Thursday, September 28, 2023

कथा : रम्नीमा सुबोधराज प्याकुरेल

 हामी रेष्टुराँको टेबुलमा आमने सामने बसेका थियौँ। उसले भनि ‘ म मोटाएकी छैन त?’।मैले भनेँ, ‘कहाँको मोटाउनु म त दुब्लाएकी देख्छु?’ उ उन्मुक्त हाँसी, वरपर सबैले सुन्नेगरी।र थपि, ‘म सँधै यस्तै त हुँ।‘ हाम्रो भेट चार बर्ष पछि एकाएक बाटोमा भएको थियो। म एक तमासले बिस्तारै मोटर चलाउँदै थिएँ।झलक्क देखेँ, परबाट एउटी नारी आउँदै गरेकी।पातलो ज्यान,हावाले उडाइ रहेको रेशमी पछ्यौरी।संयोग, उनको बिपरित दिशामा म जाँदै थिएँ।मैले घ्याच्च ब्रेक लगाउँदा उ आत्तिएकी थिइ।मैले अगाडी सिटको सिसा झारेर सोधेँ, ‘कता?।‘ ‘आम्मै कसरी देख्यौ मिस्टर बिजी मलाई?’ उही ढाँचामा उसको प्रश्न तेर्सीयो।मैले भनेँ, खुरुक्क गाडी चढ अनि बताउँला। ‘अनि, म कता जान हिँडेको मान्छेलाई कता लग्दै छौ उल्टो बाटो?’ मैले सम्झिएँ, ‘अनि उसले धेरै प्रयोग गर्ने शब्द हो। ‘तिमीलाई मनपर्ने ननभेज खान जाने, हुन्न?’ फेरी उन्मुक्त हाँस्दै उसले भनी, ‘ हुन्छ जाउँ।‘ चार बर्षमा पनि जस्ताको तस्तै तर अलिक पातली भै छौ हो? ‘होइन, म कहिलेकी बल्लीई हुँ र? अहिले त बरु अलिक मोटाएकी पो।‘ ‘अनि तिम्रो खबर बताउ त,सप्पै कुरा भन्नु, हाम्रो भेट टुटेको चार बर्षमा के प्रगति गय्रौ? छोराछोरी के गर्दै छन्? तिमी के गर्दै छौ? लौ लहरै बताउ त।आज पेट भरी कुरा गर्नु पर्छ ल?’ हस्, मैले बेलिबिस्तार लगाएँ।छोराछोरीको खबर, जहानको खबर, मेरो शहर बाहिर जानु र फर्किनुको खबर।सबै खबरमा सन्तोष लिन सकिने कुराहरू थिए। तर मेरो लय र स्वरलाई आफ्नो स्वास प्रस्वासमा तानी रहेकी रम्नीमाले आँखी भौँ तन्काएर म तिर हेरी र भनी, ‘ सुन मिस्टर बिजी, चित्त बुझाउन सिक। म बुझी रहेकी छुँ, तिमी सन्तुष्ट छैनौँ, हो कि होइन?’ ‘बोक्सी रम्नीमा, तिमीलाई कसले सक्ने? मेरो मनको ढुकुटीको ताल्चा खोल्न मात्र हो र फोड्न समेत पारंगत छ्यौ तिमी।‘ मैले हार्नु अवश्यम्भावि थियो। मेरो पेशा परिवर्तन, व्यवसायिक यात्रा, साझेदारबाट भएको धोखा र हुर्किएका सन्तानहरूलाई भन्न पनि नसक्ने र चित्त बुझाउन पनि नसक्ने मानसिक तनावको अवस्था आदिको बारेमा सविस्तार बताएँ मैले।मन हलुको भएको अनुभूति भयो। ‘अनि, हल्का भयौ मिस्टर बिजी?’ उ फेरि खितखिताएर हाँसी।मलाई आफ्नै जीवन र दिनचर्या चित्त बुझिरहेको छैन।त्यो पक्का हो।तर यी बोक्सी, कसरी मेरो मन मष्तिस्क सबै पढछे कुन्नी भन्ठान्दै थिएँ उसले थपी, ‘ जसरी म्यामले सबैसँग रमाइदिन जान्नु भएको छ नि हो.. त्यसैगरी तिमी पनि एडजस्ट गर्न सिक, बुझ्यौ? कमायौ हुर्कायौ सबैलाई समर्थवान बनायौ र अहिले थाहा भयो कि तिमीसंग आफ्नो मात्र त केही पनि बाँकी रहेनछ।सबै कि जिम्मा लगायौ कि सिध्यायौ।अब न कमाउने उमेर छ न अवसर छ न हात थाप्ने आँट छ। अनि, हो कि होइन मिस्टर बिजी?’ मैले भनेँ ‘हो ठ्याक्कै कुरा त्यही हो। तर यति सटिक अन्दाज गय्रौ कसरी?’ उसले भनी, ‘यो त घर घरको कथा हो।मेरा सन्तान तिनैजना बिदेश गए।उतै भासिए।छोरा छोरी खासमा आमाका मात्र हुँदा रहेछन। बाउ संग त अन्तरंग कुरै हुँदो रहेनछ। नाति नातिना उतैका भए।दुई पटक हामी पनि छोराछोरीका देश गयौँ र कसम खाएर फर्कियौँ, लौ सकेसम्म नजाने।मैले अरुले जस्तो नाति नातिनाको सुत्केरी स्याहार्न परेन। छोरा छोरीले म संग अन्तरंग कुरा गर्छन। बेला बेलामा पैसा पनि पठाउँछन।हाम्रो त्यही सानो दुई तले घर छ।तल्लो तला भाडामा लगाउँछु। मेरो पेन्सन आउँछ, बाइस हजार। बुझ्यौ? उहाँको आउँदैन।प्राइभेटमा काम गरेको नि त।त्यसैले मैले घरको भाडा उठाउने र आफ्नै खल्तीमा राख्ने काम श्रीमानजीलाई दिएकी छुँ। अनि बुझ्यौ?’ मैले भनेँ, ‘मेरो भाडा लगाउने कुनै कुरा छैन, तिमीलाई थाहा छ पेन्सन आउने काम गरिएन।दुइटा नियमित आम्दानी छ मेरो। एउटा बाह्र लाखको मुद्दती खाता छ जसले महिनाको एघाह्र हजार ब्याज दिन्छ।अर्को ज्येष्ठ नागरिक भत्ता महिनाको चार हजार।नागरिक भत्ताको रकम यता उता दान चन्दा दिएर सक्काउँछु।खासमा त्यतिले पनि पुग्दैन।कमाएको बेलामा गरेको सर सहयोगले गर्दा धेरैले आश गर्दा रहेछन्।‘

यति लामो चर्चा गरुन्जेल मैले सकेसम्म कम ट्राफिक हुने बाटोमा गाडी घुमाई रहेँ।मलाई आजको समय कहिल्ये नसक्कीयोस जस्तो लागि रहेको थियो। आखिरमा अति भयो जस्तो लाग्यो र एउटा शान्त ठाउँको सफा रेष्टुराँमा गाडी रोकेँ र हामी टेबुलमा पुग्यौँ।मैले मेनु उनको अगाडी सारि दिएँ। उसले सर्रर आँखा दौडाई र छानी, चिकेन ड्रम स्टिक, आलु साँधेको। ‘अनि, हुन्छ?’ उसको प्रश्नले झस्कायो मलाई। ‘कति मन परेको तिमीलाई सँधैउही कुरा?’ मेरो टिप्पणी सुन्ना साथ उसले भनी, ‘ लौ जाउँ त पिज्जा खान।‘ मैले भनेँ, ‘तिम्रो रहर नै मेरो रहर।‘अब भैगो।आजलाई यहीँ ठिक छ।‘उसले भनी।

एकाएक हामी शान्त भयौँ।मैले उसलाई गहिरिएर हेरेँ।उसले अर्डर गरेको शित्तल लस्सी आइपुगेको थियो र उ स्वाद लिएर पिउँदै थिइ। अनुहार मलिन देखेँ।लगाएको नक्कली कुन्डल खुइलिएको।अनुहार मलिन मलिन।आँखा गाला चिउँडो घाँटी सबै तिर मेरा आँखा घुमी रहे।मनमनै गमेँ, रम्नीना दुब्लाई छ, कमजोर भई छ। ‘अनि, मेरो पीर लाग्यो?’ उसले ठूलो स्वरमा सोधी, म झस्किएँ। मेरो मनमा कुनै कुरा पनि नलुक्ने भयो। कसरी थाहा पायौ?भनेर मैले प्रश्न गरेँ। उसले भनी, ‘ म तिमीसँग सँधै नजिक हुन्छु।तिम्रो भाव म कल्पनामा पढ्छु। तिम्रो हाउभाउ मेरो वरिपरि हुन्छ।तिमीलाई पो वास्ता हुन्न।मलाई त एकएक थाहा हुन्छ, कसैलाई नसोधी थाहा पाउँछु म। मलाई मेरो भगवानले बताउनु हुन्छ।मलाई थाहा नहुने एउटा मात्र कुरा छ, कि तिमी कहाँ छौ।त्यो थाहा पाउन पाए क्या मज्जा हुन्थ्यो। तिमीलाई हजार पटक भनेँ, तिमी कतै जाँदा मलाई एक लाइन खबर गर्ने गर, स्वास्थ्य कस्तो के छ, बाबा महिनामा एक पटक मात्र भएपनि एउटा सन्देश मात्र भएपनि पठाउने गर।मान्यौ? अनि अहिले के को पीर? मलाई थाहा छ, भोलि देखि तिम्रो ढाँचा उही त हो।‘

हामी संगै हुर्क्यौँ बढ्यौँ र पढ्यौँ। मेरो बाल्यकाल र किशोर अवस्थामा मेरो पहिरन पढाई देखि खाजा पानी सम्म खासमा उसले जिम्मा लिएकी थिइ।म स्कुल नगएको दिन घरमै हेर्न आइपुग्थी।तर म, उ अनेकौँ दिन हाजीर हुन नआउँदा पनि वास्तै गर्दैन थिएँ।जब तंग्रिएर उ स्कुल आउँथी, म खुब रमाउँथेँ।तर उ ठुस्स पर्थी।जे भएता पनि सोध्न छोडदिन थिइ ‘ आउ खाजा खाउँ, पानी पियौ? बिहान के के खाएर आएको? होमवर्क गय्रौ? यो फोहर के गरी पाय्रौ लुगामा हँ? मलाई उ संगको संगतले अति पराश्रयी बनाएको हुनु पर्छ।कति तिखा आँखा, कति अन्वेषी नजर? मैले निर्धक्क संग भनेँ, ‘रम्नीमा मलाई अचेल तिम्रो साह्रै सम्झना आउँछ। र, खासमा तिमीले गरेको मेरो स्याहार सुसार र वास्ताको सम्झना उत्पात आउँछ।अनि तिमीले जस्तो वास्ता गर्ने कोही भएन, झन हुने छैन भन्ने कुराको त्रास पनि लाग्छ। अनि मनमनै गम्छु, तिमीलाई पनि वास्ता गर्नेहरू छन कि छैनन होला? सन्तान विदेशमा छन्।नातागोता इष्टमित्र संगको आवतजावतले मन भुलाउँछ भन्छन।तिमी के गर्दी हौ? कमजोर पो हुँदै गयौ कि? कुनै रोगब्याध छ कि? यस्तै यस्तै। ‘मिस्टर बिजी, मेरो जस्तै वास्ता परिवारका अरुको पनि गर।अनि, ठुस्किएर मनमै पाक्ने होइन मान्यवर, खुलस्त संग सरोकार प्रकट गर्ने गर।भन्न त भन्छन बैँस जाओस बानी नजाओस।तर आफ्नो सुरक्षाको लागि भएपनि अब बानि फेर।म थोडै तिमीलाई सम्हाल्न आउन सक्छु? अर्को जुनीमा चाहीँ पक्का आउँला ल?’ एकाएक मेरो हत्केलाको उल्टो पटि उसको हत्केला बिसाई। हाम्रा आँखा जुधे।दुबै जना मुस्कायौँ।त्यो मुस्कान यसरी मेरो मनमा सजियो कि त्यो क्षण धर्तिको अनुपम उपहार बनेर मेरो मात्र निष्कंटक निधि त्यो निमेष मेरो मुटुमै बसिरहेको छ। ति हातहरू छुट्टिन मानीरहेका थिएनन्।

जाउँ? मेरो प्रश्नमा उसले भनी, ‘ मलाई डिपार्टमेन्ट स्टोरमा छोडि देउ।‘ मैले भनेँ, ‘ म घर सम्म पुय्राइ दिन सक्छु।‘ एकाएक रम्नीमा उज्याली भई र मलाई लयालु स्वरमा भनी, ‘मिस्टर गम्भीर, जरुरत छैन। म रिसाएको बेलामा उसले मलाई पुकार्ने नाम हो मिस्टर गम्भीर। कमसेकम महिनामा एक पटक आफ्नो हाल खबर मलाई पठाइदिने गर। बस् त्यति भए पुग्छ। अनि, म के गर्छु थाहा छ? मैले कल्पनामा लिएको तिम्रो खोज खबरसंग तिमीले पठाएको समाचारलाई दाँज्छु।हुन्छ?’

यसरी हामी छुट्टियौँ।हाम्रो बीचको सम्बन्ध मेरो लागि धर्तिको पवित्रतम् सम्बन्ध हो।मेरो बारेमा अन्तरकुन्तर जान्ने बुझ्ने अध्यात्मिक शक्तिले लैस छे रम्नीमा। कुरै कुरामा उसले आज अर्को जुनीमा मलाई सम्हाल्न आउने वाचा गरेकी छ। यो जुनीमा हामी पवित्र प्रेमीको भुमिकामा रहन किन पाउँदैनौ? किन पुरुष र नारी बीचको प्रेमलाई हाम्रो समाजले ओछ्यानमा लगेर विद्रुप बनाइ दिन्छ? ओ रम्नीमा, तिम्रो यो साथी अब मिस्टर बिजी रहेन क्या। उसको फुर्सत बढेको छ र फुर्सत संगै छटपटी।

Subodh.Freenep@twitter.com                                                            ०८० असोज११बिराटनगर।

Subodh.Freenep@Gmail.Com

 

 

No comments:

Post a Comment