Tuesday, November 6, 2012

जटिल वर्तमान:



०५२ सालमा तत्कालिन प्रधानमन्त्री , एमालेका अध्यक्ष मनमोहन अधिकारीले रा.प्र.पा. लाई सरकारमा सामेल गर्न स्वीकार गर्नु भएको भए उहाँको अल्पमतको सरकार ढल्ने थिएन. तर उहाँले पूर्व पंचहरु संगको गठबन्धन स्वीकार्नु भएन. गिरिजाप्रसाद कोइरालाले संसदमा अविश्वासको प्रस्ताव पारित गराउनु भयो. मनमोहनको सरकार यस्तो बेलामा ढल्यो जतिबेला उहाँ अस्पतालमा मृत्यु शैयामा हुनुहुन्थ्यो. उहाँले राष्ट्रका नाममा आफ्नो सन्देशको एक पूर्ण वाक्य सम्म पाठ गर्न सक्नु भएन.हेलिकप्टर दुर्घटनामा परेर मेरुदण्ड भाँचिएका मनमोहन अशक्त भिष्म पितामह कुरुक्षेत्रको मैदानमा लडे जस्तो अस्पतालको ओछ्यानमा लडनु भएको थियो. उप-प्रधानमन्त्री माधव नेपालले उहाँको बाँकि सन्देशको अंश पाठ गरेका थिए. त्यतिबेला अहिलेका लोकतन्त्र, सदभाव, शान्ति र नैतिकता व्याख्याता हरु रामचन्द्र पौडेल, रामशरण महत, खुमबहादुर खड्का र स्वर्गिय गिरिजाप्रसाद कोइराला जस्ता हस्ती समेतले सत्ता नछोड्ने चालवाजी स्वरूप एमालेले प्रधानमन्त्रीको स्वास्थ्यको अड्को थापेको भन्दै सार्वजनिक अभियोग लगाएका थिए. एमालेले केहिदिन समय पर्खिन गरेको अनुरोधको जवाफमा त्यो प्रतिक्रिया आएको थियो. त्यसपछी एमालेले तुरुन्तै प्रधानमन्त्रीले राजिनामा गरेर सत्ताबाट बाहिरिने निर्णय गरे अनुसार त्यो वक्तब्य आएको थियो.
नेपालको राजनीति घृणित र निर्दयी चरित्रले भरिपूर्ण छ.यो निर्दयीताको पराकाष्ठा भौतिक कारवाहीको नाममा माओवादीले यत्र तत्र देखायो. भर्खर छोरा पाएकी सुत्केरी पत्नी भेट्न बिदामा घर गएको निहत्था सेनालाइ सुत्केरीकै अगाडी मारेर ति विधवालाई नै खाना  पकाउन लगाएर भात डकार्दै हिंड्यो. एउटा तन्नेरेको सामुन्ने अर्को लाइ गिड्यो. अनि अलिक पर्तिर लगेर सामुन्नेको हत्या देखेर गलेको त्यस तन्नेरीलाई खाल्डो खन्न लगायो. खाल्डोमा पस्न भन्यो. उसलाई कुम सम्म पुय्रो. र लात्तै लातले घुमी घुमी हिर्काएर उसको हत्या गरियो. त्यहाँ कागजमा सन्देश लेखेर छोडियो, माओवादीको बिरोध गर्नेको दशा यस्तै हुन्छ. आराले चिरेर, बर्माले छेडेर, १७ दिन सम्म घाँटीमा डोरीले बाँधेर गाउँ गाउँ घिसार्दै मानिसहरुलाई मारियो. कसैलाई पत्नीको अगाडी रुद्रघण्टी सेरेर पत्नीको मुखभरी पर्ने गरी रगतका सिर्का छर्दै मारियो. शंकटकालको बेलामा सुरक्षा फौज़ले बिजुलीको हिटरमा पिसाब फेर्न लगाएर, गर्भवतीको पेटमा लात्तीले हानेर, भुँडी फोडेर मान्छे माय्रो. नेपाल कोतपर्व र राजा-भारदार कालमा मात्र होइन त्यसयता पनि क्रूरता र पाखण्डमा आधारित राजनीतिको प्रतिनिधी देश हो. बुद्धत्व मात्र होइन निर्दयी हिंसाग्रस्त भूभाग को अंग हो. युरोप र अमेरिकाको निर्माणकाल पनि कम दुर्दान्त छैन. तर उनीहरुले बिगत बाट पाठ सिके. व्यवहार सच्याए. कानूनको शासनलाई सामाजिक संस्कारमा स्थापित गरे. र, बिकाशको बाटो समाए.हामी भने अमेरिका भन्दा पुरानो राष्ट्र एकीकरणको इतिहासलाई लत्याएर उल्टो यात्रामा लाग्यौं. राणाकाल भन्दा क्रुर र निर्दयी व्यवहार पञ्चायतकालमा भयो. अरुण नदीमा फालेर, निहत्था लाइ घेरा हालेर, भारतमा घुसपैठिया पठाएर पनि विरोधीलाई मारियो. कानून भन्दा माथि व्यक्ति हुने दण्डमुक्त निरंकुशताको बिरोधमा ३० बर्षको अनवरत संघर्ष पछि आएको बहुदलकालमा गीत गाउने हरु पनि प्रहरीको गोलीको सिकार भए. मदन भण्डारीको मृत्युको न्यायीक छानबिनको माग गर्दै आन्दोलन गर्ने हरु २०  जना गिरिजा प्रसादको सरकार द्वारा मारिए.
माओवादी सुल्टो यात्रा र सुविचारित चिन्तनका साथ आएकै थिएन. त्यसैले उसले इतिहासका तमाम नकारात्मक शैली र पात्रलाई बिभत्स रुपमा एकाकार गय्रो र ध्वंसात्मक ज्वालामुखीको निर्माण गय्रो. पेरुको एण्डीपर्वत, त्यसका नेता गोन्जालो र उनको जनयुद्धलाई पथ प्रदर्शक मान्दै गोन्जालो पथको रुपमा प्रचण्डपथ कायम गरेका नेपालका माओवादी अहिले आफुले गरेका ध्वंस र त्यस बाट निरन्तर उत्पादन भैरहेको अनेकन प्रकारको सामाजिक, आर्थिक र  राजनीतिक भ्रष्टीकरण लाइ कसरी मुल्यांकन गरी रहेका होलान कुन्नि. जनता माथिको यत्रो अत्याचार, राष्ट्र विकाश को सिंगो युगको बिनास प्रति उनीहरुमा रत्तिभर पश्चाताप भएको नदेख्दा यस्तो लाग्छ कि यो देश अर्को संहारक युगको संघारमा उभिएको छ. यत्र तत्र सर्वत्र भ्रष्टाचार हावी छ. सत्ताको आडमा, राजनीतिको खोल भित्र हाकाहाकी तानाशाही छ. हिजो अरुलाई लुट्न लगाउनेहरु अहिले खुलेआम आफै लुट-खसोटमा लिप्त छन. जनता निर्भाव, निरास  तमासे बने जस्तो अवस्था बिद्यमान छ.यस्तै अवस्थालाई प्रलयको तत्परावस्था भनिन्छ. निराशाको पराकाष्ठाले मानव बिद्रोह निम्त्याउँछ. यस्तो बिद्रोहको फिलिंगो चाहिं पतन उन्मुख शासकहरुको आन्तरिक कलह बाटै जन्मने गर्छ. हामी नेपालीले अर्को नारायणहिटी नरसंहार र दासढुंगा भोग्न नपरोस.
समकालीन नेपाली राजनीतिको घडीको सुइ जता फर्काए पनि त्यसले माओवादी र त्यसका नेता पुष्पकमल दाहाल तिरै इंगित गर्छ. जितेको भए उनि महाभारतका कृष्ण हुने थिए. युगौंयुगका अभिप्रेरक बन्ने थिए. तर शकुनी पासाको बिज्ञ हुन सक्छन, धर्म र पुरुषार्थ उनको अभिप्रायमा थिएन. न त शकुनिमा त्यस्तो क्षमता नै थियो. ज्ञान बाड्न सकिन्छ. तर विवेक आफैमा उत्पन्न गरिने चरित्र हो जसका लागि आत्मिक शुद्धिकरण चाहिन्छ. पुष्पकमल दाहालमा शकुनिको चाल त देखिन्छ तर नैतिक निष्ठा देखिन्न. कुटनीति, कार्यनीति र रणनीति लाई गन्जागोल पारेर अरुलाई अल्मल्याउने कुरामा उनि पारङ्गत छन. तर लक्षभेदि एकाग्रता, वचनबद्धता  र सैद्धान्तिक स्पष्टता उनमा भेटिन्न. जस करनी – तस् भरनी. हिजो जसलाई माओवादीले लुट्न सिकायो, लुटेरा बनायो तिनले दामासाही माग्ने मौसम सुरु भएको छ. मधेसी दलहरु माओवादीले हुर्काएको गन्जागोलको बोटमा ऐंजेरु बनेर लिप्सिएका छन. जनता एक एकको हिसाब राखेर बसेको छ. प्रलय नै ल्याउँला जस्तो गरी कोरिएका विभाजनकारी उन्माद लाइ जनताले चिन्न थालेका छन. विभाजनका तुवांला फाट्दै छन. बल्ल फोहरिहरु बेनकाब हुने दिन नजिकिदै छ.
सायद परिवर्तनको संग्लो आँधी चली सक्ने थियो. बिकल्प दुरुस्त दावीका साथ प्रकट नभएकोले मात्र ढिला भएको हो. अब नेपालको राजनीति पार्टी भन्दा व्यक्तित्व केन्द्रीत भएर चलायमान हुन खोज्दै छ. यो नया परिवेश खतरनाक पनि हुन सक्छ. प्रत्युत्पादक  हुन सक्छ. राजनीति नगरिकनै राजनीतिज्ञ बन्न चाहने हरुको प्रपंच र लालसाको शिकार भएको खण्डमा भोलिको राजनीति झनै विद्रूप बन्न सक्छ. अर्को खतरनाक तत्वपनि सल्बलाएको छ. जे सुकै नाम दिए पनि बिभाजनको प्रष्ट रेखा कोर्ने राजनीतिले अर्को हिंसाको चक्र निम्त्याउने खतरा बिद्यमान छ. राजनीति भनेको बैचारिक एकता र भिन्नताको सम्मान गर्ने सिद्धान्त हो. उहिले शास्त्रस्थ्र हुनेगर्थ्यो. जित्ने र हार्ने दुबैले एक अर्काको सम्मान गर्थे. तर बिभाजनको एजेन्डामा घृणा मात्र हुन्छ. र, घृणाको पराकाष्ठा हिंसामा प्रष्फुटित हुन्छ.
यस्तो बेलामा पाका पार्टीहरु के गर्दै छन? उनीहरु बिचरा भएका छन. पुष्पकमल दाहालले के भन्लान र बल्ल आफ्नो प्रतिकार ओकलौंला भनेर पर्खी बस्छन. गाउँले भाकामा भन्नु पर्दा उनीहरु बोल्दैनन, खोक्छन. प्रतिकात्मक परिचय दिनुपर्दा नेपालका पार्टी र राज्य नेपालका मन्त्रालय र हवाई अड्डा जस्ता छन. नेपाली कांग्रेस शिक्षा मन्त्रालय जस्तो छ; भद्दा,प्रभावहीन र असामयिक. एमाले परराष्ट्र मन्त्रालय जस्तो छ; अन्यमनस्क, जता मल्खु उता बल्खु. माओवादी अर्थ मन्त्रालय, राजश्व बिभाग जस्तो छ; जता बाट भएपनि अर्थोपार्जनमा लम्पट. सिंगो राज्य त्रिभुवन अन्तर्राष्ट्रीय बिमानस्थल जस्तो छ; सर्वत्र लथालिंग, पुरै अराजक. अनि राष्ट्रपति कार्यालय त्यहि विमानस्थलको उड्डयन नियन्त्रण कक्ष जस्तो देखिन्छ. जेन तेन उडान व्यवस्थापन गर्दै छ. तर कहिले कुन जोखिमले पड्कने हो थाहा छैन.

No comments:

Post a Comment