नेपालको जेठो पार्टी
प्रजापरिषदका संस्थापक स्वर्गीय रामहरि शर्माको बारेमा मैले सुनेर र पढेर मात्र
जानेको हुँ. मेरो कर्म क्षेत्र तराइको मोरंग र पुर्वान्चल रह्यो. पंचायती
निरंकुशता बिरुद्धको आन्दोलन, जेल र यातना जे जति भोगें उतै भोगें. तर दाजु सुशील
प्याकुरेल संग म पनि उहाँको निवासमा पटक पटक गएको छुँ. टंक प्रसाद ज्यु संग पनि
उहाँ संगै गएर भेट गरेको छुँ. प्रजा परिषद को पहिलो पर्चा छर्ने धर्म भक्त माथेमा,
पुष्करनाथ उप्रेती,मुकुन्द रिमाल, गोविन्दप्रसाद उपाध्याय र रामहरि शर्मा
हुनुहुन्थ्यो भन्ने कुरा त धेरैलाई थाहा भएकै कुरा हो. बानेश्वर, डिल्लीबजार र
टुँडिखेल जस्ता अति सम्बेदनशील र राज्यको चनाखो आँखा लागेको ठाउँमा रामहरि शर्मा र
गोविन्द प्रसाद उपाध्यायले राणावर्ग लाइ सोझै सम्बोधन गरि चेतावनी प्रकट गरिएको
पर्चा छर्नु भएको थियो. १९९७ को क्रुर राणाशाही मा त्यत्रो हिम्मत गर्ने सबै महान
व्यक्तित्व हुनुहुन्छ. १९९७ मा स्थापित प्रजापरिषदमा संलग्न व्यक्तिहरुको बारेमा
कुरा गर्दा एउटा गर्व गर्न लायक चित्र सामुन्ने आउँछ. उहाँहरुको सकल परिवार, बन्धु
बान्धव, मित्र, टोले सबैको समर्पित साथ् र सहयोग रह्यो. सुरु देखि अन्त्य सम्म सबै
जसो इमान्दार रहे. शारीरिक वा अरु कारणले क्रियाशीलता घटबढ भयो होला तर चेतना
लकपकाएन.
नेपालको राजनीतिको
मियो जहिले पनि राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको मामिला रही आएको छ.०४६ को
जनआन्दोलनमा भारतीय नेताहरुको प्रत्यक्ष हस्तक्षेप संग रुष्ट भएर टंक प्रसादले
उक्त आन्दोलन प्रति आफ्नो बिमति प्रकट गर्नु भएको थियो. नभन्दै अहिले सम्म देखिएको
के छ भने प्रजातान्त्रिक आन्दोलनमा सहयोग गरे वापत भारतले जहिले पनि ब्याज मात्र
होइन स्याज सहित असुल गर्ने मनशाय राख्ने गर्छ. हुनत नेपाली नेताहरुले पनि भारतीय
स्वतन्त्रता संग्राममा प्रशस्त योगदान गरेका छन्. तर प्रजातन्त्रका पक्षधरहरुले
प्रजातन्त्रका लागि गरिएको योगदानको सट्टाभर्ना खोज्नु अचम्भको उदाहरण नेपाल भारतको
राजनीतिक सम्बन्धका मामिलामा बारम्बार उजागर हुँदै आएको छ. बेलायतीहरुले आफुले
कज्याउनु पर्ने, मुर्ख सरह भारतीयहरुलाई ठान्ने गर्थे. मुगल र टुक्रे राज्यका राजाहरुलाई
उपहार र मनोरंजन गराएको भरमा बेलायतले भारत कब्जा गरेको थियो. अहिले बेलायती
साम्राज्यको त्यहि प्रेतले भारतीय शासकको दिमागमा शासन गरिरहेको भान हुन्छ. नेपाल
मात्र होइन उसका कुनै पनि छिमेकी देशका जनता भारतीय शासकको हेपायती व्यवहार संग
सन्तुष्ट छैनन. नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयोग गरे वापत भारतीय प्रतिनिधी
नेपालको मन्त्रीपरिषदको बैठकमा बस्ने चलन त्यस्तै मानसिकता को उपज हो. विश्व
राजनीतिमा दुइ छिमेकीको तुलनामा सानो र आधुनिक उत्पादन अर्थतन्त्रका हिसाबले
कम्जोर मुलुक भएकोले नेपालले धैर्यतापूर्वक सन्तुलित तर स्पष्ट कुटनीति मार्फत
आफुलाई जोगाउँदै अगाडी बढ्नु बाहेक अरु उपाय छैन. तर स्पष्ट र न्यायिक कुरामा बनको
बाघले नखाए पनि मनको बाघको त्रासले भारतीय शासक समक्ष लम्पसार पर्ने महारोगले
हाम्रा शासक र नेता जहिले पनि ग्रस्त रहे. २०१२ सालमा टंकप्रसाद नेतृत्वको सरकारले
भारतीय प्रतिनिधिको मन्त्रि परिषद बैठकमा हुने उपस्थिति को चलन हटाए.पंचशीलमा
आधारित बैदेशिक नीति निरुपण गरे. उनले
आधुनिक राष्ट्रलाई आवश्यक पर्ने तमाम संरचनाको जोहो गर्न खोजेका थिए. तर बैदेशिक
हैकमको भारतीय स्वार्थले उनलाई सहन सकेन. सत्ता र शक्तिका भोका राजाले १८ महिना
नबित्दै उनलाई बर्खास्त गरे. हामी नेपालीको समस्या के हो भने हामी दीर्घकालीन सोंच
राख्न सक्दैनौं. हामीमा धैर्य छैन. हामी बीचारका आधारमा मानिसको मुल्यांकन
गर्दैनौं. हामी कसैलाई पनि उ कसको नातेदार हो, कुन पार्टीको हो, कहाँबाट आएको हो,
कुन जात थर को हो भन्ने आधारमा सतही मुल्यांकन गर्ने गर्छौं. हामीलाई लाग्छ दर्जा
नै सबै थोक हो. सत्ता र सरकार को फरक जनताले बुझेकै छैन.
टंकप्रसादको
प्रत्येक काममा काँध थाप्ने रामहरि शर्मामा इमानदारिता र देशभक्ति थियो. उहाँ
पंचायतमा संलग्न हुनुभयो. तर मण्डले बन्नु भएन. राजाको कृपापात्र हुनुभयो तर
राजाको चाकर बन्नु भएन. प्रजातन्त्रको आधारभूत मान्यता प्रतिको उहाँको बिश्वास सर्वोपरी
थियो. ०६२ सालमा जनआन्दोलन राम्ररी उठ्न सकिरहेको थिएन. नेताहरु भारत र बिदेशीको
भर परेर हो वा डरके मारे हो आन्दोलनमा आउन अन्कन्याई रहेका थिए. नागरिक समाज र
पत्रकारहरुले आन्दोलन धानेका थिए. यस्तो अवस्थामा म उहाँलाई भेट्न गएँ. राजाको कदम
असंबैधानिक छ र प्रजातन्त्रका सिद्धान्त संग मेल नखाने खालको छ भन्ने बारेमा
उहाँले खुलेर चर्चा गर्नु भयो. राजाले सैनिक र निजामतीको भरमा शासन गरौंला
भन्ठानेका होलान तर जनताले १६ बर्ष प्रजातन्त्रको उपभोग गरि सके. त्यसमाथि आजको
युग नै कानुनको शासन र मानव अधिकारको युग हो भनेर उहाँले भन्नु भयो. अन्त्यमा
उहाँले भन्नु भयो, " जनताको कुरा नसुन्ने राजाको के काम?" मैले उहाँलाई
खुलेरै एकपटक सार्वजनिक रुपमा ओर्लिन आग्रह गरें. उहाँले सल्लाह गरेर एउटा कार्यक्रम
गर्छु भन्नु भयो. त्यसको ३-४ दिन पछी मलाई उहाँ कहाँबाट खबर आयो. म उहाँको घर
पुगें. एउटा हाते पर्चा तयार रहेछ. प्रजातान्त्रिक मुल्य मान्यता, जनताको अधिकार र
कानुनको शासनका बारेमा नेपालको जेठो पार्टीले आफ्नो भनाइ स्पष्ट पारेको पर्चा
थियो. त्यसको भोलिपल्ट उहाँ रत्नपार्कमा आन्दोलनकारीहरु बीचमा पुग्नु भयो. शरीर
कमजोर थियो. प्रहरीले उहाँलाई अगाडी नबढ्न आग्रह गरे. उहाँले मान्नु भएन. पर्चा
हातमा लिनु भयो र पाठ गर्नु भयो. उहाँको मुट्ठी भरि पर्चा थियो. देब्रे हातको
पर्चा पाठ गर्नु भयो र दाहिने मुठी भरिको पर्चा जोशका साथ् छर्नु भयो.
आन्दोलनकारीहरुमा अपूर्व जोश थपियो. त्यसपछि उहाँ प्रहरीहरु बाट घेरिएकै अवस्थामा
मोटर सम्म जानु भयो र फर्किनु भयो.
त्यो दिनको उहाँको
संलग्नता पछी मलाइ धेरैले सोधे, - रामहरी जी पनि जनआन्दोलनको समर्थनमा हो? भनेर.
मैले भनें- मैले बुझेको रामहरि जी प्रजातन्त्र, कानुनको शासन र मौलिक अधिकारको
पक्षमा हो. एउटा इमान्दार देशभक्त जसरि, जुन हैसियतमा भएपनि राष्ट्र र जनता प्रति
इमान्दार रहने प्रयत्न गर्छ. फोहरी भनेर कहलिएका ठाउँमा पनि इमान्दारहरु कमल-पुष्प
सरि बेदाग रहन्छन. उहाँको देहावशान हुँदा नेपाल सरकार क्रान्तिकारी विद्यावारिधी
बाबुरामको नेतृत्वमा थियो. सायद त्यसैले होला उहाँप्रति शिष्टाचार दर्शाउने
सुसंस्कार त्यसले दर्शाउन सकेन. आर्यघाटमा सरकारले उहाँलाई सम्मान दिने सभ्यता
देखाएन. नेताहरु मध्ये मैले सी पी मैनाली देखें. ठुला कहलिएकाहरु गएनन. आफ्नै
इतिहास, आफ्नो अस्तित्वका जन्मदातालाइ हेप्न सक्ने हरुको हातमा देशको राजनीति कैद
भएको ज्वलन्त पाठ पढाएर उहाँको पार्थिव शरीर अग्निमा समाहित भयो. मृत्यु पर्यन्त
प्रजातन्त्रका लागि नारा मात्र होइन धैर्य पनि चाहिन्छ, जमात र संगठन मात्र होइन
निजी आचरणको शुद्धता पनि चाहिन्छ भन्ने सन्देश बुझाएर उहाँ जानु भयो.
०७० भाद्र ०४.
No comments:
Post a Comment