Thursday, April 12, 2012

आगो लगाएपछि निभाउन जानिन्छ:




                                                                                                                   ०६८ चैत ३०.
०४७ को संबिधानले जनताको सार्वभौम सत्ता स्थापित गरेको थियो र राजालाई संबैधानिक बनाएको  थियो. कुनै पनि कानून व्यवहार बाट र त्यसको न्यायिक ब्याख्या बाट मात्र परिपक्व हुन्छ. तर ०४७ पछिका हाम्रा नेता संबिधान को कमा, फुलिस्टप फेरिन्न भन्दै हल्ला गर्नमै व्यस्त रहे. प्रजातन्त्र त आयो तर नेताको मथिंगलमा रहेको सामन्तवादले जर्खरिएर काम गरी रह्यो. संसदले पारित गरेर पठाएको कानुनलाई राजाले महिनौं च्यापेर राख्दा, राजदुत र माथिल्लो सदनको सदस्यमा आफ्नो मान्छे खोज्दा पनि नेताहरुले चुइक्क बोल्न सकेनन. मष्तिष्क भित्रको सामन्तवादले यसरी काम गरी रह्यो कि प्रधानमन्त्रीलाई बर्खास्त गरी पाउँ सरकार भन्दै नारायणहिटीको ढोकामा बिन्ति चढाउन सम्म भ्याए. प्रजातन्त्र र आर्थिक स्वतन्त्रताको नाममा भएका जति सबै सार्वजनिक संस्थाहरुलाइ रोगी बनाइयो. कौडीको मोलमा बेच्ने तारतम्य मिलाइयो. शिक्षा, स्वाश्थ्य, मल, बिउ सबै निजी क्षेत्रको ब्यापारको जिम्मा लगाइयो. मुक्त व्यापार अर्थतन्त्रको नाममा जनतालाई दिइने गरेको नुन-चिनी-पानीमा समेत सरकारी अनुदान हटाइयो. पञ्चायत व्यवस्थाले विश्व बैंकको निर्देशनमा २०४० तिरबाट द्रुत गतिमा अगाडी बढाएको ब्यापारीलाई सरकार बनाउने नीतिलाई अझ गतिका साथ ०४६ पछिका सरकारले अगाडी बढाए. अरुण बिद्युत योजनामा मझौला र ठुला आयोजना बनाउनु परे एसियाली विकाश बैंकको स्वीकृति लिएर मात्र गर्ने शर्त बन्देज समेत मान्न शासक तयार भए. जसरि भएपनि संसदमा बहुमत पुय्राउनु, सरकार बनाउनु लाइ नै राजनीतिक लक्ष बनाइयो. संसदमा राजावादी सांसदहरुमा बरु विवेक देखियो, बहुदलीय नेताहरुले आफ्नो कुनै हैसियत बाँकी राखेनन. सांसद किनबेच र टुंडिखेलमा दर्ज्यानी वितरणको नौटंकी जब सम्पन्न गरियो त्यसपछी संसद भन्दा फोहरी अर्को कुनै कुम्भीपाक नर्क यो धर्तिमा छ भन्ने नै लागेन. नेताहरुले आफ्नै नेताहरुको, संस्थापकहरुको र बीचारकहरुको चेतावनी बिर्सिए. कांग्रेस ले बी.पी बिर्सियो, एमालेले मदन भण्डारी बिर्सियो. थोरै बाँकि असल नेताहरु फुर्तिवालका गुलाम भए. गणेशमान र मदन भण्डारीको निधन पछि बिग्रिन तम्तयारहरुले निर्वाध भ्रष्टीकरणको यात्रा सुरु गरे. कमसेकम आफैले बनाएको संबिधानमा उल्लेखित निर्देशक सिद्धान्तलाई त सम्झिनु पर्थ्यो? सरकारी ढुकुटीको ब्रह्मलुट त भन्सार छुटमा गाडी किन्न सांसदहरुले गरेको तँछाडमछाड बाट प्रमाणित हुन्छ. ०५१ सालमा मनमोहन अधिकारीले सफा र गाउँमुखी सरकार बनाए. त्यसलाई फुट्या आँखाले देखि सहेनन. जनतालाइ पार्टी पार्टी मा यस्तरी बिभाजित गरे  कि सबै विकाश निर्माण, अस्पताल, शिक्षा, खानेपानी  लगायत राजदुत, विश्व बिद्यालयका पदाधिकारी पनि पार्टी पार्टीमा बांडफांड गरियो. अहिले माओवादी त्यहि अनुभवलाई टेकेर सेनामा पनि माओवादी लडाकाको दर्जा खोज्दै छ. भन्सार छुटमा सयकडौँ गाडी लागि सक्यो. नभएका मानिसको भत्ता पचाई सक्यो. अर्काको जमिन सम्पत्ति खोसेर धनी भएको छ. र, खराब काममा प्रतिष्पर्धी बन्न सक्नु नै राजनीतिको पर्याय बनाउने मामिलामा माओवादीले सबैलाई उछिनेको छ. यस्ता अपराधका फेहरिस्त अझ धेरै छ. तर मुख्य कुरा देशलाई यस्तरी आगो लगाई सकेपछि त्यसलाई निभाउने कला त स्वतः: सिकिहालिन्छ. अहिले हाम्रा नेता त्यहि कला सिक्दै छन. राष्ट्रियताको पहिचानका आधारमा अर्थात स्थानीय पहिचानका आधारमा संघीय राज्य बनाउने उदघोष गरेको माओवादी आफ्नै बच्चाले खाइ सिध्याउने माकुरी भएको छ. त्यसमा नया मुल्लाका रुपमा मधेसी नेताहरु थपिएका छन. सबैलाइ थाहा छ कि जनता जात मा बिभाजित हुने पक्षमा र आफ्नो विभेदकारी बिगत को उपचारको नाममा अर्कालाई बिभेद गर्ने पक्षमा छैन. जनता सदाकालागि अर्काको दया निगाहमा बस्न चाहंदैन. उ आफ्नो क्षमताको विकाश गरेर प्रतिष्पर्धी बन्न चाहन्छ. तर नया सामन्तहरुको उदय भएको छ. ठिक ०४७ पछि बहुदलीय नेताहरु जस्तै राजनीतिका  नया सामन्त बनेर जातीय र मधेसीका नाममा बिभाजनको बिउ रोप्न तम्तयारहरुको जमात उत्ताउलो अभियानमा लागेको छ. कसलाई थाहा छैन यी सबै हुँकारको पछाडी एउटै लक्ष छ, आफु मन्त्री हुने र आफन्त को संभ्रान्तिकरण गर्ने. कुनै एउटाजाति  र समुदायको मान्छे सांसद र मन्त्री हुँदा समस्या समाधान हुन्थ्यो भने अहिले सबै मधेसी सम्भ्रांत भइसक्नु पर्ने हो. राजनीतिलाई यसरी प्रस्तुत गरिएको छ मानौं सबै बेरोजगार हरुको दूधभात हो राजनीति.
यति धेरै आगो लगाई सकेपछि पनि निभाउन जानेनन भने बिश्वका मुर्खको रुपमा अहिलेका हाम्रा नेताहरुको गणना हुनेछ. आगोलाइ आगोले निभाउन सकिन्न. आगो निभाउन पानी चाहिन्छ. को को हुन जो आगो लाइ आगो ले नै निभाउने कसरतमा लागेका छन भन्ने थाहा पाएका र भोगी रहेकाहरु पनि छन. तिनले मुख खोल्नु पर्छ र झट्टै जनता समक्ष यो सत्य प्रष्ट संग राख्न थाल्नु पर्छ. जनतालाई गुमराहमा राखेर कोठे र दुतावासीय बैठक मार्फत समाधान खोज्नेहरु सबैले एकै खाल्डोमा जाकिनु पर्ने दिन नजिकिंदै गएको छ. किनकि जनता अधैर्य भएपछी उसले विनाश मात्र गर्छ. ख्याल रहोस यो खडेरी र सुक्खाको मौसम हो.
सुबोधराज प्याकुरेल.
बिराटनगर, हाल, ललितपुर.
www.SubodhFreenep.blogspot.com

No comments:

Post a Comment