सम्माननीय प्रधानमन्त्री ज्यु,
आजको युग क्षमताको पहिचान र सम्मान गर्ने युग हो. र,
क्षमताको पहिचान र सम्मानको संस्कृतिले राष्ट्रहरुको सीमाना नाघी सकेको छ. आजै
मात्र एकजना नेपालीले जुके, गडेउले हिडाईमा अमेरिकामा गिनी रेकर्ड बनाएछन.
नेपालबाट गएका रौनियार जी अमेरिकी कांग्रेसको चुनाव लड्दैछन. नेपाली डीजाइनर ले
बनाएको पोशाक बेलायत र अमेरिकामा प्रख्यात
छ. बम्बई सिने जगतमा कति नेपालीले शानदार योगदान गरेका छन. सोनी टेलिभिजनको
लोकप्रिय कार्यक्रम सी आइ डी का अधिकांश सर्जक, प्राविधिक नेपाली नै छन. बाग्लुंग,
पर्वत, स्यांग्जा , नवलपरासी, इलाम तिरका किसान नया नौला खेती, पशुपालन, साना
जलबिद्युत गर्दैछन. आजको एउटा समाचारमा साना जलबिद्युतका अगुवा, पुर्व सांसद हरि
बैरागीले भनेका छन – “ राजनीतिको नामका गुण्डागर्दीबाट मुक्ति पाउने हो भने
नेपालको जलबिद्युत उत्पादन प्रक्रियाले द्रुत गति समात्ने थियो “.
तपाइले विद्यार्थीकालमा देखनु भोग्नु भएको थियो होला, अब्बल र बहुप्रतिभाशाली
बिद्यार्थीहरु राजनीतिमा सामेल हुन्थे. तिनलाई आदर्श मानेर अरुले पच्छ्याउँथे.
सी.पी मैनालीको कथा तपाईलाई थाहै होला. मोदनाथ प्रश्रित, बिष्णु मानन्धर,
तुलसीलाल, हरुले आफ्नै जीवनमा पनि उदाहरणीय व्यवहार गरेका थिए. ऋषि देवकोटा “ आजाद “ र मोदनाथ की पत्नी हरुले स्थापना गरेको उदाहरण अहिले पनि
अतुलनीय छ. पुष्पलाल र मनमोहनले गाउँ घर डुल्दा त्यहाँका उदाहरणीय किसान, शिक्षक र
समाजसेवीहरुलाई भेट्ने, उनीहरुबाट सिक्ने र उनीहरुलाई आफ्नो पार्टीमा आवद्ध गराउने
गर्नु हुन्थ्यो. तपाइँ स्वयमको ध्यान रटनते बिद्या मात्र कहिले भएन. गीता, पुराण मात्र होइन अनेक ज्ञानवर्धक अध्ययन तपाइले
विद्यार्थीकाल मै गर्नु भयो. तिनै पण्डीतहरुबाट ज्ञान हासिल गर्नु भयो जस मध्ये
कतिपय तपाईका अनुयायीहरुबाट अनेकन प्रकारले प्रताडीत भए. राजनीति माउ नीति भएकोले
असल माउ व्यवहार अर्थात अरुको वास्ता गर्ने, तिनको संरक्षण गर्ने, तिनलाई असल
काममा सहकार्य गर्न अभिप्रेरित गर्ने व्यवहार पनि राजनीतिमा संग्रहित होस भन्ने
चाहना तपाइँ सम्मको पुस्तामा जेन तेन संघर्षरत छ. संघर्षरत छ तर पराजय उन्मुख छ.
कारण तपाइको समयको राजनीति मुतको न्यानोको त्राण भोग्न अभिसप्त छ.
अहिले राजनीतिज्ञ भनेको
त्यस्तो प्राणी हो जसको बारी उजाड हुन्छ, जसका छोरा छोरी शिक्षामा नालायक, सामाजिक
कार्यमा नकारात्मक, व्यवहारमा उज्जंड हुन्छन. जसको घरमा महिलाहरु पाहुनाको सत्कार
गर्दा गर्दै लोथ हुन्छन. जसको घर बेथितिले भरिपूर्ण हुन्छ. जुन अल्छेले करेसा
बारीमा एक मुठी धनिया उमार्न सक्दैन; आफु भन्दा तन्नम छिमेकीले आफुलाई व्यवस्थित,
सुरक्षित गरेको देखेर सिक्ने हैन डाहा मात्र गर्न जान्दछ; चन्दाको नाममा जबर्जस्ति
असुली गर्दै सित्तैको आम्दानी, कार्यकर्ता मार्फत गरिने लूट खसोट खाएर भुंडे
भएको परजीवीको रुपमा आजको नेताले आफ्नो परिचय बनाएका छन. जसले आफ्नो सानो
परिवार पाल्ने ल्याकत राख्दैन, जसले एउटा परिवारको बिकाशको योजना बनाउन सक्दैन, जसले
एउटा परिवारलाई आत्मनिर्भर बनाउन सक्दैन त्यसले सिंगो देशको विकाशको योजना बनाउन,
सिंगो देशलाई आत्मनिर्भर बनाउन सक्छ भनेर कसरी बिश्वास गर्नु भनेर जनता रन्थनिएको
बेला छ. यहि बेलामा तपाइँ पुर्व नेताहरुलाई अनेकन सुबिधा थप्ने योजना
सार्वजनिक गर्दै हुनुहुन्छ. कृपया तपाइको मात्र होइन ति बबुराको इज्जतको लंगौटी
जोगाइदिन भएपनि यस्तो योजना नबनाईदिनुहोस.
धेरै गरिब, बेसहाराहरुलाई राज्यको सहायता चाहिएको बेला छ.
कमसेकम तपाइँ सबैले दैनिक पत्रिकामा मुटु रोगी, क्यान्सर रोगी हरुले गरेको आर्तनाद
पढ्नु हुन्छ होला. तपाईलाई थाहा छ? मरेका मान्छेको लास राख्ने उपयुक्त मुर्दा-
घर नेपालमा एक ठाउँ, त्री.बी. शिक्षण अस्पतालमा मात्र छ. अन्यत्र पोस्ट-मार्टम
गर्नु अघि ति लास कुही सकेका हुन्छन. सदगत गर्न आफन्त कुर्दा कुर्दै लासहरु सडी
सक्छन. कुरा धेरै छन. तपाईलाई सुनाउने बिदुषकहरूले यो कथा कसरी सुनाउने हुन. म
जस्ता मान्छेहरुले प्रतिक्रियाको
प्रतिक्षामा बस्न बाहेक के गर्न सक्छौं र?
सुबोधराज प्याकुरेल,
अध्यक्ष, इन्सेक.
June-12/2012, Jestha-30/2069
www.SubodhFreenep.blogspot.com
No comments:
Post a Comment