मानवअधिकार बर्ष पुस्तक : जनता संगको संवाद:
नागरिकहरुले
स्वतन्त्रता, न्याय र शान्तिको अनुभूति गर्न पाएनन भने मानवअधिकार धरापमा पय्रो
भन्ने बुझ्नु पर्छ. प्रत्येक व्यक्तिमा अन्तरनिहित सम्मान छ जो उसले जन्मदै लिएर
आएको हुन्छ. प्रत्येकको सम्मान अर्थात् पहिचान र इज्जत समान र अविभाज्य अधिकार हुन
भनेर पछिल्लो पटक संयुक्त राष्ट्र संघले आर्थिक, सामाजिक, संस्कृतिक अधिकार
सम्बन्धी अतिरिक्त प्रलेख जारी गर्दा पनि दोह्य्राएको छ. स्वतन्त्र नागरिकले मात्र
आफ्नो राय प्रभावशाली ढंगले राख्न सक्छ र आफ्ना कौशलको सृजनात्मक ढंगले उपयोग गरेर
समाजलाई सघाउन पनि सक्छ. हामी चाहन्छौँ कि सभ्य मुलुकको दर्जामा हाम्रो पनि गणना
होस. आफ्नो जमात र समुदाय बाहेक अरुलाई वस्तु सरह मात्र ठान्ने र अर्काको मान
मर्दन गर्न फौजी र प्रशासनिक लगायत सबै प्रकारका संरचनाको दुरुपयोग हाकाहाकी गर्ने
प्रवृति लाई १९३० को दशकमा तत्कालिन सोभियत राज्यका नेता ट्राटस्कीले सामाजिक
फासीवादको रुपमा परिभाषित गरेका थिए. यहि प्रवृतिको व्यवहार सीमा पारिका देश संग गरियो भने त्यसलाई
उपनिवेशवाद वा साम्राज्यवाद भन्न सकिन्छ. संस्कार, सभ्यता, अनुशासन, परिवार, समाज
वा मानवता जे भनौँ यिनले हामीलाई आफु, आफ्नो समाज र राष्ट्र प्रति जवाफदेही
बनाइरहेको हुन्छ. जवाफदेहिताको यो अनुभूति मानवअधिकारका सिद्धान्तका आधारमा
व्यवहारमा देख्न पाइयोस भन्ने आम नागरिकको चाहना स्पष्ट रुपमा स्थापित छ.
मानवअधिकारकर्मीहरुको कृयाशिल पंक्तिको एक सदस्यका नाताले हामीले देशको समग्र
परिश्थिती र व्यवहारलाई मानवअधिकारका सिद्धान्त र त्यसप्रतिको हाम्रो देशको वचनवद्धतालाई
समेत ख्याल गरेर अभिलेख र बिश्लेषण गर्न थालेको २१ बर्ष पुरा भयो. नेपालको शान्ति
प्रकृयाका हरेक दस्तावेजमा अनेक ठाउँमा मानवअधिकारको सम्मान र दण्डहीनताको सम्बोधन
गरिने कुराको वाचा गरिएको छ. अहिले अन्तर्राष्ट्रीय मानवअधिकारवादी संस्थाहरु र
संयुक्त राष्ट्र संघीय प्रतिवेदनहरुले नेपालमा मानवअधिकार प्रतिको जवाफदेहीतालाई
बेवास्ता गर्ने, न्यायिक प्रकृयालाई अपहेलना गर्ने र दण्डहीनतालाई हाकाहाकी
संरक्षण गर्ने प्रवृति जबर्जस्त रुपमा स्थापित छ भनेर दर्शाएका छन. आजको युग
अन्तर्राष्ट्रीय न्यायिक प्रणालीको युग हो. हामी
अविकशित र संवेदनशील अवस्थामा
रहेको राष्ट्र हौँ. हामीले विश्वब्यापी मान्यताका आदर्शहरुको परिपालना गर्ने कुरा
आफ्नो इज्जत, पहिचान र प्रभाव लाइ अगाडी बढाउने बिषय संग प्रत्यक्ष गाँसिएको छ.
आफ्ना जनताका अधिकार, सामर्थ्य र पहिचानका मामिलामा हामीले गरेका वाचाहरूको
प्रगतिशील ब्याख्या गर्न सक्दा मात्र हाम्रो इज्जत बढ्छ. आफ्नै जनतालाई गाली गरेर,
एक अर्काको हुर्मत लिन खोजेर कसैको इज्जत बढ्दैन. समानताको व्यवहार र समस्याहरुको
दीर्घकालीन समाधान; यी दुई कुरा नेपालीले
खोजेका छन. कुल जनसंख्यामा ४० प्रतिशत तन्नेरीहरु रहेको यो मुलुक आजको नौलो ज्ञान,
बुद्धि र बिवेकद्वारा प्रभावित छ. सिद्धान्त रटेर केहि हुने वाला छैन. खान र
उन्नति गर्न दिने योजना चाहिएको छ. त्यसमाथि झन्डै २० प्रतिशत नागरिकलाई अप्ठ्यारो
परिस्थितिमा काम गर्न बैदेशिक रोजगारीमा पठाउने राष्ट्रका राजनीतिज्ञहरुले बुझ्नै
पर्ने हुन्छ कि बिदेशमा पसीना बगाउन बाध्य भएकाहरुको आक्रोश अबको दिनमा आफ्नो
हैकमको रक्षा गर्न नेपालीको भविष्य बिगार्नेहरुले भोग्नु पर्ने छ. हेक्का राखनु
पर्छ कि संसार भरिबाट नेपालीहरु एक आर्कासंग निरन्तर संवादमा छन र झन्डै एक तिहाइ
जनता इन्टरनेटको सञ्जाल संग गाँसिन तम्तयार छन. आधा भन्दा बढि जनसंख्या दुरसंचारले
एक आर्का संग गाँसिएका छन. र, यो संख्या निरन्तर बढ्दो छ.
यसबर्षको मानवअधिकार
बर्ष पुस्तकले परिच्छेद ५ देखि ९ सम्म पाँच विकाश क्षेत्र बाट पाँच वटा बिषयलाई
अध्ययन गरेको छ. पूर्वान्चलको पाँचथरमा मातृभाषामा शिक्षा, मध्यमान्चलको रौतहटमा
दाइजोको कारण भएको महिला हिंसा, पश्चिमान्चलको कपिलवस्तुमा आन्तरिक बिस्थापितहरुको
अवस्था, मध्य-पश्चिमान्चलको मुगुमा खाद्य उत्पादन र आपुर्ति र सुदूर-पश्चिमान्चलको
अछाममा छाउपडी प्रथा. परिच्छेद ४ मा मानवअधिकार रक्षकको अवस्थामा प्रकाश पारिएको
छ. नेपालीहरुको समग्र जीवनमा प्रभाव पारिरहेको शान्ति प्रकृयाको सन्दर्भमा
परिच्छेद २ अन्तर्गत शान्ति सम्झौताका ६ बर्षको विवेचना गरिएको छ.
मानवअधिकार बर्ष
पुस्तक मानव अधिकारको प्रार्थमिक सुचनाको संगालो हो. यसका आधारमा धेरै अनुसन्धान र
बिश्लेषण भएका छन. यस बर्ष पनि हाम्रो मानव अधिकारको संरक्षण र सम्वर्धनमा त्यहि चाहनाका साथ केहि सान्दर्भिक सामग्री
थपेर यसको प्रकाशन गरेका छौँ. यो पुस्तक तयारीका क्रम देखि प्रकाशन सम्म समग्रमा
जनता संग आधारभुत तहमा गरिने संवादको प्रतिफल हो. यसर्थ यसमा बौद्धिक बिश्लेषण
भन्दा जस्ताको त्यस्तै जानकारी बढि पाइन्छ.
हामीलाई सूचना दिएर,
बर्ष पुस्तकको समिक्षामा भाग लिएर सुधार प्रकृयामा सहयोग गर्नुहुने र यो काममा
निरन्तर संलग्न इन्सेक परिवारका जिल्ला देखि क्षेत्र र केन्द्रमा संलग्न सबै
साथीहरुमा हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु. यो पुस्तक प्रकाशन गर्न र अन्य
संस्थागत कार्यक्रममा सहयोग गर्नुहुने दाताहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन
गर्दछु.
आउँदा दिनमा
मानवअधिकार उपर धावा बोल्ने, जनता उपर अत्याचार गर्नेहरुको नुर खसेको देख्न
पाइयोस. सम्पूर्ण नेपालीमा यहि शुभकामना. (०६९ माघ २६, फाल्गुन ७, फेब्रुअरी-१८ मा
हुने बिमोचनका लागि)
No comments:
Post a Comment