Wednesday, January 18, 2012

व्यवस्था कि प्रणाली?



Description: कमरेडलाई प्रस्न तिमीले नै भन्यौ एकदिन जनताको...


हरिमाया भेटवाल.
कमरेडलाई प्रश्न

तिमीले नै भन्यौ एकदिन
जनताको लागि कमान्डर हुनुपर्छ
आँसुको बदला बन्दुकले लिनुपर्छ
त्यतिबेला तिमीले नापेनौ मेरो नितम्ब छाती !!
चोट हेय्रौ शरिरको
अग्लाई हेर्यौ, रूप.....
मैले बन्दुक बोके कमरेड कै आदेशमा
लडें  युद्ध पनि कमरेड कै आदेशमा
आज तिमिनै मेरो छाती नाप्दैछौ
भन्दै छौ,
देशको लागि भयौ अयोग्य ...!!
मेरो प्रस्न तिमीलाई कामरेड.....
अझ धारिलो,तापिलो,रापिलो,बाफिलो भएको बेला
कसरि भएँ अयोग्य ???

माथिका हरफ पढेपछि मेरो मनमा उठेको प्रश्न के हो भने यस्ता कत्ति प्रकार र आवरणका प्रश्नको जवाफ एनेकपा माओवादीले कार्यकर्ता, जनतालाई दिनु बाँकि छ? जातीय विभेदको बिरुद्ध जातीय राज्य, कसरी बनाउने? निरंकुशताको बिरुद्ध प्रत्यक्ष निर्वाचित सरकार प्रमुख, कसरी सजाउने? लुटको बिरुद्ध वितरण, अर्काको सम्पत्ति उपर गरिएको कब्जा कसरी न्यायोचित ठहय्राउने? अमानवीयताको बिरुद्ध मानवता, जन अदालतको निर्णयले मारिएकाहरुको मानव अधिकार कहाँ खोज्ने? विलाशिताको बिरुद्ध सर्वहाराकरण, कुन नेताको घर व्यवहारमा देखिने? द्रुततर बिकाशको नारा, आफैले भत्काएका कुन संरचनामा भेटिने? विश्व बन्धुत्व, कुन समुहको लुटपाट र अत्याचारले प्रमाणित गर्ने? भेटिए जतिलाई बिश्वस्त पारेर वा जबरजस्ति सर्वहाराको दस्ता बनाइयो, तिनलाई पुस्तैनी सर्वहारा कसरी कायम राख्ने?
आजको युग सिद्धान्तले होइन व्यवहारले र व्यवहार वचनले होइन प्रक्रियाले स्थापित गर्न सक्नु पर्छ. एमाओवादीले सिद्धान्तको जलप नलागे बात बुझ्दैनन भने, लेनिनको एउटा लिखत छ- लम्पट सर्वहाराका बारेमा. कतै कामरेडहरु लम्पट सपना मा सजिएर राजा- शोषकको बैभव संग आहारिस लागेर त क्रान्तिकारी भएका थिएनन? थिएनन होला.
नेता भन्दा माथि पार्टी र पार्टी भन्दा माथि जनता हुन्छन अनि जनताको अभिमत तरल र परिवर्तनशील हुन्छ भन्ने कुरा बुझिदियुन आजका क्रान्तिकारीले. संसदीय भनौँ वा लोकतान्त्रिक यो व्यवस्था होइन प्रणाली हो भन्ने पनि बुझिदियुन सबै नेताले. भात लक्ष हो. भातको व्यवस्था गर्न चामल ढाँचाले उमाल्नु पर्छ. कसौंडीमा उमालौं, प्रेसर कुकरमा वा राइस कुकरमा. ति सब प्रणाली हुन. जनता झुक्याउने नेतालाई चेतना भया.

सुबोधराज प्याकुरेल.
बिराटनगर. हाल, इन्सेक.
Subodh.freenep@gmail.com


No comments:

Post a Comment