Sunday, May 13, 2012

फजुलको विवाद


                                                                                        सुबोधराज प्याकुरेल.
नेपाल यतिबेला फजुलको विवादमा फसेको छ. साट्ठी बर्ष पुरानो संविधानसभाको सपना बाँदरको हातमा नरिवल बन्न आँटेको छ. दोष कसको? यो देशका बुद्धिजिवीहरुको. बुद्धि को पनि बुद्धि, सिद्धान्तको पनि सिद्धान्त, नीतिको पनि नीति राजनीतिको जिम्मा लिएका राजनीतिज्ञहरुको. शब्दले सन्देश बोक्छ र मानसिक एवम भावनात्मक व्यवहार प्रकट गर्छ. सहि शब्दको चयन गर्न नसक्दा अकल्पनीय दुर्घटना निम्तिन सक्छ. सर्व साधारणले कानुन, नियम, व्यवस्था जान्दैन. उसंग गरिने दैनिकी व्यवहारका आधारमा आफ्नो अस्तित्वको लेखाजोखा गर्छ र धारणा बनाउँछ. त्यसैले नेता चाहिन्छ. बिपरितको चाहना, बैकल्पिक समाधानलाइ स्थापित गर्ने आँट नभएका हुतिहाराहरुले राजनीति गर्नु हुन्न. त्यस्ताले अर्को कुनै नेताको फेर समाउने सम्म त गर्लान तर समाधान दिन सक्दैनन. नेताले तर्क गर्छ, चेतना फैल्याउँछ र जनता बाट यस्तो भरोसा आर्जन गर्छ की कतिपय मामिलामा जनताले प्रष्ट नबुझे पनि उसलाई पच्छ्याउने गर्छन. त्यस्तै नेताले देश र भविष्य बनाउँछन्.
हामीकहाँ तर्क र विवेक बन्धकी राखेर मात्र राजनीति गर्ने हरुको हातमा हामीले हाम्रो भविष्य सुम्पियौं. यति बेला रुने पनि नैतिक, राजनीतिक अधिकार नभएका नागरिकका रुपमा हामी नेपाली दरिएका छौं. के यस कुराको ख्याल हामीलाई छ? कुन हुण्डरी र कुन भावुकतामा बगेर हामीले हिजो हाम्रो हातमा निर्णय गर्ने अधिकार आउँदा कस्तो फैसला रोज्यौं? माओवादीले सबै जातिलाई आ-आफ्नो राज्यको अकण्टक राजा बनाइदिने आश्वाशन बाँडेको थियो. नेपालीमा शब्दको कमि रहेको बिषय लाइ राम्रै संग उपयोग गरेको थियो माओवादीले. हरेक ठाउँको एउटा आम संस्कृति हुन्छ. जसरी बोट बिरुवामा ठाउँ अनुसारको रंगत र स्वाद फेरिन्छ त्यसैगरी मान्छेमा पनि स्थानीय संस्कृति को अन्तरघुलन हुन्छ. सिरहाको लामा र ओखलढुंगाको लामा जात, थर ले त एउटै हुन तर पुस्तौंदेखिको रहन सहन ले उनीहरुलाई आफु बसेको ठाउँ र संस्कृति संग एकाकार गराई सकेको हुन्छ. एउटै भाषाका पनि लवज, उच्चारण र तरिकामा ठाउँ पिच्छे भिन्नता बन्न जान्छ. पाटन, भक्तपुर र काठमान्डूमा बोलिने भाषा त नेवारी हो तर कतिपय लवज र चाड बाडमा अपनाइने बिधि बिधानमा फरक तरिका देखिन्छ. मधेसमा बस्ने पाहाडी हरुले बोल्ने नेपाली भाषामा प्रयोग गरिने हिज्जे, लवज, लवाइ खवाई र चाड बाडमा अपनाइने तौर तरिकामा पाहाड़का पाहाडी भन्दा फरकपन देखिन्छ. हामी बसुधैव कुटुम्बकम भन्ने नेपाली संस्कृतिका नागरिक. आज सम्म गाउँ घरमा हामी एक अर्कालाई साइनो गाँसेर सम्मान गर्दै हुर्किएका मान्छे. कसरि एकाएक कुनै एक जात थर का मान्छे हाम्रो दुश्मन बन्न पुग्यो? के नेपाल कहिले जातीय राज्य थियो? मुलुकी ऐन ले सजायमा भेदभाव गय्रो, र त त्यस्तो भेदभाव गर्ने राणा शासन गयो. नेपाल जंगली युग मा  फर्कन सक्दैन र कसको पुस्ताले कति सय बर्ष पहिले के के अपराध गय्रो भन्दै अनेक फत्तुर लगाएर राजनीतिको रोटी धेरै दिन सेक्न सकिंदैन. कबिलातन्त्रमा बिस्तार हुँदै अनेक थरिका मान्छे को बसोबास बढे पछि कविलायी चलनको भरमा समुदाय नचल्ने भयो र कानुन बनाउनु पर्ने, सिद्धान्तका आधारमा सहि र असल काम छुटयाउनु पर्ने भयो. राज्यको निर्माण संगै इस्तिहार, कानुनको चलन आयो. अहिले हामी पनि एक्काइसौं शताब्दीमा छौं. कसैले पनि यो युगमा कानुनको शासन मान्दिन भनेको छैन, भन्न पाउँदैन पनि. अनि के कानुनले जात छुट्याएर नागरिक अधिकार तोक्न दिन्छ? हामी धार्मिक रुपमा निरपेक्ष राज्य भै सक्यौं, अनि जाति सापेक्ष राज्यको हुंकार गर्नु जायज हुन्छ र? सामाजिक अन्तरघुलन यति व्यापक भै सक्यो. प्रेम बिवाह नया पुस्ताको अनिवार्य रोजाई बन्दै छ. शहरी राजश्व ले मुलुकको ६५ प्रतिशत  आम्दानी धानेको छ. बिश्वमा तिब्र गतिमा शहरी आप्रवाशन बढेको मुलुक भै सकेका छौं हामी. ३० लाख भन्दा बढी नेपाली विकाशशील देशको रोजगारीमा कार्यरत छन्. शहरी र बैदेशिक बसाइले हाम्रो अन्तरघुलनलाइ अझ तिब्र बनाइ दिएको छ. अमेरिकामा बस्ने सबै नेपाली नेपाली- अमेरिकनका नामले चिनिन्छन. बैदेशिक रोजगारीमा गएकाको परिचय पनि नेपाली मात्र छ. यस्तो बेलामा हामी बहसमा छौं की जाति जाति लाइ छुट्याएर जाति बिशेष लाइ अग्राधिकार चाहिन्छ. मानौं जातिले क्षमता दिन्छ, जातिले ज्ञान दिन्छ र हाम्रो नया पुस्ता लाइ रक्तको शुद्धता वादी १२ रौँ शताब्दीको जातिवादले खुसि पार्छ. सबैको गोत्र छ. मान्छे को जम्मा ४ प्रकारका रक्त समुह छन्. बुद्ध ले जाति  प्रथाको बिरुद्ध धर्मको उपदेश बनाए. हामी तिनका सन्तान चाहिं  जाति छ र घाम पानी  रहे सम्म रहन्छ भन्दै सडक सडक मा कुर्ली रहेका छौं. विश्व हरेक मुलुक को उन्नतिको स्तर त्यहाँको ज्ञान, बिज्ञान र अनुसन्धान का आधारमा मापन गर्ने युग मा पुगेको तिन शताब्दी भै सक्यो. अमेरिका किन अहिले पछाडी पय्रो भन्दा गएको ३ बर्षमा कुनै नया अनुसन्धानको परिणाम नआएकोले हो भनिन्छ. अहिले त्यहाँको अर्थतन्त्र आइफोन र आइप्याडले धानेको छ भनिन्छ. हामी क्षमता र बैज्ञानिकको कुरै गर्दैनौं. हाम्रो ध्यान नेताहरुको, मन्त्रीको, सरकारी कर्मचारीको हूल खडा गर्नुमा केन्द्रित भएको छ. त्यो पनि तिनै नेता जसले कमसेकम २०४७ देखि हामीलाई नै उल्लु बनाइ  रहेका छन्. गरीब, निमुखा को नाममा तिनै शक्तिशाली लाइ फेरी राजा बनाउने उधुमको खेलमा हामी रुमल्लिएका छौं. मुलुकमा उठेको होहल्ला देख्दा यस्तो लाग्छ मानौं एक प्रतिशत बयश्क लाइ पनि ठाउँ दिन नसक्ने राजनीति र सरकारी जागिरमा ‘ मेरो ठाउँ सुरक्षित छ’ भन्ठानेर मान्छेको हूल लागि परेको छ. हिजो एउटा जमात ले ठग्यो अब त्यहि बर्ग स्वार्थ भएको र त्यस्तै आचरण भएको अर्को थरी रोज्न हतारिएका छौँ. इतिहास नै खोज्ने हो भने असल इतिहास खोजौं, अनुकुलको अनुभव खजौं. हामीलाई थाहा छ मानव सभ्यता को उदय नदी किनार हरुमा भए. हामी कहाँ हाम्रो सभ्याताका मुहान बनेका यति पवित्र नदी, महानदी हरु छन्. किराँत संस्कृति को जगेर्ना गर्ने यलम्बर को एतिहासिक राज्य छ. बुद्ध र लुम्बिनीको संस्कृति अवध संग जोडिएको छ. सिम्रौनगढ़ अहिले पनि भोजपुरा संस्कृतिको पशुपतिनाथ हो. मिथिला संस्कृतिको केन्द्र हामी संग छ. राजधानीको खाल्डोको तमाम संस्कृतिलाई कान्तिपुर शब्दले बोक्न सक्छ. हामी संग साझा पहिचान र सम्मानका धरोहर यत्ति धेरै छ की सारा बिश्वका मानिसहरु यस प्रति नतमस्तक हुन्छन. यत्तिका ओजश्वी पहिचानका एतिहासिक काल देखिका सर्व स्वीकृत  आधार हुँदा हुँदै पनि हामी जातीय नाममा जातीय राज्य चाहिन्छ की चाहिन्न भन्ने बहसमा फसेका छौँ.
सबैलाई थाहा छ, धर्तीले मान्छेलाई पच्छ्याउंदै आएको होइन. मान्छे ले धर्तीलाई पच्छ्याएको हो. मान्छे फिरन्ते युगमा जहाँ पानी, हरियाली पाउँथ्यो त्यहि बस्थ्यो. लडाइमा जितेकालाई दास बनाउँथ्यो. खेति किसानी गर्न जाने पछि मान्छे ले आधुनिक युगमा प्रवेश को पहिलो पाइलो हाल्यो. औद्योगिक युगमा टेक्न निकै समय लागेको थियो तर औद्योगिक युगले सामन्तवादको अन्त्य नगरी भएन. किनकि जमिनमा सामन्तको कब्जा र मानिस हरुलाई सस्तोमा दास बनाएर  पनि सामन्तकै कब्जाले गर्दा कारखानामा काम गर्ने मजदूरको कमि भयो. ब्यापार गर्न बजार खोज्दै यत्र तत्र चाहर्नु पर्ने बेलामा जातीय विभेदले पनि बाधा पाय्रो. त्यसैले समयको माग थियो, सामन्तवाद गयो र जातिय भेदभावको प्रथा पनि बिकशित देश बाट गयो. नेपालको अर्थतन्त्र अबिकशित रहेको ले जाति  प्रथाले गाउँले जीवनमा बाधा पुगेन, उल्टो शोषण गर्न सजिलो भयो. त्यस कारण कानुनले निषेध गरेको झन्डै ५० बर्ष पछि पनि जातीय बिभेद घटेको छ तर समाप्त भएको छैन. यो भेदभाव अनकन्टार र अबिकशित अवस्थाका ठाउँ हरुको गुम्बा, मन्दीर र दैनिकीमा समेत देखिन्छ. हाम्रो जिम्मेवारी हो की हामी सामन्ति प्रथा जन्माउने कारण हरुको अन्त्य गरौँ. शोषण बढाउने नीति हरुको अन्त्य गरौँ. संस्कारमा रुपान्तरण गर्न आफ्नै परिवार, समाज र समुदाय भित्रै बाट लागि परौं. घर, गाउँ बाट उठेको यो असल प्रकृया ले हुर्काएको असल मान्छेलाई राजनीतिमा स्थापित गरौँ र अरुका लागि असल उदाहरण बनौं.
मानिसको पहिचान र इज्जत उसको क्षमता ले हुन्छ. शीपको प्राप्ति र प्रयोग का आधारमा मानिसको उन्नति हुने नहुने कुरा  निर्धारित हुन्छ. एउटै परम्परा, संस्कारका, एउटै आर्थिक अवस्थाका एका परिवारका दाजुभाईको आर्थिक-सामाजिक अवस्थामा पनि केहि बर्षमै अजंगको फरक देखिन्छ. जातीय परम्परामा कुनै जातकाले सेनामा जागिर नपाउने, कसैले कुनै खास पेशा मात्र गर्नु पर्नेगरि भेदभाव भएकै हो. नेपाल ले मात्र होइन यस्तो भेदभाव बेलायत, भारत ले पनि हाम्रै नागरिक संग गरे. नेवारलाई बेलायतीले सेनामा नलिने भएपछी नगरकोटी थर लेखेर भर्ना हुन गए. अबको युग भावना, भावुकता को युग होइन. सबै नागरिकको क्षमता बढाउने र उनीहरुलाई अवसरमा प्रतिष्पर्धा गर्न सक्ने क्षमतावान बनाउने युग हो. त्यसैले  संयुक्त राष्ट्र संघले मानव बिकाश सुचकांक निकाल्न थालेको हो. अवसरमा पहुँच र क्षमताका आधारमा मानिसको बर्गीकरण गर्न थालिएको हो. जो मानव बिकाश सूचकांकमा पछाडी छन् तिनले क्षमता बिकाशको अवसरमा अग्राधिकार पाउनु पर्छ. यसलाई राज्यले प्रगतिशील प्राप्तिको सिद्धान्त अन्तर्गत अङ्गीकार गर्नु पर्छ. छोरीहरुलाई शिक्षामा अगाडी बढाउन अतिरिक्त कक्षा संचालन गर्ने, आवासीय शिक्षाको प्रवन्ध गर्ने, अतिरिक्त कक्षा चलाउने आदि गर्न सकिन्छ. भएका शीपलाई आधुनिकीकरण गर्न सकिन्छ. फलानो ले लुट्यो अब मेरो पालो भने जस्तो गरेर हाम्रो उन्नति हुनेवाला छैन. बिकशित देशमा प्रत्येक नागरिक को पहिचान कार्ड बनाइएको हुन्छ. प्रत्येकको समग्र अभिलेख राज्य संग हुन्छ. राज्यले दिने सम्पूर्ण सुबिधा र सहयोग नागरिकको आर्थिक-सामाजिक हैसियत अनुसार हुन्छ. अबिकशित सुदुर पश्चिमका सबै क्षेत्रीलाइ पश्चिमका सबै थकाली भन्दा तल राखेर सरकारी सुबिधा बाट बन्चित गर्ने जस्तो सोलोडोलो नियम बनायौं भने पहिले बिकशित थकालीले चित्त दुखाउने छन्. जनताको यो मनोभावना र एकताको सम्मान गरौँ.
यो देश व्यापक सम्भावनाहरुले भरिपूर्ण देश हो. हाम्रा ३८ प्रतिशत  जनता १८ देखि ४० बर्ष बीचका तन्नेरी छन्. बरिष्ट नागरिकको जन संख्या ७ प्रतिशतको हाराहारी मात्र छ. त्यसमा पनि बहुसंख्या ५० देखि ७० बर्ष उमेर समुह को छ जसलाई जनसंख्या बिज्ञानले युवा-बृद्ध भन्छ. यस्तो अप्ठ्यारो बेलामा पनि जनता स्थानीय स्तरमा सामुहिक बिकाशका अनेक प्रयत्न मा लागेका छन्. तिनलाई सहयोग गरौँ. तिनको सम्मान गरौँ. मेलापात देखि दुर्घटना हुँदा सम्म संगै रमाउने, संगै रुने नेपाली नेपाली बीच अहिले जे जस्तो विभाजनकारी चर्तिकला भै रहेको छ र जसरि राजनीति जोड्ने होइन की तोड्ने खेलको रुपमा बदनाम भै रहेको छ त्यसबाट देशलाई मुक्त गर्नु हामी सबैको परम कर्तब्य हो. जनताले गरेका अनेक बिकाश प्रयास को तथ्यांक हेर्नुस, अथवा दुर्घटना का तथ्यांक हेर्नुस, सबै जात जातिका मान्छे त्यसमा पाउनु हुनेछ. यत्तिले मात्र पनि नेपालको बहुलता प्रष्ट्याएको छ. यो बहुलतालाई स्वीकार गरौँ. फजुलका विवादलाई  अस्वीकार गरौँ.
०६९ बैसाख ३१.

1 comment:

  1. It is excellent showcase article if you do not authorize to publicize.
    Intellectuals should be above than politicians so that a real solution can be found out for the best interest of the people whose name has been taken by all.
    New form of Colonization initiated by Western Countries through bilateral and multilateral agencies (even UN is solely mobilizing by USA in so called financial support (which is bankrupt country each 1 out of 6 are people are jobless after economy crisis WALL MART report ) are benefitted due to failure of political party cadres based sold intellectuals.
    Should be get rid of from these puppet intellectuals. if we really try to find out the right solution to the country..

    L B
    9841-334013
    apasmalb@gmail.com

    ReplyDelete