकाएक मेरो हत्केलाको उल्टो पटि उसको हत्केला बिसाई। हाम्रा आँखा जुधे।दुबै जना मुस्कायौँ।त्यो मुस्कान यसरी मेरो मनमा सजियो कि त्यो क्षण धर्तिको अनुपम उपहार बनेर मेरो मात्र निष्कंटक निधि त्यो निमेष मेरो मुटुमै बसिरहेको छ। ति हातहरू छुट्टिन मानीरहेका थिएनन्।

जाउँ? मेरो प्रश्नमा उसले भनी, ‘ मलाई डिपार्टमेन्ट स्टोरमा छोडि देउ।‘ मैले भनेँ, ‘ म घर सम्म पुय्राइ दिन सक्छु।‘ एकाएक रम्नीमा उज्याली भई र मलाई लयालु स्वरमा भनी, ‘मिस्टर गम्भीर, जरुरत छैन। म रिसाएको बेलामा उसले मलाई पुकार्ने नाम हो मिस्टर गम्भीर। कमसेकम महिनामा एक पटक आफ्नो हाल खबर मलाई पठाइदिने गर। बस् त्यति भए पुग्छ। अनि, म के गर्छु थाहा छ? मैले कल्पनामा लिएको तिम्रो खोज खबरसंग तिमीले पठाएको समाचारलाई दाँज्छु।हुन्छ?’

यसरी हामी छुट्टियौँ।हाम्रो बीचको सम्बन्ध मेरो लागि धर्तिको पवित्रतम् सम्बन्ध हो।मेरो बारेमा अन्तरकुन्तर जान्ने बुझ्ने अध्यात्मिक शक्तिले लैस छे रम्नीमा। कुरै कुरामा उसले आज अर्को जुनीमा मलाई सम्हाल्न आउने वाचा गरेकी छ। यो जुनीमा हामी पवित्र प्रेमीको भुमिकामा रहन किन पाउँदैनौ? किन पुरुष र नारी बीचको प्रेमलाई हाम्रो समाजले ओछ्यानमा लगेर विद्रुप बनाइ दिन्छ? ओ रम्नीमा, तिम्रो यो साथी अब मिस्टर बिजी रहेन क्या। उसको फुर्सत बढेको छ र फुर्सत संगै छटपटी।

Subodh.Freenep@twitter.com                                                            ०८० असोज११बिराटनगर।

Subodh.Freenep@Gmail.Com