Tuesday, April 10, 2012

नेपालका ‘ असल ‘ कम्युनिष्ट



दुनियामा हरेक विषयमा प्रकृयाको महत्व हुन्छ. पूर्वेली बौद्धिकताले पाइलैपिच्छे यो सवालमा मार्गदर्शक सिद्दान्त निरुपण गरेको छ. महाभारत युद्ध  र युद्ध पुर्व पुरा गरिएका प्रकृया त्यसका साक्षि हुन. साम्यवादीहरुमा सिद्धान्तको अपब्याख्या गर्ने रोग आज देखिको होइन. सिद्धान्तलाई शब्दहरुमा अपब्याख्या गर्ने र सर्वोच्च नेतृत्वलाई त्यसको एकाधिकार प्रदान गर्ने अनि सर्वोच्च नेतृत्वले सम्पूर्ण प्रकृयालाई तोडेर अन्तिम निष्कर्ष जारी गर्ने चलनका कारण विश्व कम्युनिस्ट आन्दोलनले नपाउने गोता पाएको छ. र, यसको गाँठी कारण भनेको नेतृत्वले मनपरी ब्याख्या गर्न पाउने, उसलाई कुनै प्रकृयाले नबाँध्ने चलन हो. यो महारोग लेनिनको सोभियतसंघ ले भोग्यो. माओको चीनले भोग्यो र अहिले किम को उत्तर कोरिया र कास्ट्रोको क्युबाले भोगी रहेको छ. भेनेजुएला लगायत ल्याटिन अमेरिकी देशहरु जहाँ मार्क्सवादी हरु सत्तामा छन् तिनले पनि यस्तै अपशकुन भोग्दै छन्. नेपालमा मदन भण्डारी मात्र यस्ता नेता थिए जसले प्रकृयालाई स्थापित गर्ने सिद्धान्त स्थापित गरे. असन्तुष्टिलाई जीवन्त राख्दै प्रकृया मार्फत फड्को मार्ने कुराको बैज्ञानिक कार्यादेशको प्रतिपादन गरे. तर की मानि हाल्ने की च्वाट्टै छाड्ने महारोगले उनीपछिका नेतृत्वलाई पनि छाडेन.
अहिले कार्लमार्क्स जीवित भएका भए के सोच्थे होलान. एरिक होब्स्वाम ले दुनिया कसरि बदल्ने ( हाउ टु चेन्ज दि वर्ल्ड) भन्ने पुस्तकमा मार्क्स फ्रान्सेली समाजवाद, जर्मन दर्शन र बेलायती राजनीतिक अर्थशाश्त्र बाट प्रभावित थिए भनेर उल्लेख गरेका छन. फ्रान्सेली क्रान्तिले अर्थ-राजनीतिको अन्तर सम्बन्धका कारण हुने संघर्ष बाट उत्पन्न हुने परिणाम देखेको थियो. एंगेल्स ले व्यक्ति, परिवार र राज्य सत्ताको उत्पत्ति नामक कृति मार्फत मार्क्सवादले कसरि राज्य र व्यक्ति को सम्बन्धलाई कति मजबुतीका साथ र कति व्यवहारिक रुपमा अंगिकार गरेको छ भन्ने कुरा प्रष्ट पारेका छन्. मार्क्सले उन्नाइसौं शताब्दीको पुँजीवाद घरि स्फीति घरि मन्दी घरि अल्प उत्पादन र घरि अति उत्पादनको को चपेटामा परेको कुरालाई पुँजीवाद को अवश्यम्भावी महारोग को रुपमा ब्याख्या गरे. पुंजी जम्मा गर्ने र त्यसको प्रयोग र पुनर-प्रयोग थप पुंजी जम्मा गर्न उपयोग  गर्ने चलनले सबभन्दा कमजोर लाई सबभन्दा जोखिममा पारि दिन्छ र सामाजिक द्वन्द बढाउँछ भन्ने कुरा उनको कृति पुंजी मार्फत उनले स्थापित गरेका छन्. बढी भन्दा बढी कमाउने र जम्मा गर्ने लालसाले सीमा नाघ्दै गएर उपनिवेश बनाउने, अर्को देशका नागरिक लाई दास बनाउने जस्ता बिकृति ल्याएको कुरा सबैलाई थाहै छ. तर मार्क्सको पनि सीमा हरु थिए. उनको बेलामा अहिलेको इन्टरनेटको युग थिएन, मान्छेको मनोबिज्ञान को सम्परिक्षण गर्ने जिनाइटिक बिज्ञान पनि थिएन र सामाजिक अनुसन्धान लाई सत्यनिष्ठ बनाउने यति परिपक्व मानव क्षमता पनि थिएन. त्यति मात्र होइन आफ्नै विनाशकारी क्षमता संग आफै डराउँदै गएको विश्व राजनीतिक नेतृत्वको मनस्थिति पनि थिएन. जितेरै छाड्ने वा हारेरै सिद्धिने युद्धको युग अब लगभग सक्किएको छ. बीच बचावका लागि संयुक्त राष्ट्र संघ र सबैले मान्नु पर्ने अन्तर्राष्ट्रिय कानुनहरुको निर्माण भएको छ. चिली का शासक पिनोशेले आफ्नो देशको कानुन मार्फत नै दण्डमुक्ति लिएका थिए तर बिदेशमा पक्राउ परेर सजाय भोग्नु पय्रो. श्रीलंका भर्खरको उदाहरण छ जहा तमिल बिद्रोह दबाउन राज्यले गरेको युद्धका सन्दर्भमा भएका अत्याचार को छानबिन संयुक्त राष्ट्र संघले गर्ने कुरा अब लगभग तय भै सकेको छ. अबको युग सबै राम्रा सिद्धान्तको उपयोगको युग हो. व्यक्ति व्यक्तिको क्षमताको उन्नति र पहिचान को युग हो. २१ शौं शताब्दीले मान्छेलाई उसको क्षमता र योगदानले चिन्छ. प्रतिष्पर्धी क्षमताले चिन्छ. बैज्ञानिक अभिलेखले मान्छे चिनाउँछ. असल मान्छेले आफ्नो व्यवशायिक कौशल मार्फत आफुलाई चिनाउनु पर्छ. लकिर का फकिर हरुको युग सक्कीई सक्यो. तर हेर्नुस हाम्रा नेताहरु, पञ्चायतकालमा पार्टी प्रतिवन्धित हुँदा चोर बाटो बाट राजनीतिक चेतना का लागि स्थापना गरिएका शिक्षक, बिद्यार्थी, ट्रेड युनियनमा आ-आफ्ना संस्था खोलेर अहिलेको खुला परिवेशमा पनि बिभाजित छँदै थिए तर  त्यत्तिले पनि नपुगेर ब्यापार व्यवशाय लगायत कर्मचारी संगठन समेत आ-आफ्नै खोलेर बसेका छन्. एउटै मान्छे लाइ व्यवशाय-जन्य, जात-जन्य र क्षेत्र-जन्य अनेकन संस्था मा आवद्ध पारेर समानान्तर जिम्मेवारीमा कस्दै छन्. भगिनी संगठन हरु मुलत: पैसा, चन्दाको काममा लगाइएका छन्. अनि पार्टी संगठनले चाहिं के काम गर्ने त? उही कहावत छ नि  -‘ काम नपाएकी बुहारी के गर्छे?, पोख्छे, ढोल्छे, उठाउँछे, केलाउंछे, अनि फेरी पोख्छे, ढोल्छे.’ (काम नपाएको छोरोले पनि त्यस्तै कुछ गर्ला तर समाजमा चलन चल्तीमा यस्तै शब्द प्रख्यात छ).
लेनिनले संबिधानसभाको निर्णय मानेनन र जबर्जस्ति सशस्त्र आन्दोलन मार्फत राज्य कब्जा गरे? के आजको युगमा त्यो सम्भव छ? त्यति बेला प्रकृया मिचेर  बोल्शेभिक ले गरेको सत्ता कब्जा को बिरुद्ध ट्राटस्की र रोजा लगायत ले बिरोध गर्दा उनीहरुलाई गद्धार भनियो. माओले संस्कृतिक क्रान्तिका नाममा निर्वाचित जन प्रतिनिधी र रितपुर्वकका जगिरेहरुलाई आफ्ना पिछलग्गु हुल्याहा लगाएर गलहत्याए. दुवै देशका नागरिकको नया पुस्ताले अहिले त्यसको परिणाम भोग्नु पय्रो. सोभियत संघ आत्मनिर्णय को अधिकारको नाममा टुक्रियो. चीनका जनता जिल्ला छाड्नु अघि सरकारी स्वीकृति लिन अभिशप्त छन्. दुवै देशमा आम्दानीको भिन्नता डर लाग्दो छ. अहिले पनि पुरानै धंगधंगी को पुलिस राज्य छ. मदन भण्डारीले संसदीय प्रणाली मार्फत आफ्ना कुरा जनतामा राख्ने र कानुन मार्फत सामन्तवादको आधार समाप्त परेर नौलो जनवादी राज्यसत्ता स्थापित गर्ने सिद्धान्त प्रतिपादन गरेका हुन. अहिले माओवादीका बीचार समुह हरु एक आर्का लाई एमाले पन्थी भन्दै आरोपित गर्दै छन्. उनीहरुलाई राम्ररी थाहा हुनु पर्ने हो की अब को युग कानुन को शासनको युग हो र जबर्जस्तीको हालत के हुन्छ भन्ने कुरा त ज्ञानेन्द्र देखि गद्दाफी सम्म बाट बुझ्नु पर्छ. अनि कानुनको शासन भनेको जन अदालतको कानुन होइन. सभ्य संसारले मानेको कानुन हो.
मार्क्सले जहिले पनि बलियो तर जनताको प्रत्यक्ष अनुगमन नियन्त्रणको सरकारको वकालत गरे. नागरिक स्वतन्त्रताको बारेमा उनले सविस्तार उल्लेख गरे. श्रमजीवीको बारेमा उनि रिकार्डो को जीवन स्तर को सिद्धान्त बाट अभिप्रेरित थिए. आजका हाम्रा नेपाली ‘ असल ’ कम्युनिस्ट  के बाट अभिप्रेरित छन्? पेरुका गोन्जालो गुरु बाट? की बातै पिच्छे उनले भन्ने गरेको, उनीहरुले कदापी नचाहेको ‘ बिहार ‘ बाट ? की बन्दुक र सेना बाट? के नेपालीले संधै बन्दुके हरुका लागि आफ्नो आर्थिक जीवन त्याग गरि रहनु पर्ने हो?
पछिल्ला चरणमा हिंसात्मक आन्दोलन हरु कसरी जबर्जस्ति असुलीको अम्मली बन्छन, असुली  गर्न जान्ने हरु हाबी हुन्छन भन्ने बारेमा दक्षिणएसियाली सशश्त्र मिलिसिया शिर्षकको पुस्तकमा अनुसन्धानात्मक प्रतिवेदन प्रस्तुत गरिएको छ. उक्त पुस्तकमा नेपालका माओवादीले कसरि जातीय अपेक्षालाई उपयोग गरे भन्ने पनि दर्शाइएको छ. सैनिक, शैन्य र जबर्जस्तीको पनि हद हुन्छ. कुनै दिन जय कृष्णगोइत पनि १०-२० हजार सेना समायोजनको माग सहित वार्तामा आउलान. तिनलाई चाहिं के गर्ने? की तिनलाई सखाप पार्न अर्को लाल सेना बनाउने?   

No comments:

Post a Comment