सन् १९९० को लस एन्जल्स टाइम्समा बार्बरा एडम्सको
अन्तर्वार्ता छापिएको थियो, म यहाँ मर्न चाहन्छु| नेपाल र नेपाली प्रति उहाँमा
अगाध श्रद्धा र माया थियो| सन् १९८८ मा नेपाल मानव अधिकार संगठनको जन्म भएपछी
नेपालका मानव अधिकार कर्मीहरुसंग उहाँको बाक्लो चिनजान भएको हो| १९९१ मा बहुदलीय
व्यवस्थाको आगमन भएपछीको खुल्ला वातावरणमा बार्बराको संगत नेपालका बुद्धिजीवी
बर्गसंग बाक्लो भयो| उहाँका लेखहरु नियमित रुपमा प्रकाशित हुन थाले| त्यसपछिमात्र
नेपाली समाजले उहाँको नेपाल प्रतिको मोहको बारेमा चाल पायो| पंचायत काल भरि उहाँ
राजा विरेन्द्रका काका बसुन्धराकी प्रेमिकाको रुपमा मात्र चिन्हिनु भएको थियो|
दरबार त्यसैपनि आम जनताको लागि तिलस्मी घेरा भित्रको बिषय थियो| सन् १९६१ मा
इटालियन पत्रकारको रुपमा बेलायतकी महारानी एलिजावेथको यात्राको रिपोर्टिंग गर्न
आएकी बार्बराले मेरो सम्पूर्ण जीवन नेपालमै बित्नेछ भनेपछि नेपालीको मनमा उहाँ
प्रतिको सम्मान ह्वात्तै बढेर गयो| त्यो सम्मान र सरोकारको कारण नै हो गणतन्त्र
आउनासाथ नेपाल सरकारले उहाँलाई सन् २००९ मा नेपालको नागरिकता प्रदान गय्रो|
हत्तिसारको पुरानो शिल्पको ठूलो र दरबारिया शैलीको घरमा उहाँले धेरै संग भेटघाट
गर्नु भएको छ| नेपालको मौलिकता गुम्दै गएको र बिकाशका नाममा पश्चिमा शैलीको
अन्धानुकरण हुँदै गएकोमा उहाँले आफ्नो असन्तुष्टि व्यक्त गरिरहनु भयो| गरीब र
दलितहरुको दुरावस्थाका बारेमा उहाँमा गहिरो चासो र पीडा थियो|
एउटी नारी नेपालका राजघरनाका शक्तिशाली अधिराजकी
भित्रिनीको दर्जामा कहिले दरबार भित्र
सम्पूर्ण नियन्त्रणमा बसिन| कहिले सीमा पारी लखेटीईन| तर पनि हिम्मत हारिनन|
नेपालको पर्यटन, वातावरणको बिकाशका लागि निरन्तर लागि रहिन| दलितहरुका लागि आवासको
योजना लिएर बिकट गाउँहरुमा पुगिरहिन| बिश्वास गर्न कठिन हुने व्यक्तित्वकी धनी
थिइन् बार्बरा| उनका पिता अमेरिकाका प्रख्यात राष्ट्रपति रुजेभेल्टका आर्थिक
मामिला विज्ञ थिए|१९३१ मा अमेरिकामा जन्मिएकी बार्बरा १९५३ मा पत्रकारिताको अध्ययन
सकेर रोम पुगिन जहाँ आफ्नो खर्चको जोहो गर्न उनि कुटनीतिज्ञका बालबच्चालाई ट्युसन
पढाउथिन| १९६१ मा नेपाल आएपछि उनको माया बस्यो तत्कालिन अधिराज बसुन्धरा संग| आम
रुपमा नेपालीले जसरी अमेरिकी वा युरोपेली नारीका बारेमा सोचेका हुन्छन त्यसको ठिक
बिपरित आफ्नो माया र सम्बन्ध प्रति उनको एक्निष्ठाले धेरैलाई चकित पाय्रो| उनको
देहावसान पछि पनि उनको सत्कर्मलाई जीवन्त राख्ने व्यवस्था उनले गरिदिएकी छन्| उनका
सहयोगी हरुका लागि पनि आर्थिक प्रवन्ध गरिदिएकी छन| नेपाल आएको ४५ बर्ष पछि मात्र
उनले आफ्नो भदालाई संयोगवस नेपाल भारत सीमानामा भेटेकी थिइन|यत्तिले सावित गर्छ
उनको नेपाल प्रतिको समर्पण|
लोकतन्त्रका मूल्य मान्यताका बारेमा बार्बरामा
कुनै द्विविधा हुने कुरै थिएन| कानूनको शासन र सामाजिक न्यायको अलावा उहाँले हरेक
मौकामा नेपालको बिग्रदो पर्यावरण र गुम्दो मौलिकताका बारेमा ध्यानाकर्षण गराइरहनु
भयो| कैयन पटक मैले देखेको छुँ, जब कोहि उहाँसंग अंग्रेजीमा बोल्न थाल्दथे उहाँ
हाँसेर शुद्ध नेपाली भाषामा जवाफ फर्काउनु हुन्थ्यो| माओवादीको जनयुद्धको जग
नखोजुन्जेल त्यो समस्याको समाधान गर्न सकिन्न| वार्ताको चरणमा प्रगति भैरहेको ठानिएको
सन् २००३ मा उहाँले हामीसंग भन्नु हुन्थ्यो, तपाइहरुले मेहनत गर्नु पर्छ कि यो
समस्याको समाधान राजनीतिक आँखाले मात्र हेरेर हुँदैन| सामाजिक कारणहरु नभएको भए यो
द्वन्द अगाडी बढ्ने थिएन| मिलनसारितामा ठेट नेपालीपन थियो उहाँमा| हरेक पटक
देख्नासाथ, ओ सुबोधजी भन्नु हुन्थ्यो| नेपाली महिलाले जस्तै गरी फरिया चोलोमा
सजिएर निस्कनु हुन्थ्यो|
बारम्बार सम्पत्तिबाट बेदखल गरिंदा, देशबाट
निकाला गरिंदा पनि उहाँमा नेपाल र नेपालीप्रतिको समर्पण कहिलेपनि कम भएन| नेपालको
दरबार कति अमानवीय थियो र कसरी सारा देश र व्यवस्था दरबारको दम्भमा कैद थियो भन्ने
बुझ्न बार्बराले भोग्नु भएको कष्ट र बाधालाई अध्ययन गरे पुग्छ| महिला मनोविज्ञानको
म विज्ञ होइन| तर हाम्रा शास्त्रहरुमा वर्णित र विश्व साहित्यमा सृजित नारीको
प्रित र समर्पणको ज्वलन्त प्रामाणिक उदाहरण हुनुहुन्छ बार्बरा एडम्स| उहाँको बारेमा
धेरै अनुसन्धान हुनुपर्छ| साहित्यको रचना गरिनुपर्छ| विश्वका लागि अलौकिक बिषय र
नेपालका लागि गर्वको पहिचान हो उहाँको जीवन| भूकम्पले ग्रस्त नेपालको पीडालाई
झेल्दा झेल्दै र पीडितका लागि संवेदनशील बन्दा बन्दै सन् २०१६ अप्रिल २२ मा उहाँको
जीवनको अन्त्य भयो| हामीले असल सामाजिक अभियन्ता गुमायौं|
जब म बार्बरालाई सम्झन्छु मलाई झन् दह्रो
आत्मविश्वास जाग्छ कि नेपाल मोहनी लगाउने देश हो| यहाँका जनता मायालुमात्र मात्र
छैनन्| जो यहाँ आयो त्यसलाई समेत मायालु बनाइदिन्छन्| अन्नपूर्ण होटलको पूर्वी
मोहडाबाट उत्तर हिमाल नियाल्दै उहाँले चोरी औला ठड्याएर भन्नु भएको शब्द अहिले पनि
वाचाल भएर गुन्जिन्छ, हेर्नुस कति सुन्दर छ नेपाल| मैले जवाफ फर्काएको थिएँ,
सुन्दर मन भएकाहरु सबैतिर सुन्दरता देख्छन| मनुष्यको बन्धुत्वको भावना राष्ट्रका
प्रभुसत्ता देखि सर्वोपरी छ, जेसिजको आस्था पाठको यो पंक्ति बार्बराको सम्मानमा
श्रद्धापाठ गर्न चाहन्छु|
No comments:
Post a Comment