Wednesday, July 20, 2011

प्रकाशोन्मुख कृतिको भूमिका

निलमशेखरजीले उहाँको रचना  मानव र जाति : अतिवाद र सहअस्तित्वको खेस्रा पढ्न दिनु भयो. ०५७ सालमै मानव शास्त्रको आँखाले उहाँले नेपालमा जातीय आन्दोलन वारे पुस्तक रचना गरिसक्नु भएको हो. यो बिषयमा म बिज्ञ व्यक्ती होइन. तर, ०६२को जन आन्दोलन पछि जातीय अधिकारको नाममा जातीय उन्माद चर्काउने र सामाजिक बिभाजनलाइ समाधान गर्ने वारे सार्थक उपाय खोज्नुको सट्टा त्यस बिभाजनलाइ राजनीतिक स्वार्थकालागि भजाउने काममा जसरि राष्ट्रब्यापी होहल्ला मच्चाउने काम भयो त्यसबाट आम नागरिक सरह म पनि चिन्तित भएकै हुँ. विश्व बैंकले भर्खर प्रकाशित गरेको विश्व विकाश प्रतिवेदन – २०११ ले बेरोजगारीलाई बिद्रोहको प्रमुख कारकका रुपमा चित्रण गरेको छ. गरिबी, परनिर्भरता र अशिक्षाले उग्रवाद, आतंकवाद, हिँसा, असुरक्षा र निरंकुशता भित्र्याउँछ. राज्यको काम सरहद भित्रको संसाधन र आम्दानीको समानुपातिक वितरणद्वारा मानव संसाधनको विकाश गर्नु हो. राज्य सबैको साझा हुन्छ. कानुन सबैमा समान समान ढंगले लागु हुन्छ. संयुक्त राष्ट्र संघको चार्टरले जात, वर्ण, धर्म, लिंग, बीचार लगायत कुनैपनि आधारमा बिभेद गर्न पाइन्न भन्छ. अवसरमा समानता मानव अधिकारको मूल जरा हो. समान अवसरको उपयोग गर्न सक्ने, प्रतिष्पर्धा गर्न सक्ने, सफल नागरिक तयार गर्नु राज्यको दायित्व हो. यसैले पछाडी पारिएकाहरु प्रति राज्यको बिशेष दायित्व हुन्छ. अन्यथा सक्षम समुदायलाई मात्र छानी छानी अवसरहरु प्राप्त हुने र अरु संधै पछाडी पारिने स्थित उत्पन्न हुन सक्छ. मानव अधिकारको बिश्व घोषणा पत्र को दफा २९ ले यसैलाई प्राप्त अधिकारको दुरुपयोग बिरुद्धको अधिकारको रुपमा ब्याख्या गरेको छ.
मानिस मगन्ते भएर होइन आफ्नै पौरखमा विकाश गर्न चाहन्छ. उसमा सृजना, सहकार्य, ग्रहणशीलता र वितरणको जन्म जात चरित्र हुन्छ. यसैले जीव, चराचर, दुश्मन वा आफन्तजनका असल काम कुराको अनुसरण गर्ने गर्छ. ज्ञानी, महात्मा संग मान्छेले उनको जात, थर र नगरिकता कहिल्यै सोधेन.
यस पुस्तकमा निलम शेखरले कुल, कबिला, देखि आधुनिक मानव सम्मको यात्राको विकाशक्रम सरल भाषामा प्रस्तुत गर्नु भएको छ. आपसमा सहवास गरेर सन्तान उत्पादन गर्न सक्ने सबैलाई एउटै जातिका ठान्नु पर्छ; माया- प्रेम- सन्तान उत्पादन र अभर पर्दा रगत चल्छ भने हामीमा फरक के छ र? नेपाल रामा पिथेकसका पाला देखि आदि मानवको बसोबास रहेको क्षेत्र रहेछ. उहाँले यो भूगोलको उत्तरपूर्वी युरोप लगायत तिब्बत र दक्षिण, महाभारत सम्मको सबै भूभाग संगको अन्तर सम्बन्धको इतिहास खोतल्नु भएको छ. जाति र देश बन्ने निरन्तरको प्रकृया वारे रोचक जानकारी मैले पाएँ. यो किताब पढी सक्दा मलाई लग्यो संयुक्त राष्ट्र संघले मानव विकाश सुचकांक त्यसै निकालेको होइन रहेछ. त्यहि सूचकांकको आधारमा नागरिकलाई अवसर र सुरक्षा दिने योजनाको खाका बनाउने जवाफदेही राजनीतिक संरचनाको निर्माण गर्ने हो भने जातीय सदभाव र सामुहिक विकाशको असल संस्कार निर्माण गर्न सकिन्छ. प्रकृति, शरीर र बाणीको अन्तरसम्बन्ध; वासस्थान, समाज र शासनको अन्तरसम्बन्ध ले कसरी संस्कृति, राज्य, सीमाना र सभ्यताको निर्माण अनि विनिर्माण गरेछ भन्ने कुरा जान्न चाहनेका लागि यो पुस्तक सहि श्रोत ग्रन्थ बन्न सक्छ. संघीय व्यवस्था, जातीय गठबन्धन जस्ता कतिपय पहिचानका विषयहरु जुन अहिले गंभीर सरोकारका मुद्दा बनेका छन, तिनको वारेमा कालान्तरमा मान्छेले टाउको दुखाउन नपर्ने दिन पनि आउला. लामा औंला र शरीर भरिका झ्यापुल्ले भुत्ला काम नपरेपछि हराउँदै गए जस्तै कतिपय कुरा हराउलान भने कतिपय नया कुराको उदय, अभ्युदय होला. कल्पना गर्न चाहनेलाई सुदूर, सुन्दर सभ्यताको संदेश दिनु भएकोमा प्रिय साथी नीलमशेखर लाइ धन्यवाद. उहाँ बाट निरन्तर ज्ञानवर्धक रचना र ज्ञानी संलग्नता को अपेक्षा राखेको छु.
सुबोधराज प्याकुरेल.
बिराटनगर-१५, हाल: ललितपुर.
०६८ साउन ०२.

No comments:

Post a Comment