Monday, May 20, 2013

लोकतन्त्रको रक्षा र सम्वर्धन गर्न नागरिक पहल:



बारम्बार एकै प्रकारका गल्ति, अपराध भन्न सकिने प्रकृयाको अवलम्वन र जनतालाई बेवास्ता गर्ने प्रवृतिको बिरुद्ध जनताको एजेन्डा र स्पष्ट कारण सहित आगामी निर्वाचनको स्वच्छताका लागि आ-आफ्नो थलो बाट सकृय नागरिक पहल आजको आवश्यकता हो.
सदृश्य देखिने गरि राष्ट्रिय स्वाभिमानको बिरुद्ध हुनेगरी गरिने व्यवहार, पटक पटक आफ्नै सिद्धान्त र संगठनको मान्यता बिपरितका कृयाकलाप, जनता संग गरिएको ढाँट र छलकपट, राष्ट्रको ढुकुटी र सम्पति उपरको लुटखसोट, जबरजस्ती र लुटपाटको शैली, कानुनको शासन र जनताको सर्वोच्चताको बर्खिलाप हुनेगरी गरिने सर्वसत्तावादी चिन्तन, फोहरी गठबन्धन र सामन्ति चिन्तनका बिरुद्ध आम नागरिक आ-आफ्नो ठाउँबाट डटेर नउठ्ने हो भने हाम्रो भविष्य चौपट हुन धेरै दिन लाग्ने छैन. हामी नागरिकलाई विभाजित गरेर आफुलाई टुक्रे बादशाह बनाउन चाहने हरुका बिरुद्ध सचेत पहल गर्नु प्रत्येक इमान्दार नागरिकका लागि अनिवार्य कर्तब्य बनेको छ. यस्तो अनिवार्य कर्तब्य निर्वाह गर्नका लागि जनता न्यायाधिस हुने निर्वाचन नै प्रभावशाली मौका हो. आगामी निर्वाचनमा यो मौका किमार्थ गुमाउनु हुन्न.
हामी के गर्न सक्छौं?
(नागरिक सञ्जालले के गरोस?)
·          स्थानीय रुपमै सचेत नागरिकको सञ्जाल बनोस. त्यसले बिगतका ढटुवा हरुको नालीबेली अभिलेख गरोस. बिना पूर्वाग्रह सत्यकुराको विवेचना गरोस. जनता समक्ष सत्यको प्रचार गरोस र अब फेरी झुठको पक्षमा नलाग्ने वाचा बन्धनको सार्वजनिक प्रतिवद्धताको कार्यक्रम गरोस.
·          आ-आफ्नो क्षेत्रमा कस्ता उम्मेदवारलाई मात्र मतदान गर्ने भन्ने वारे छलफल गरोस. उम्मेदवारको न्युनतम योग्यता निर्धारण गरोस. र त्यस्तो सार्वजनिक योग्यता पुगेकालाई मात्र मतदान गर्ने घोषणा गरोस.
·          आ-आफ्नो क्षेत्रको सार्वजनिक सदभाव, बिकाश प्रयास र सामाजिक रुपमा पछाडी पारिएकाहरु प्रतिको सामुहिक दायित्व वारे सबैको उत्तरदायी वचनवद्धता प्रकट गरोस.
·          हिंसाको बिरुद्ध शान्ति, जबरजस्तीको बिरुद्ध स्वतन्त्रता र भ्रमको बिरुद्ध सिद्धान्तनिष्ठताको वकालत गरोस.
·          जुनसुकै बहानामा गरिएको अत्याचार, गैर-कानुनी व्यवहार र अमानवीय कर्तुत हरुको भण्डाफोर गरोस.
·          राजनीतिलाई कमाइ खाने पेशा बनाउनेहरुलाई पहिले आत्म निर्भर बन अनि चुनाव लड़ौला भनेर बिनम्र आग्रह गरोस.
·         मानव गरिमा, बराबरीको सम्मान र स्वतन्त्रताको रक्षा गर्न कर्तव्यनिष्ठ नागरिकहरु बीच इमान्दार एक्यवद्धताको निर्माण गरोस.
यो अभियान सजिलो छैन. कसैलाई आफ्नो पार्टी बिरुद्धको अभियान हो भन्ने लाग्न सक्छ. कसैलाई नागरिक समाजले राजनीति गय्रो भन्ने लाग्न सक्छ. तर हामी कुनै पार्टी बिरुद्ध लक्षित छैनौं. राजनीति भनेको मूल नीति हो. त्यस अर्थमा हामी मूल नीतिको शुद्धीकरणको अभियानमा चाहिं अवश्य छौं. लोकतन्त्रमा जनताको चाहना र आवश्यकता अनुरुप पार्टीहरु चलुन र उनीहरु राष्ट्रियता, जनजीविका, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न तत्पर रहुन भन्ने हामी चाहन्छौं. यो जिम्मेवारी जवाफदेहि, सफा र जनताको सार्वभौम शक्तिको आदर गर्ने सिद्धान्तनिष्ठ जन प्रतिनिधिहरुले पुरा मात्र गर्न सक्छन भन्ने हाम्रो ठहर छ. हरेक पार्टीमा रहेका स्वच्छ र सिद्धान्तनिष्ठ नेता कार्यकर्ताले हाम्रो सत्प्रयासको कदर गर्नेछन.
·          हामी कसै प्रति बैरभाव राख्दैनौं. झुठो फत्तुर लगाउँदैनौं. यदि हाम्रो भनाइमा सत्यता नभएको पाइएमा क्षामायाचना सहित आफुलाई सच्याउन तत्पर रहने छौं.
·          तर सत्य सत्य नै हो. जतिसुकै कठोर किन नहोस हामी सत्यको पक्षमा दृढता पुर्वक अविचल खडा रहने छौं. सत्यको प्रचार गर्ने छौं.
·          सार्वभौम जनताले आफ्नो भविष्य आफै बनाउनु पर्छ. राष्ट्र, राष्ट्रियता र सामाजिक बिकाश गर्न हामी नेपाली सक्षम् छौं. हाम्रो बिकाश प्रयासमा हामीले सरकार छान्ने भनेको असल चाकरको छनौट गर्ने हो. हामी मालिक छान्न होइन हाम्रो आदेश प्रति जवाफदेहि जमातको चयन गर्न गइ रहेका छौं. यो जमातलाई हामीले सांसद, सभासद, मन्त्री आदि नाम दिएका छौं.
·          गाउँ बस्तीबाट परिश्थिति जन्य वा सदृश्य प्रमाणित व्यवहारका आधारमा अबको नेपालका अभियन्ताहरु छानिने छन्. उनीहरुको कौशल, व्यवहार र उनीहरुले प्रस्तुत गर्ने एकतावद्ध, न्यायपूर्ण नेपालको भरपर्दो योजनामा जनताको नेतृत्व र स्वामित्व कहाँ छ भन्ने कुरामा आश्वस्त नहुन्जेल हामी तिनलाई भोट दिने छैनौं.
·          शान्ति, सम्मान, स्वतन्त्रता, सामाजिक न्याय, कानुनको शासन र मानव अधिकार हाम्रो मूल नारा हुनेछ.
(०७० जेठ १ गतेको प्रतिगमन बिरुद्ध नागरिक समाजको भेलामा बीचारार्थ प्रस्तुत: सुबोधराज प्याकुरेल).


No comments:

Post a Comment