Wednesday, June 13, 2012

भजनराम चौधरी:




भजनराम इन्सेकका अधिकृतका रुपमा पछिल्लो अवधिमा बढी चिन्हिनु भएको थियो. ०५४ देखि यताको उहाँको लगातारको संलग्नताका कारण यो परिचय भएको हो. तर उहाँको बिगतलाई हेर्ने हो भने उहाँ मानवअधिकार संस्थामा आवद्ध भएर अधिकारकर्मी बन्नु भएको होइन. उहाँ एउटा असल, उद्धेश्ययुक्त, समर्पित मानवअधिकारकर्मी भएकाले इन्सेकमा आवद्ध हुन आइपुग्नु भएको व्यक्ति हुनुहुन्थ्यो. ०४६ को जनआन्दोलन पछि प्राप्त राजनीतिक स्वतन्त्रतालाई आर्थिक, सामाजिक, सांस्कृतिक स्वतन्त्रताको लागि प्रभावशाली औजार बनाउनु पर्छ भन्ने चेतानाकासाथ संलग्न क्रियाशील तन्नेरी हुनुहुन्थ्यो भजनराम चौधरी. ०४८ सालमा कमैया प्रथा र त्यसबाट पीडित हरुको अवस्था अध्ययन गर्ने इन्सेकको अग्रसरतामा गठित टोलीको उहाँ एक महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो. उक्त अध्ययनले देश, बिदेशमा तहल्का मच्चायो. नया प्रजतान्त्रकालका कतिपय राष्ट्रीय नेताहरु इन्सेकसँग रिसाए. उनीहरुलाई लग्यो कि हामी नया प्रजातान्त्रिक नेपालको बेइज्जत गर्ने काममा लाग्यौं. तर न-कोट्याई सत्य देखिन्न भन्दै भजनरामले बाँधा श्रम प्रणाली बिरुद्धको आफ्नो संगठित यात्रा अविरल जारी राख्नु भयो. स्थानीय रुपमा सचेतन प्रयास गरेर स्थानीय पहल र सफलताको प्रभावलाई राष्ट्रीय राजनीतिको तह सम्म नउकाली राष्ट्रीय ध्यान आकर्षित गर्न सकिन्न भन्ने ज्ञान उहाँ जस्तै भूमि संग गाँसिएका कार्यकर्ताले हामीलाई दिनु भएको हो. ०५० देखि ०५३ सम्म उहाँले कमैया सचेतना कार्यक्रमको संयोजकको भूमिका निर्वाह गर्नु भयो. ०५० मा उहाँ कमैया मुक्ति अभियानको केन्द्रिय तदर्थ समितिको सदस्यमा निर्वाचित हुनु भएको थियो. ०५१ माघ ११ देखि १३ सम्म आयोजित कमैया मुक्ति मंचको राष्ट्रीय सम्मेलनले उहाँलाई केन्द्रिय सदस्यमा निर्वाचित गरेको थियो. उहाँ ०५४ सम्म सो पदमा रहनु भयो. कमैया प्रथाको उन्मुलनकालागि उहाँले कमैयाहरुको घर घरमा संचेतना र संगठन निर्माण को काममा मिहिन ढंगले कम गर्नु भएको थियो. बाँधा श्रम उन्मुलनकालागि काम गर्ने सिलसिलामा उहाँले  पटक पटक स्थानीय जमिन्दारहरु बाट दुर्व्यवहार खप्नु पय्रो. कतिपय बेलामा उहाँलाई बिभिन्न धम्कि पनि दिइयो. तर पनि उहाँले हरेस खानु भएन. ०५४ सालमा इन्सेकको स्थाई कर्मचारीको रुपमा उहाँले सेवा प्रवेश गर्नु भएको हो. त्यस यता उहाँले मानव अधिकार शिक्षा, संस्थागत विकाश, कमैया मुक्ति, र सशस्त्र द्वन्द कालमा शान्ति अभियान लगायतका कार्यक्रममा अगुवाको भूमिका निर्वाह गर्नु भयो. बाँकेका दुर्गम गाउँहरु नरैनापुर, कटकैया, लक्ष्मणपुर बाट बिस्थापित ५०० भन्दा बढी व्यक्तिलाई भारत र नेपालका बिभिन्न ठाउँ  बाट फर्काएर पुनर्स्थापित गर्नु भएको थियो.  सशश्त्र द्वन्द कालमा मध्य पश्चिमका बिभिन्न जिल्लाबाट बिस्थापित, अपहरित र थुनामा परेका हरुको पुनरस्थापन गर्ने, शंका निवारण गरेर थुनामुक्त गर्ने काम उहाँले गर्नु भएको थियो. राप्तीपारीका भारतीय अधिकारी देखि वारी गाउँका मानिसहरु उहाँलाई अहिले पनि सम्झिने गर्छन. जस्तो सुकै असहज परिस्थितिमा पनि उहाँलाई बिचलित देखिएन. द्वन्दकालका माओवादी लडाका देखि सुरक्षा फौजका व्यक्तिहरु सबै संग उहाँले समदुरी र सौहार्द सम्बन्धका साथ मानव अधिकार र नागरिक सुरक्षाको वकालत गर्नु भयो. अप्ठ्यारो भन्दा अप्ठ्यारो परिस्थितिमा उहाँ तत्परताका साथ काम फत्ते गर्नु हुन्थ्यो .
उहाँमा आफ्नो व्यवशायिक कौशल विकाश गर्ने क्षमता पनि उच्चकोटिको थियो. गरेको कामको प्रतिवेदन बनाउने, त्यसको अभिलेख गर्ने काममा उहाँ सिद्धहस्त हुनुहुन्थ्यो. अडियो, भिडियो सबै प्रकारका सचित्र व्यहोरा गाँसिएका उहाँका प्रतिवेदन पढुं पढुं लाग्ने खालका हुने गर्थे. मुसुक्क हास्ने, कहिले नआत्तिने, सबैसंग मिजासिला व्यक्तित्वका धनी, अध्ययनशील भजनरामले थुप्रै सामाजिक संघसंस्थालाई सल्लाहकारको रुपमा सहयोग गर्नु भयो. अहिले उहाँको कर्मक्षेत्रका वासिन्दा उहाँको मृत्युले मर्माहत बनेका छन.
कैलाली जिल्लाको प्रतापपुरका भजनरामले स्नातक सम्मको शिक्षा हासिल गर्नु भएको थियो. दुई छोरी र एक छोराका पिता भजनराम कि बिधवा हीरा चौधरी हुनुहुन्छ. ०२७ सालमा जन्मनु भएका भजन को अल्पायुमै निधन भयो. बिहान प्रभात यात्रा गर्ने उहाँको बानी थियो. संधै पति पत्नी संगै घुम्न जाने गरेकोमा त्यो दिन उहाँ एक्लै निस्कनु भएको थियो. हीरालाई सन्चो थिएन. नेपालगंजको सिद्धार्थनगर मा रहेको आफ्नो घर पुग्न काट्नुपर्ने सुर्खेत रोड मा बाटो काट्नु अघिनै उहाँलाई दक्षीण तिरबाट आएको बसले नराम्ररी ठक्कर दियो. बाटोको बिल्कुलै देब्रेपट्टि हिडदा  पनि लापरवाह चालकका कारण उहाँको देहावशान भयो. चालकले अनुमति पत्र पनि  लिएका रहेनछन. एउटा लापरवाह व्यक्तिको गैर जिम्मेवार र गैर कानुनी व्यवहारका कारण हामीले मानवधिकारका असल कार्यकर्ता गुमाएका छौँ. नेपालगन्जका नागरिक अधिकार र मानव अधिकारका क्षेत्रमा संलग्न संस्था र व्यक्ति हरुले उहाँको स्मृतिमा भजन चौधरी स्मृति सहयोग तथा अक्षय कोष स्थापित गर्नु भएको छ. देशका राष्ट्रीय स्तरका जति पनि अधिकारकर्मी मध्य पश्चिम, नेपालगंज पुगे तिनले भजन बाट प्राप्त सहयोगलाइ सम्मान पुर्वक सम्झिएका छन.
नेपालगंज, मध्य-पश्चिम र सिंगो देशको मानव अधिकार आन्दोलन प्रिय भजन प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्छ र उहाँको सपना साकार गर्ने प्रण दोह्य्राउँछ.
नागरिक दैनिक, नेपालगंज संस्करणका लागि.
०६९ जेष्ठ ३१, जुन-१३/२०१२.

No comments:

Post a Comment