अचेल नेपालमा बन्द
हडतालको बाढी आएको छ. अस्पतालमा बिरामीको उपचार राम्ररी गरिएन भनेर अथवा प्रहरीले
अपराधी भनेर फलानोलाई समात्यो वा फलानोलाई छाड्यो भनेर बाटो बन्द गर्ने, बजार,
स्कुल बन्द गर्ने चलन ब्याप्त भएको छ. भीडले निर्णय गर्ने र सरकारले त्यसलाई मानु
पर्ने अवस्थालाई अराजकता भनिन्छ. कतिपय सेवा र पेशा यस्ता हुन्छन जसले हड्ताल गर्दा बेसरोकारका र आकस्मिक अवस्थाका
मानिसहरु नोक्सानीमा पर्छन. पुलिसले हड्ताल गर्ने, चिकित्सकले, चालकले,
बारुणयन्त्रका मान्छेले हड्ताल गर्ने कुरा सभ्य समाजमा अकल्पनीय हुन्छ. एउटा
बिरामीको उपचारमा चित्त नबुझेर गरिएको हड्तालका कारण अरु बिरामी उपचार नपाएर मर्न
सक्छन. सरकारले शुद्ध पानीको मापदण्ड तोक्यो, पानी ब्यापारीलाई चित्त बुझेन.
उनीहरु हड्तालमा गए. जनता काकाकुल भए. सरकार लत्रिन बाध्य भयो. परार चितवनको
क्यान्सर अस्पतालमा डाक्टर र कर्मचारीको हड्ताल भयो. भनिन्छ कतिपय क्यान्सरका
रोगीले समयमा केमो पाएनन्. कतिपय गम्भीर बिरामी समयमा उपचार नपाएर मरे. मधेस
आन्दोलनको बेलामा ठेलामा बेथा लागेकी महिलालाइ ल्याउँदै गर्दा आन्दोलनकारीले
दिएनन. प्रसव बेदनाले उनले बाटैमा प्राण त्याग्नु पय्रो.यसरि एक पक्षको हितका लागि
अर्को पक्ष वा बेसरोकारका मानिसलाई नोक्सानमा पार्ने काम कानुनत: अपराध हो भने
मानवअधिकारका दृष्टिले गम्भीर प्रकारको मानवअधिकार को उल्लङ्घन हो.
आधुनिक युग
स्वतन्त्र बजारको युग हो. तर नियमन गर्ने तागत सरकारमा छैन र नागरिकमा चेतना छैन
भने लाभको लोभमा खतरनाक अपराध हुन सक्छ.उदाहरणकालागि बर्ड-फ्लुले मरेका कुखुरा
बजारमा भाउ घटाएर पसलेलाई बेचिन सक्छ. ग्यास ब्यापारीले कमिसन बढाउनु पर्ने माग
राखेर इन्धनको हाहाकार मच्चाई दिन सक्छन. स्वतन्त्र बजारमा कमिसन बढाउनु पर्ने माग
राखेर हड्ताल गरिन्छ भन्ने कुरा पत्याउन
पनि गाह्रो हुन्छ. कमिसनमा चित्त नबुझे त्यो बस्तुको कारोबार नगर्ने स्वतन्त्रता त
हुन्छ. तर जबरजस्ती कमिसन बढाउन लगाउने चलन चलाउने हो भने सबैले आ-आफ्नो सहुलियत
अनुकुलको भाउमा सामान पाउनु पर्ने माग राखेर जबरजस्ती पसल लुटे पनि हुने भयो. भारतको
आम-नागरिक पार्टीले बिजुली महसुल नतिर्न आव्हान गर्दै बिजुलीको बिल च्यात्ने
अभियान चलाएको थियो. पछी त्यस्तो कर्मको ब्यापक आलोचना भएपछि लज्जाबोधका साथ
त्यस्तो अभियान रोक्न बाध्य भयो. नीतिगत स्वतन्त्रताको नाममा बैंक हरुले रातारात
निक्षेपकर्ता लाइ दिइनेब्याज ६-७ अंकले घटाइदिने र आफुले लिने कर्जाको ब्याजदर ३-४
अंकले बढाईदिने चलनका बारेमा गएको हप्ता राष्ट्र बैंकका गभर्नरले नै असन्तुष्टि
व्यक्त गर्नु भएको थियो. त्यसलाई राष्ट्र बैंकले लगानी र निक्षेपका बीचको भिन्नतामा
अंकुश लगाउने भएको छ. तर बैंक हरुले पनि ग्यास, पानी व्यापारीले जस्तै बन्द हड्ताल
गरे भने के होला?
आजको युग स्वतन्त्र
नागरिक र पेशागत संगठनको युग हो. उनीहरुले औचित्य र तर्कका आधारमा सामाजिक सम्बन्ध
र सामाजिक न्यायको वकालत गर्छन. त्यसैले संसदमा पनि बिधेयक बारेको छलफलमा
सरोकारवाला त्यस्ता नागरिक संगठन, समाज संग परामर्श गरिन्छ. उनीहरु बाट पेशागत
नैतिकताको अपेक्षा गरिन्छ. तर जब यस्ता संगठन र जमात नितान्त गुटगत स्वार्थमा
लिप्त हुन्छ त्यसपछि त्यसले अराजकताको स्वरूप ग्रहण गर्छ. त्यस्ता अराजक समुहमा
अर्काको कमाइ खाने वा आफ्नो सार्वजनिक, राजनीतिक हैसियतलाइ नियमित आम्दानी को
श्रोत बनाउनेहरु घुस्छन. सबै जसो देशमा मुनाफाको लोभ र एकाधिकारको लालचले जन्माउने
सिन्डिकेट बिरुद्ध कानुन बनाइएको हुन्छ. यातायात सिन्डिकेटले मनपरी भाडा असुल्ने,
स्वतन्त्र बजारमा प्रतिष्पर्धीलाइ छिर्ने नदिने र प्रत्येक सवारी साधन संग
उनीहरुले असुल्ने शुल्कका बारेमा कतै कसै प्रति जवाफदेहि हुने नपर्ने चलन अराजकता
र सिन्डिकेटको विकृत स्वरूप हो. तर यस्तो कर्ममा तत्कालको आम्दानी गाँसिएको हुनाले
यसलाई बलियाको संरक्षण छ.खाना पकाउने ग्यास उद्यमीले सरकारी संस्थानले ग्यास
उद्योग खोल्न खोज्दा गरेको बिरोध यस्तै आर्थिक अराजकताको उदाहरण हो. अहिले हामी
आर्थिक र पेशागत अराजकताको चरणमा छौं. तर यो अवस्था लामो समय रह्यो भने यसले
आतंकवादको रुप ग्रहण गर्ने छ. अफगानिस्तानको ६० बर्ष पुरानो इतिहासलाई हेर्ने हो
भने पहिले लोभले अफिम खेति थाले किसानले. किनकि त्यसका ब्यापारीले सुरक्षा र उच्च
मुल्यको जिम्मा लिए. त्यस आपराधिक खेतीमा पुलिस, शासक र उपल्लाहरु गांसिए. अनि
अफिम बाहेकको खेति गर्न चाहनेले बस्न टिक्न नसक्ने अवस्था आयो. मुल्ला र
राजनीतिज्ञहरु पनि गांसिए र यो बिषय धर्म र राजनीतिको अभिन्न अंग बन्न पुग्यो. गैर
कानुनी धन्दा वा व्यवहार लाइ मौनताको संहिता मार्फत जबरजस्ती लागु गरिने कर्मलाई
आतंकवाद भनिन्छ. १८६५ मा अमेरिकामा कु
क्लुक्स नामको समुहले समाजलाई आतंकित तुल्याएर मनपरी गर्थ्यो. १९६० को दशकमा इटालीको
रेड आर्मी र १९४८ को दशकमा यहुदी समुहले राजनीतिक नाराको आवरणमा निर्दोषहरु उपर
आक्रमण गरेर सबैलाई त्रस्त पार्ने र राज्यलाई गलाउने रणनीति लिएका थिए. अराजकता
(एनार्किजम) को शब्द ग्रीक भाषा बाट आएको हो. यसको अर्थ हुन्छ सरकार बिनाको
स्थिति. रुसमा १८२४ मा यहि सिद्धान्तका बाकुनिनका समर्थकहरुले जार द्वितीयको हत्या
गरेर क्रान्तिको उदघोष गरेका थिए. जसको नराम्रो संग दमन भयो. जनताले टुलु टुलु
हेरे मात्र. तिनको समर्थन नभएकोले त्यो समुह नासियो. राज्य द्वारा गरिने व्यापक र
निरङ्कुश दमनलाइ पनि अराजकता भनिन्छ. तर अराजकता पल्किएपछी यसले आतंकवादको स्वरूप
ग्रहण गर्छ. जब अराजकतावादी हरुले बल प्रयोग द्वारा आफ्ना लालच पुरा गर्न सकिन्छ
भन्ने ठान्दछन अनि पहिले उनीहरुले बिरोधका स्वरको घांटी निमोठ्ने रणनीति अपनाउछ्न.
क-कसले बिरोध गर्छन भन्ने थाहा नहुने हुँदा सार्वजनिक रुपमा कुनै निर्दोषलाई
दुर्दान्त तवरले तड्पाउने गर्छन ताकी अरुले त्यो अत्याचार देखेरै मौन बसुन,
आतंकवादीको आदेश खुरु खुरु मानुन. तर पुँजी बजारको आतंक पनि यो भन्दा कम खतरनाक
हुन्न. सरकारका नियामक अंगलाई निस्तेज पार्ने, उपभोक्तालाइ बाध्य पार्ने र मनपरीको
संस्कार चलाउने धन्दा स्वतन्त्र बजारका आतंककारीको लक्ष हो. सके सम्म असम्भव र
झुठो बिज्ञापन द्वारा उपभोक्ता झुक्याउने, कानुनी छिद्रको दुरुपयोग गर्ने र अपराध
बाट बच्न नेता प्रशासकलाई किन्ने कुरा आधुनिक युगको आर्थिक आतंकवाद भित्र पर्छ.
यस्तो दुस्प्रवृति बिरुद्ध असल नियतका ब्यापारी र पेशाकर्मीहरु जागरुक हुनु पर्छ.
सरकारले तदारुकता पुर्वक जन चेतनाका बाहक हरुलाई साथ् लिएर कानुनी र प्रशासनिक
संरचना बनाउनु पर्छ. हामी कहाँ आर्थिक आतंकवाद संस्कारका रुपमा उदय हुन खोज्दै छ.
यसलाई बेलैमा लगाम नलगाउने हो भने यसले आपराधिक कर्ममा सबैलाई उछिन्न सक्छ.
No comments:
Post a Comment