सुबोधराज प्याकुरेल.
चाहे जापानका प्रधानमन्त्रीको कुरा गरौँ वा कोरियाका राष्ट्रपतिको अथवा भर्खर निर्वाचित थाइल्यान्डकी प्रधानन्त्रीको सबै जना आफ्नो क्षेत्रका व्यवशायीक कुशलता र सफलताको असल रेकर्ड बनाएका मान्छे हरु हुन. बाराक ओबामाले आफ्नो ख्याती बौद्धिक र अलग धारका प्रस्तावकका रुपमा बसालेका थिए. बुशबाट हातले मतदान पत्र नगनिए वापत मात्र पराजित अल्गोरे अहिले विश्व बिख्यात वातावारण सम्बन्धी प्रवचक हुन. उनको प्रवचन सुन्न विश्वबिद्यालयहरुमा बिद्यार्थी र अन्य जिज्ञाशुहरुको भिड लाग्ने गर्छ. नेल्सन मण्डेलालाइ उनको सकृय राजनीति पछि संयुक्त राष्ट्र संघलद्वारा बालअधिकारको क्षेत्रमा अलंकृत गरिएका बालअधिकार नेता हुन. र उनको इज्जत पहिले भन्दा बढेको छ. थाइल्यान्डका पुर्व प्रधानमन्त्री थाक्सीन यति लोकप्रिय थिए कि उनलाई सेना र कुलीन वर्गको संरक्षक दरबारको कोपभाजन भएर देश निकाला हुनु पय्रो, उनको पार्टी माथि बन्देज लाग्यो, तर अहिले उनकै समर्थकहरुद्वारा स्थापित पार्टीले मज्जाले चुनाव जित्यो. कुलीन र दरवारियाहरुको केहि शिप लागेन. बैंककमा ठुला ठुला लगानी र कारोबार गर्ने सेनाका हाकिम र दर्जावालहरुको दमन र बिरोधको बाबजुद उनको पार्टीले चुनाव जित्यो. राजा अति लोक प्रिय छन भन्ने नाममा थाक्सिन बिरोधीहरुलाई ढाडस दिने रानीको र पुल्पुलिएका राजकुमारको पनि केहि लागेन.
आजको दुनिया तपाइले कत्तिको कौशल देखाउनु भएको छ, त्यसमा भर पर्छ. अनेक वाद र पोथाका मात्र पछि अन्धवेग समर्थन गर्ने युग सकिए. अबको सिद्धान्तले मानव जीवनको सेवाको भरपर्दो योजना प्रस्तुत गर्न सक्नु पर्छ. मान्छे संसार संग जोडिएको छ. उसको दैनिकी र उसको सृजनशीलता उपरको हस्तक्षेप आजको पुस्तालाई पटक्कै मन पर्दैन. राम्रा कुरा सुन्न र पत्याउन अब नेताको मुख ताक्नु पर्दैन. छर्लंग देख्न, सुन्न र बोल्न सकिन्छ. संचारले संसारलाई एकापसमा जोडी सक्यो. के कार्ल मार्क्स को जमानामा जिनाइटिक शास्त्र थियो? इन्टरनेट थियो? आउट-शोर्सिंग थियो? अहिले नेपालका शहरमा बिसौं तन्नेरी एकठाउँ बसेर बेलायत, अमेरिका र संसारका काम गरि रहेका छन. त्यहाँ कागज, कलम, केहि छैन. तिनको शोषण भएको छ कि छैन भनेर नाप्ने मापदण्ड हाम्रो देशका नेता र नियम कतै पनि छैन. यता तर्फ ध्यान दिने कि नदिने? यस्ता नया नयाँ चुनौतिको जवाफ दिने ल्याकत तपाईमा छैन भने कृपया अहिले नै जौ तील गरेर राजनीति छाडी हाल्नुस.
हाम्रोमा नेतालाई उहिले पालेकोमा, युद्धमा लडेकोमा, त्याग गरेकोमा, शहिदको परिवार भएकोमा सांसदको टिकट मागेर हैरान पार्ने हरुको भरमार छ. देश चलाउने संबिधान बनाउने हरुको बौद्धिक हैसियत कहिले काहीं टिठ लाग्दो देखिने गर्छ. तिनले बनाएको संबिधान बाट निर्देशित भएर न्यायाधीशले फैसला गर्नु पर्छ, हाकिमले कार्यकारी भूमिका निर्वाह गर्नु पर्छ, विद्वानले शिक्षा दिनु पर्छ, सम्पूर्ण संरचना चल्नु पर्छ. त्यसैले होला संसारका अधिकतम देशमा विद्वानहरुको टोलीले नै संबिधान बनाउने काम गय्रो. सर-सल्लाह बिस्तारित रुपमा गरेर नै लेखियो, त्यसमा शंका छैन. तर नेपालमा जस्तो विज्ञहरुलाई धारे हात लगाएर राजनीतिको आगो ताप्ने काम अन्त भएन अथवा, बिरलै मात्र भयो. हाम्रै संबिधान सभामा हेर्नुस थोरै सभासदले यत्र तत्र भ्याउनु परेको अवस्था छ.
संचारको युगले ज्ञान र सूचना बायु बेगमा फैल्याउने जमाना आएको छ. अब मानिसलाई पछाडी राख्न सकिन्न. धेरै दिन अल्मल्याउन पनि सकिन्न. अब अनुशासनको परिभाषा समेत फेरिएको छ. आफ्नो उन्नतिमा बाधा नपर्ने हद सम्मको नियन्त्रण बाहेक अरु कुनै निर्देशन अबको पुस्ताले सुन्ने वाला छैन. आर्थिक अधिकार भनेको आफ्नो आर्थिक हैसियत उकाल्ने अधिकार हो. आर्थिक उपार्जन गर्ने र त्यसको भोग गर्ने अधिकार हो. आपसी सहमतिमा एक्लै वा सामुहिक उन्नतिमा लाग्ने अधिकार हो. कमाउने जति सबै शोषक हुन भने तपाइँ शोषण नगरी कमाएर देखाइदिनुस भने भने के जवाफ दिने? आर्थिक अधिकार भनेको कमाउनेको खोस्ने अधिकार त पटक्कै होइन. तर नेपालमा राज्यले जिम्मा लिनु पर्छ भन्ने नाममा मान्छे लाइ लम्पट बनाउने राजनीति धुमधाम संग चलेको छ. अर्काको पसीना र आम्दानी खोस्न सजिलो भएको छ.
बिकशित देशमा पूर्णकालीन राजनीतिमा लाग्ने मान्छे अत्यधिक कम हुन्छन. स्वीजरल्याण्डको कुरा नेपालमा खुब गरिन्छ तर त्यहाँका मन्त्री समेत कक्षामा पढाउन गएको मैले देखेको छुँ. उनीहरु अनुसन्धान र बौद्धिक योगदान गर्न मन्त्री बन्छन. मन्त्रीले नीति बनाउँछ, त्यसको अनुगमन गर्छ. यहाँ जस्तो टेण्डर स्वीकृत गर्ने, सरुवा-बढुवा गर्ने काममा हात हाल्दैन. सबभन्दा नालायक मान्छेका लागि राजनीति सजिलो रोजगारी बन्नु हुन्न. यस्तो रोजगारी जहाँ न शैक्षिक न प्राविधिक न अन्य बिशेषता चाहियोस. मान्छे लडाएर, झुक्याएर भोट जित्ने जमाना अब हामीकाहां बाट पनि अन्त्य हुनेछ. त्यो बेलाको लागि अहिले देखि आफ्नो क्षमता बिस्तारको तयारी नगर्नेहरु नेतृत्वबाट मासिने छन.
सबैलाई सक्षम कामदार, असल छिमेकी, ज्ञानी दौंतरी, इमान्दार साझेदार र गर्विलो सन्तान चाहिन्छ. यस्तो सामाजिक संरचना कसरी निर्माण गर्ने? एकले चाहेर त्यो पुरा हुन्न. आजको राजनीतिले सबैको साझा सरोकारको बिषयमा सामुहिक प्रयत्न हुने वातावरण बनाउनु पर्छ. सामाजिक संरचनाका लागि मान्छे खर्च गर्न तयार हुन्छ. यहि सामाजिक संरचना अन्तर्गत शिक्षा, स्वास्थ्य, अनुसन्धान, इन्धन, यातायात, सञ्चार आदि पर्दछ. यी बिषयमा जसले मन छुने, वास्तविक योजना र आफ्नो बिगतको सफलता प्रस्तुत गर्न सक्यो त्यसैले राजनीति जित्ने युग आउँदै छ. सामन्तवादमा बेगवान स्खलन आउँदै छ. यो स्खलन दिमागमा बसेको सामन्तवादमा आउनु पर्ने छ. जग्गा, जमिन, गुरु-कृपा सबै भएको परिवारका सदस्यको व्यक्तित्व बिकाश सबभन्दा अगाडी हुने सामाजिक वास्तविकताले गर्दा त्यहि परिवारका मान्छे जागीर देखि राजनीतिमा उपल्लो ठाउँमा पुगे. आफन्तलाई तान्ने मानिसको अन्तरंग चरित्र हो. यसले आफन्तको जमात बढाउने नै भयो. हुनत त्यहि सामन्त परिवार भित्रै बाट बुद्ध जस्ता ज्ञानीहरु पनि निस्किए. आजको युग त्यस्तो छैन. गाउँ त के राज्यको सीमानामा बाँधिएर मान्छेको क्षमता बस्दैन. विश्व बिख्यात गायक, संगीतकार, बैज्ञानिक, शोधकर्ता र उद्यमीहरु सीमाना काटेर संसार भरि ख्याती प्राप्त गर्न सफल भएका छन. गरीब परिवारमा जन्मिएकाहरु बिश्वका धनाढ्य बनेका छन.एउटा देशमा अवसर नपाएकाहरू अर्को देशमा गएर सम्मानित भएका छन. भारतका सिनेमा जगतमा नामी कहलिन सफल ५-६ जना नेपालीको सी.डी. मैले हेरेको थिएँ. अमेरिकामा फेसन डिजाइनमा नाम कमाउने देखि लिएर त्यहाँको राजनीतिमा पनि नेपालीहरु कहलिन थालेका छन. हाम्रै देशका ख्याती प्राप्त व्यक्तिहरु धनी, सामन्त परिवारका भए वापत नामुद र बिज्ञ भएका होइनन.
कुनै दिन यस्तो आउनेछ जब आम मानिसले असल, क्षमतावान व्यक्तित्वलाई झट्टै ठम्याउन सक्ने हुनेछन. असल र खराब, भरपर्दो र जाली सजिले चिनिने छन. सूचना संजालको बैज्ञानिक बिकाशले गर्दा हिसाब किताब लुकाउन पनि सकिने छैन. कसले के गय्रो भन्ने कुरा खोजबिन गर्न अति सजिला दिनहरु आउँदै छन. इन्टरनेटमा सर्च गर्दा सार्वजनिक जानकारी त तत्कालै पाउने भै हाल्यो. अहिले कोहि सार्वजनिक काम गर्न चाहन्छ भने उसले जवाफदेही र जिम्मेवार हुन सिक्नु पर्छ. अनिल चित्रकारले नौ मिनेटमा प्रस्तुत गर्ने कुरा भन्न ९ घण्टा लाग्नेका जमाना चाडैनै सकिंदै छ. उनले भनेका छन, पाटन मन्दीर बन्दा अमेरिकाको जन्म भएको थिएन. ८७ बर्ष अघि, संयुक्त राष्ट्र संघको स्थापना भन्दा अघि, नेपालले पशुपतिनाथको कोष बाट दास हरुलाई स्वतन्त्र बनाउने लक्ष पुरा गरेको थियो. तर अहिले त्यहि पशुपतिको कोषले बाल श्रम मुक्त गर्ने कुरा सोंच्ने कुरा त के गर्नु, त्यहाँका कर्मचारीको तलब पनि धान्दैन. उनले ठिक भनेका छन दायाँ-बायाँ सवा अरव जनसंख्याका बिकाशमान देशहरु बीच उभिएको देशले तिनको बिकाशको तापले न ताति धरै छैन. अहिले एक करोड मान्छे नेपालमा मोबाइल चलाउँछन्. जुन दिन एक करोड ले इन्टरनेट चलाउन थाल्ने छन त्यो दिन बाट नेपालमा वास्तविक क्रान्ति सुरु हुनेछ. स्वास्थ्य केन्द्र ठग्ने स्वास्थ्य कर्मी, किसान ठग्ने जे.टी.ए. देखि श्रोत ठग्ने उपभोक्ता समिति र तिनका नाइके नेताहरु लाइ इज्जत जोगाउन धौ धौ हुने छ. मैले वारम्बार भन्ने गरेको छुँ, यो देश बिगार्ने मुख्य लम्पट निकाय मध्ये एक दुर सञ्चार प्राधिकरण हो भनेर. दुर सञ्चार संस्थान लाइ निष्क्रीय बनाएर हाम्रा नेता-हाकिम अपराधी सांठ- गाँठ ले कुम्भीपाक नर्क बस्नु पर्ने अपराध गरेको छ. अहिले असलतम काम गरेको कुनै संबैधानिक निकाय छ भने त्यो निर्वाचन आयोग हो. त्यसले बनाउन लागेको विद्युतीय परिचय पत्र को बहु आयामिक उपयोग गर्न सकिन्छ. त्यसले दोहोरो र नक्कली मतदान असम्भव बनाइदिनेछ. कुनै मतदान केन्द्र बाट कुनै पनि क्षेत्रको मतदान गर्न सकिने छ. औंलामा मसी लगाउनु पर्दैन. बुढी औंला राख्ना साथ मतदाताको नालीबेली देखिने छ. अहिले यहि बुझेर अर्काको घर भत्काउनुलाइ नै राजनीति भनठानी आएकाहरु व्यापक बिरोधमा उत्रेका छन. तर जनतालाइ थाहा छ.
अबको केहि बर्ष भित्र नेतालाइ चिन्ने र चिनाउने क्षमतामा अजंगको बिकाश हुनेछ. सामाजिक सञ्जाल मार्फत तिनको बारेमा व्यापक चर्चा परिचर्चा हुन थाल्ने छ. जनताका बीचार, प्रतिवद्धता र जवाफदेहिता विद्युतीय माध्यम द्वारा तिब्र बेगले प्रचार हुन थाल्ने छ. जनताले वास्तविक र व्यावहारिक बाहेकका प्रवचन लत्याउन थाल्नेछन. तपाइँ हामीले कल्पना नगरेको चेतनाको शितल बतास चल्ने छ. नया संबिधानले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रावधान राखोस भन्छु म. पहिलो चुनावमा नभए दोश्रोमा जनताले सक्षम र व्यवहारिक व्यक्तिलाई मात्र छान्ने छ. पार्टी र पार्टीका हुद्दा बनेको भरमा रजाईं गरि आएकाहरु उत्तानो टांग लड्ने छन. नेपालमा त्यो दिन आउँदै छ, र, चाडैनै आउँदै छ. यो चुनौति बुझेर आ-आफ्ना संगठन लाइ ज्ञान गुण, इमान्दारीता र व्यवहारिक योजना को थलो बनाउन सक्ने हो भने बाँच्यो पार्टी, नभए लड्ने गोरुलाई राम भन्न मात्र सकिन्छ. काँध थाप्ने दिन गए.
०६८ असार २४.
No comments:
Post a Comment