सुबोधराज प्याकुरेल
एघाह्र प्रदेश त जेनतेन हुनेभो जस्तो छ. जातीय, क्षेत्रीय
आदि सबै माग पुरा गर्ने छौँ भनेर नेता गणले मौका बेमौकामा बोलेकाले टालटुल गरेर भए
पनि पुरा गर्लान. अहिले परम्परागत, चालचलन, स्वभाव, संस्कृति आदिको कुरा जोड तोडले
उठेको बेला छ. धेरै समय गरिएको व्यवहारनै संस्कार, संस्कृति बन्छ भनेर शास्त्रीय
रुपमा हामीले सिकेका हौँ. योग कुमारी, लखन थापा देखि उन्नाइस सय नब्बे र त्यसयताका आन्दोलन हेर्ने हो भने
पनि जति पछि त्यति उग्र आन्दोलन तर्फ
हाम्रो मुलुकले शानदार विकाश गरेकै छ. त्यसमाथि हिंसात्मक र ध्वंसात्मक बिद्रोह वा
प्रतिकार गर्नुनै क्रान्ति हो भन्ने परिभाषा कामरेड उत्पातले स्थापित गरी दिनु
भएपछी उग्रता हाम्रो शानदार राष्ट्रीय पहिचान भैसकेको अवस्था बिद्यमान छ. नेपाल
आउने पर्यटक हुन वा तिर्थालु अथवा आफ्नो
काबुमा नरहेको सुत्केरी हुने आमा वा रोगी वा कतै बाट नेपाल फर्कने यात्रु सबैले अब
राम्ररी बुझी सकेका होलान कि नेपालमा बिद्रोह, आन्दोलन, हड्ताल आदि गर्दा आफ्नो
माग, दावी र तागत भन्दा बाहेक अरु कुनै कुराको हेक्का राखिन्न. हड्ताल अथवा बिरोध
लाइ प्रचार गर्नुछ भने मनपरी तोडफोड, छेकथाम, जबर्जस्ति पनि हुनै पर्छ.
यस्तो शानदार राष्ट्रीय क्रान्तिकारी परिचयलाई नया संबिधान
अन्तर्गत स्थापित हुने नया नेपालमा एउटा प्रत्यक्ष पहिचान दिनै पर्छ. एउटा
सानो-ठूलो जे भएपनि आन्दोलन प्रदेश बनाउनु पर्छ. प्रदेश बनाउन नसके कुनै जागरुक
प्रदेशले अथवा सके सबै प्रदेशले आन्दोलन स्वायत्त क्षेत्र भएपनि बनाउनु पर्छ.
त्यस्ता आन्दोलन प्रदेश वा आन्दोलन स्वायत्त क्षेत्रमा भाँच्न पाउने गरी बार
लगाइएको, सल्काउन पाउने गरी सवारी-साधन सडकमा राखिएको र हिर्काउन सजिलो हुने गरी
लाठी, मूंग्रा, ढुंगा आदि ठाउँ ठाउँमा थुपारिएको हुनुपर्छ. सल्काउन सजिलो टायर,
मुढा आदि पनि ठाउँ ठाउँमा राखिदिएको हुनुपर्छ. झम्पल, कोदालो, हथौडा, गैंती जस्ता
ध्वंस गर्न काम लाग्ने सामाग्री पनि यत्र
तत्र जसले झिके चलाए हुने-पाउने गरी राखिदिनु पर्छ.
आन्दोलन प्रदेश/स्वायत्त क्षेत्र लाइ बलियो
काँडे-तार ले घेर्नु पर्छ र ठाउँ ठाउँ मा मूल द्वार बनाइदिनु पर्छ. आन्दोलनकारी
हरु त्यहाँ छिरेपछि सबैखाले ध्वंस गर्न उनीहरु स्वतन्त्र हुनेछन. त्यहाँ भित्र
सुरक्षाको कुनै ग्यारेण्टी नहुने शर्तमा होटेल, प्रार्थमिक स्वास्थ्य केन्द्र पनि
राखिदिन सकिन्छ. पिउने पानी र अन्य पेय पदार्थ, पोस्टर लेख्ने कागज, मसी,
छापाखाना, लाउडस्पीकर, ब्यानर लेख्ने कपडा, रंग आदिको को प्राप्तिको सुनिश्चितता
गर्न सकिन्छ. यी त अतिरिक्त ब्यापार गर्ने हरुका लागि भयो. बिश्राम गर्ने थलो को
इन्तजाम जरुरी छ. एउटा कुरा प्रष्ट हुनुपर्छ कि त्यहाँ छिरेपछि देशको कुनै कानून
लाग्ने छैन.
आन्दोलन प्रदेश/स्वायत्त क्षेत्रको दायाँ बायाँ कमसेकम एक
सय मिटर पर तिर राम्रो पर्यटन केन्द्र, होटल आदिको स्थापना गर्न सकिन्छ. त्यस
केन्द्र बाट उठ्ने आम्दानीले तोडफोड गर्न किन्नु पर्ने सवारीका साधन,
तोडफोड-प्रचार सामाग्री र अन्य व्यवस्थापकीय खर्च उठाउनु पर्छ. आन्दोलनकारी संग
सामान्य प्रवेश शुल्क पनि लिन सकिन्छ. परस्पर बिरोधी अथवा सहकारी सबै समुहलाई
आन्दोलन गर्ने छुट त्यहाँ हुनेछ. नजिकै को पर्यटन केन्द्रबाट पर्यटक हरुले मज्जाले
आन्दोलनको रसस्वादन गर्न पाउनेछन. र, नेपालले विश्वलाई सर्वथा नौलो अनुभव दिनेछ.
आन्दोलन हेरे वापतको शुल्क लाग्ने गरी दृश्यावलोकन टावर समेत बनाउने हो भने त यसले
भरपर्दो अतिरिक्त आम्दानी दिनेछ र हाम्रो आन्दोलन प्रदेश/स्वायत्त क्षेत्र धनी हुन
सक्छ. भनिन्छ आजको बिश्वमा नया अनुसन्धानले नै राष्ट्रको इज्जत र आमद निर्धारण
गर्छ. यो त अनुसन्धान, इज्जत र आमद सबैमा अब्बल हुने काइदा हो. कृपया समर्थन
गरिदिनुहुन सबै संग करजोर बिन्ती गर्छु.
बुधवार, मे 16, 2012
No comments:
Post a Comment