Thursday, May 26, 2016

कथानुभूति: म्यारिज एक बुद्धिबर्धक खेल | प्रकाशित मिति: सोमबार, जेठ १२, २०७१


Shivam

सुबोधराज प्याकुरेल print

  • 480
     
     
    26
     
     
    0
    Google +
     
    528
     
  • GET NEWS ALERTS



म्यारिज बुद्धिवर्धक खेल हो, तपाईँ नखेल्नेलाई के थाहा? बाहुनले च्याउ खाओस् न च्याउको स्वाद पाओस्! यी शब्दले मलाई होच्याउने साथीहरू शुक्रबार साँझदेखि पलेँटी कस्थे र शनिबार मध्यरात वा आइतबार सखारैसम्म एकै ठाउँ जमेर खेलेको खेलै गर्थे। आइतबार बिहान कार्यालयमा आउँदा तिनका आँखा हान्ने पाडोको जस्तो रातो, तातो देखिन्थ्यो। उनको काममा म आइतबार तन्मयपूर्वक सघाई दिन्थेँ। शुक्रबार उनीहरूको “आजको खाल” कहाँ बस्ने तय भयो भनेर मलाई थाहा भइहाल्थ्यो। डेढ बजे कार्यालय सकिन्थ्यो अनि म बाहिर निस्कन्थेँ। केही पुस्तक पसल चहार्थेँ। साँझ पर्नुअघि कौतुहल लाग्थ्यो र बुद्धिजीवीहरूको बुद्धिवर्धन हेर्न पुग्थेँ। उनीहरूका हातभरी तास हुन्थे। हल्का हावा लागेपनि उड्न सक्ने गरी समातिएका तास अब झरे, तब झरे जसरी समातेर निर्मग्न उनीहरू तास तान्ने–फाल्ने गर्थे। मैले कहिलेपनि यो खेलमा कसरी ज्ञान, बुद्धिको प्रयोग हुन्छ भन्ने बुझ्न सकिन। एउटा कुरा चाहिँ गजबको थियो। कोसँग कुन तास छ भन्ने कुरा त्रिकालदर्शी सरह उनीहरू बताउन सक्थे। मलाई सबभन्दा नराम्रो लाग्ने कुरा चाहिँ खेलाडीहरू थुइक्क थुइक्क भनिरहन्थे। यसो भनिरहँदा कतिपयका मुखका थुकका बाछिटा तासदेखि ओछ्याइएको तन्नासम्म छरिएको चाहिँ देखिन्थ्यो। रिसाहा हाकिमहरूमा पनि नामालुम कहाँबाट यस्तो सज्जन सहनशीलता उम्रिन्थ्यो कि थुक, खकार पनि वास्तै नगरी उदारमना भावले खेलिरहन्थे। 
 
म अड्तीस उन्चालीस सालतिरको कुरा गर्दै छु। जतिबेला म बैंकको जुनिअर हाकिम थिएँ र विराटनगरमा कार्यरत थिएँ। तर थुप्रै तास प्रेमी हाकिमहरूलाई उनीहरूको काम फत्ते गर्न सघाई दिएबापत उनीहरूबीच प्रिय पनि थिएँ। कहिलेकाहिँ खासखुस चल्थ्यो– “ए आज श्रीमान पनि आउने रे”, “ए आज सहायक आउनु हुने भा’छ।” यस्तैयस्तै गफ भएको बेलामा मैले सहायक अञ्चलाधीश, न्यायाधीश भनिएका मानिसहरूलाई पनि भेटेको छु। ठालुदेखि खेलाडीसम्मले मलाई प्रेमपूर्ण व्यवहार गर्थे। बसिरहोस् जस्तो गर्थे। तर खाल चलेको घरको कामदार र गृहिणीको हतारोपन, खटाइ, थकावट देख्दा मलाई सकस हुन्थ्यो। हेर्न रहर लाग्ने, खेल्न मन नलाग्ने। अझ भनौँ, आँट नआउने मान्छे थिएँ म। त्यतिबेला मैले अति सुनेको नाम हो म्यारिज। कागजमा नम्बर र लेनदेनको फेहरिस्त यति चाँडो लेख्थे त्यहाँका खेलाडीहरू कि ती मध्ये मेरा दौंतरीले बैंकको हिसाब मिलाउन नसकेको कुरा सम्झिदा पनि मलाई अचम्म लाग्थ्यो। त्यही टोलीमा एकजना काजी पनि थिए। उनी ठूलै घरानाका हुन् भनिन्थ्यो। उनका पिताले श्री–सम्पति जुवामा सकेकाले उनले सामान्य जागिर खानुपर्ने अवस्था आयो भनिन्थ्यो।
 
एक पटक तिहारमा उनको घरमा सेल खान बोलावट आयो। जागिरमा जुनियर भए पनि रवाफमा उनी उपल्ला थिए। कजिनीले बनाएको पक्कु, साँधेको खसीको टाउको, फ्रेन्च–फ्राई, मथिङ्गलको अचार आदि अनेकन व्यन्जनका चर्चा तसडची (म त्यतिबेला तास खेल्नेलाई जुवाडे भनिन्छ भनेर बुझ्दैन थिएँ), हरूको बीचमा व्याप्त थियो। पत्नीको स्वादिष्ट व्यन्जनको फलस्वरूप काजीको रवाफ रन्किएको थियो। आउँदिन भन्न सकिएन। सेल, अनर्साको साथमा मधेसका व्यन्जन पनि तयार गरिएको रहेछ, ठेकुवा, तितौरी आदि। फिलिङ्गो हालेको अचार लगायतका बास्नादार व्यन्जन तयार थियो। हिमाल, पहाड, मधेस र बेलायती सुगन्धले भरिपूर्ण भान्सा थियो। टन्न खाइयो। तसडचीहरूको जमात सबै थिए। साथमा अरूपनि ठूलै मान्छे जस्ता लाग्नेहरू पनि थिए। एउटा गजक्क परेको डल्लेलाई देखाएर काजीले मलाई भने– “ओ माड्साप, तपाइँ नेपालमा निरङ्कुशता छ, यो व्यवस्था जान्छ भन्नु हुन्छ नि, हो यो मान्छे त्यस्तै कुरा जान्ने मान्छे को–को हुन् भनेर खोजिरहन्छ, उसलाई त तास खेल्ने, सिनेमा हेर्ने पैसा पनि माथिबाटै पो आउँछ त, खाने हो त्यस्तोमा जागिर? तपाइँले खुरु–खुरु अहिलेको काम गरिरहने, खाली को–को कस्ता–कस्ता छन्, अडर  आए अनुसारको सूचना खोज्ने मात्र हो, तेजिलो मान्छे खोज्या भन्छन्, त्यो जागिर त गजब रहेछ माडसाब, के गर्नु हामीले नसक्ने काम रे। तपाइँले सक्नुहुन्छ भन्छ उ त।” मेरो आङ् सिरिङ्ग भयो।
 
“कसरी भन्छ उसले मैले सक्छु भनेर ?” मेरो प्रश्नमा उसले भन्यो– “अस्ति तपैँले दोस्रो विश्वयुद्ध र त्यसपछिको विश्वका बारेमा गरेको कुरा र राणा शासन किन ढल्यो भन्ने बारेमा गरेको चर्चा हाम्रो खालमा सुनेदेखि तपाइँको कायल भए जस्तो छ, यस्तो मान्छे काम लाग्छ, आउनुस् ठीकठाक दोस्ती गरौँ”। लुरु–लुरु पछि लाग्नु बाहेक मसँग उपाय थिएन। साँझ परेपछि काजी साहबले घोषणा गर्नु भयो, आज पंचक खुलेको दिन हो र उनका पिताले छाडी जानु भएको कौडीलाई उनले चलायमान गर्नै पर्छ। अर्थात् हामी सबैले कौडी खेल्नै पर्छ। म सँग खल्तीमा १५ रुपियाँ बाहेक थिएन। मैले वरतिर तानेर उनलाई बताएपछि उनले भने– “हे माड्साप, के हाकिम भएर पनि १५ रुपियाँ बोकेर चाडबाडमा हिँडेको, पख्नुस्।” उनी लम्किएर भित्र गए र पाँच पाँचका २० वटा नोट लिएर आएर मैले खल्तीमा हालेँ। खाल जम्यो। मैले तासमा देख्ने गरेका सबै ठालु जम्मा भएर गोलाकार बनाए। मखमली थैलीको तुना खोलेर काजीले कौडा घोप्ट्याए। सुरुमै मारा, मारा पो गर्न थाले तसडचीहरू। डल्ले मानिसले किन हो म प्रति निकै सरोकार जनायो। आउनुस् माड्साप भनेर छेउमै राख्यो। म च्याँखेसम्म राख्न तयार थिएँ। मैले काजीलाई भनें, “हेर्नुस् है म खेल्ने होइन तपाइँको कौडाको इज्जत राखिदिने मात्र हुँ।” उसले भन्यो– “माड्साप तपाइँले कि सबै हारेर जाने नभए जितुन्जेल त खेल्नै पर्‍यो नि।” खै के भो, मैले च्याँखे थापेकै भरमा ३५ सय जितेछु। तर उठ्न पाइएन। ५ हारे १० थप्नु पर्ने, डबलको चक्कर हुँदो रहेछ। कहाँबाट आउँदो हो यत्रो पैसा ? धन्न एक बेला यस्तो आयो जब मैले जितेको, काजीले दिएको १ सय र खल्तीमा भएको १५ मध्ये १० हारिसकेँ। मलाई त्यो हराइले सन्तोष दियो। मैले जुरुक्क उठेर काजीलाई हात जोडेँ “लौ मसँग यही ५ बाँकी छ, म हिडेँ।” मैले चारैतिर आँखा डुलाउँदा श्रीमान, सहायक, कर्साब, भन्सार, कर आदि साबहरू जस्ताले हात हातमा कौडा नचाउँदै थिए र खालमा १ सय घटिका नोट च्याँखे राख्न वजिर्त भइसकेको थियो। लामो स्वास तानेर लम्किएँ। निस्कने बाटैमा काजीको भान्साकोठा थियो। कजिनी छेउको लम्पटमा फ्याँ परेर लडेकी थिइन्। भान्से गन्जी धरी फुकालेर भित्ताको अडेस लागेर पसारिएको थियो। श्रीमानको, श्रीमानको .....भनेर चर्को आवाज भित्रबाट आउँदै थियो। सरासर तल ओलिएँ। साइकलको साँचो खोल्न पनि अलमल भइरह्यो। बल्ल ताल्चा खुल्यो, खट्याक्क। तर त्यतिन्जेल धोद्रो आवाज डुक्रिन थालेको थियो, “चिन्या छस्, को हुँ ? झिकौँ ? उडाई दिउँ ? मेरो च्याँखे नहान्ने, बडो न्याय गरी खाने भै खाएको ?” बीच बीचमा काजीको मलिन स्वर आइरहेको थियो, “हैन करसाब, श्रीमान पनि झुक्यानमा परिबक्स्यो, के गर्नु, बल्ल एउटा बाहुन निस्क्यो खाल छाडेर, सबै हजुर जस्तो दिल्दार कहाँ हुन्छन र ?” मेरो आङ सिरिङ्ग भयो। धन्न जोगिएछु म, म्यारिजको बुद्धि र कौडाको जाँगर बाट।
 
अचेल सुन्दै छु,  म्यारिज बुद्धिवर्धक खेल हो रे, तास जुवा होइन रे। त्यसो भए कौडा पनि हैसियत र दिल्दारी मिल्नेहरू बीचको रमझम त हो नि, कसरी हुन्छ जुवा ? काजीका लप्टन ज्वाईं काठमान्डूबाट आएका भन्थे। उनी बेला बेलामा रिल वाला क्यामराले फोटो हान्थे। लगत्तै हिसाब बताउँथे, “एघाह्र रिल सकियो।” कौडा हान्दै गरेका श्रीमानको फोटो अहिलेका सभासदले पाए भने के गर्लान ? एकजना सभासदले पाए, अर्कालाई दिए रे। संसदीय जाँचबुझमा संलग्न अर्का सभासद त्यो फोटो हेरेको हेरै रन्थमोलमा छन् रे, साँच्ची जुवा भनेको चाहिँ के हो? भनेर। सायद पार्टीको बैठक बसेर त्यसले फैसला नगरुन्जेल उनी रनभुल्ल रहनु पर्नेछ। म पनि रनभुल्लमा छु, वास्तवमा जुवा भनेको चाहिँ के हो?

१६:२९:३६

No comments:

Post a Comment