Tuesday, July 12, 2011

जय शम्भो! शिव-रात्री कहिले?




                                                     


प्रचण्ड भन्छन; लाजमर्दो भयो. झलनाथ भन्छन; पातालमा सियो खोजे जस्तो भयो. अरु पार्टी भन्छन; सैनिक र ब्यारेकीकृत माओवादीलाई सरकारको नेतृत्व दिन सकिन्न. माओवादी भन्छ; हामीलाई सरकारको नेतृत्व देउ, हामी सारा समस्याको छु मन्तर कि वाचा गरेर समाधान गर्छौँ. 
राजनीति भनेको बैकल्पिक समाधानको दावी गर्नु हो. तर माधव नेपालको सरकारलाई हट्न बाध्य पार्दा झलनाथ र प्रचण्डको एउटै स्वर थियो; यो सरकारले संबिधान लेख्दैन, शान्ति प्रकृया पुरा गर्न सक्दैन, यसलाई तुरुन्तै हटाउनु पर्छ. प्रचण्ड; यो सरकार हटेको दुई घण्टामा सारा समस्या समाधान हुन्छ भन्थे. झलनाथ; यो सरकार अब एक हप्ता पनि टिक्दैन, जान्छ भन्थे. 
हामीलाई लागेको थियो यी दुई धुरन्धर, पार्टीका मुखियाहरूले पक्कै बिकल्प तम्तयार राखेका होलान. एक मनले भन्थ्यो; २२ दलको समर्थन यथावत छ, सरकारको पक्षमा बहुमत यथावत छ, अर्को विकल्प कहाँ बाट आउला? अर्को मनले भन्थ्यो; जोर अध्यक्षहरुले भनेपछि पक्कै गाँठी तयारी होला. त्यसमाथि घनघोर क्रान्तिकारी नागरिक समाजका "अगुवा" हरु लाठो, छापो बोकेर दाना पानी त्याग गर्दै रिले अनशन अनि के के गर्दै र लेख्दै आकाशै थर्काउँदै थिए; - माकुने को सरकार नालायक-पापी-हरुवाको सरकार, यहिहो तगारो, यो हिंडेपछी नेपाल सुखमय, स्वर्गिय हुन्छ, यसलाई लाघारौँ -. नेपालमा राजनीति चटके खेल जस्तो भएको बेलामा; क्या हो, क्या हो, वा नागरिक समाजका अगुवा र जोर-अध्यक्ष हरुको बोलि लपक्कै मिलिसकेपछि कुछ चमत्कार भै पो हाल्छ कि भन्ने लाग्याथ्यो, सत्य.बिना बिकल्प हावादारी झल्लाहरुको देश नेपाल भैसकेको त पत्तै पाइएन गाँठे ! 
संसदको दुई काम; सरकार बनाउने, कानून बनाउने. १० बर्ष देखिका कानूनका मस्यौदा संसदमा थन्किएका छन्,कस्ता अल्छे हरुले कानून-निर्माताको दर्जा पाउँदा रहेछन यो देशमा? अहिले त हुँदा हुँदा - सरकार बनाउँदिन, जा! भन्ने हरु पो पार्टीका मुखिया भएछन. काम नगरेको दिनको ज्याला पाइन्छ? पाइने भए सबै न्यायाधीश निर्णय गर्ने काममा तटस्थ बसिदिए? कर्मचारी काममा तटस्थ, पाइलट उडानमा तटस्थ बसिदिए के होला मुलुकको गति? जांच दिने विद्यार्थी र परिक्षक पनि तटस्थ बसिदिनु, प्रहरी-प्रशासक पनि तटस्थ बस्नु. खै के भो यो मुलुकलाइ; झलनाथ-प्रचण्डको उर्दी यस्तै छ र पछ्याउने दासहरु सभासद को तनखा डकारेर शानले बिराजमान छन्. प्रचन्डले त मिडियालाई यो पनि भनिसके की उनी झलनाथजीले भनेकाले उम्मेदवार बनेका हुन. त्यसमाथि प्रचण्ड भन्छन; यो व्यवस्थाको कमजोरी. रामचन्द्र भन्छन; मेरो पार्टीले त छानेकै छ, नछान्ने को पो दोष. 
१२ दिन सहमतीय सरकारको निर्माण गर्ने समय थियो. नसकेपछी बहुमतियको प्रकृया आरम्भ भयो.अब झलनाथ भन्छन बहुमतीय मान्दिन.यो त रिक्सा चढ्ने अनि गुडाएर होइन उडाएरै पुय्राएको हुनु पर्छ भनेर लड्डी कस्ने जस्तो भएन र? 
जय शम्भो! शिव-रात्री कहिले हो? गाईजात्राले त रौँ हल्लाउन सकेन.

September-07/2010
भदौ-२२, २०६७. काठमान्डू.

No comments:

Post a Comment