Thursday, May 24, 2012

बाहुन पत्रकारिता !


I received this communication forwarded by Mr. Ashik Malla.
Subodh.

Milan Bagale
मिलन बगाले / काठमाडौं
कान्तिपुरका सम्पादक सुधीर शर्मा । नागरिकका किशोर नेपाल । अन्नपूर्ण पोष्टका जिवेन्द्र सिम्खडा । नयाँ पत्रिकाका कृष्णज्वाला देवकोटा । समाचारपत्रमा कपील काफ्ले । हिमालय टाईम्समा अजयभद्र खनाल । हिमालमा किरण नेपाल । नेपाली टाईम्समा कुन्द दिक्षीत । नेपाल साप्ताहिकमा प्रशान्त अर्याल । बाहुनै बाहुन । सबका सब लामनाके । तागाधारी । पुरुष । टिभीतिर पनि तेस्तै । कान्तिपुर टिभीका समाचार सम्पादक तीर्थ कोईराला । कार्यकारी निर्माता भूषण दहाल । ईमेज च्यानलका समाचार हाकीम महेन्द्र विष्ट । नेपाल टेलिभिजनमा राजेन्द्रदेव आचार्य । एफएमतिर, अनलाईनतिर, यत्रतत्र बाहुनैबाहुन । हुँदाहुँदा विविसी नेपाली सेवाका हाकीमदेखि आर आर क्याम्पसका विभागीय प्रमुखसम्म लामनाकेकै हालीमुहाली । थेप्चे र नेप्टेको कतै नामोनिशान छैन । नेपाल पत्रकार महासंघलाई आदिवासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले बैशाख ७ गते ब्राम्हण पत्रकार महासंघभनेका छन् । अध्यक्ष शिव गाउँले । गाउँले बाहुनको थर होईन । तर यिनको नाक चुच्चो छ । पक्कै बाहुन हुन यिनी । उपाध्यक्ष यशोदा तिम्सिना । महासचिव ओम शर्मा । सचिव जगत नेपाल । कोषध्यक्ष शितल शाह । शाहजी केजातका हुन, मेसो भएन । सदस्यमा ११ जना बाहुनबन्धु । एकाध क्षेत्री, विश्वकर्मा, मधेसी, राई र घलेले सदस्ये बन्ने भाग्य पाएका रहेछन । हरे, बाहुनै बाहुन मात्रै रैछन महासंघमा पनि । तर, यि बाहुनहरु गतिलो कलम भएकाले त्यहाँ पुगेका हुन, बाहुन भएर हैन । अमेरिकामा बस्ने नेपाली पत्रकारको संस्था (नेजा) को अध्यक्षमा आङछिरिङ शेर्पा हालसालै छानिएका छन् । बाहुनचरीले दया गरेर शेर्पालाई अमेरिकामा अध्यक्ष पक्कै बनाएका हैनन । नेपाल पत्रकार महासंघलाई समावेशी बनाउनचाहि सक्नुपथ्र्यो, बडो राम्रो हुन्थ्यो । बाहुनजनले त्यतातिर चाहि त्यति सोचेनन कि ? कुन्नी ।Peace Politics of Nepal नामको किताबमा पत्रकार कनकमणि दिक्षीत ले नेपालमा बाहुनखेती फस्टाउनुका तीन कारण लेखेका छन् । देशभर छरिएको बाहुन बस्ती, जसले सन्जाल निर्माण ग¥यो । पढने पुरानो परम्परा, जसले जागीर खाने मेसो मिल्यो । नेपाली र संस्कृत भाषाको बलियो पकडले पनि धेरै काम ग¥यो । कनकमणिको ब्याख्याको सार यै हो । कुम्लो, कुटुरो, धुलौटो बोकेर काशी बनारस, गुरुकुल पस्ने - लेखपढ गर्ने पुरानो परम्परा र नेपाली भाषाको पकडले पत्रकारिता बाहुनले सजिलै गरिखान सक्ने पेशा बन्यो । बिचरो बाहुनचरीले यही जान्यो त्यही ग¥यो । सुधीर शर्मा, किशोर नेपाल, राजेन्द्रदेव आचार्य कसैको दायामाया र बैशाखी टेकेर मूलधारे पत्रकार भएका होईनन् । फलामका च्यूरा चपाएरै गरिखान सक्ने भएका हुन् । बाहुनईतर पत्रकार पनि नेपालमा नभएका कहाँ हुन र ? पहिलो दैनिक पत्रिका समाजका सम्पादक सिद्धिचरण श्रेष्ठ हुन् । सहप्राध्यापक लालदेउसा राई धेरै नेपाली पत्रकारका गुरुबा हुन् । कसमस विश्वकर्मा दलित भएकाले माथि पुगेका होईनन, आफ्नै क्षमताले प्रगति गरेका हुन् । बाहुन अमित ढकाल बाहिरिएसगै उनी रिपब्लिका दैनिकको सम्पादक बनेका हुन् । यो कथा लामो छ । कसको मात्र नाम लिनु ?
आङकाजीले पत्रिकामा बाहुनबाद पोखियो भनेका छन् । मैले अ‍ैलेसम्म जनै, शंख, घण्ट र शालिग्रामको खबर नेपाली छापामा पढेको छैन । पञ्चामृत, पञ्चपात्रो, पञ्चगव्य र गौदानको ब्याख्या गरेर छापिएको खबर पनि पढेको छैन । बाहुन संग्रहालयको खबर र फोटो पनि छापामा कहिल्यै आएको छैन, भलै देशमा एकाध संग्रहालय छन् । बाहुनबाद जिन्दावाद भाकाको लेख पनि कहिल्यै छापिएको छैन । फुरौला, खीर, लट्टे आदि परिकारको रिसिपी पनि पत्रिकामा छापिएको छैन । शेर्पा, गुरुङ, तमाङ, मगर, थारु, राई, लिम्बु, नेवार आदि जातजातीका लुगा, संस्कार, चाडवाड, भाषा, खानपिन, नाचगान , वास्तुकला आदि कुरालाई मूलधारे मिडियाले राम्रो स्थान दिएका छन् । आदिवासी, जनजाती, दलित र दमित बर्गलाई अधिकार माग्न सिकाउने र आफू शोषित भएको खबर थाहा दिने मूलधारे छापाका बाहुनहरु नै हुन् । बाहुन भएकाले अरुलाई दया गरेका हुन भन्न खोजेको होईन । जिम्मेवार पदमा भएका तिनीहरुले जातको संकुचित घेराभित्र बसेर पेशालाई बिटुलो बनाएनन भन्नमात्र खोजेको । बाहुनले आफ्नो खबरलाई छापामा छापेन भनेर आङकाजी र राजकुमार लेखीहरु डुक्रिनुको कुनै अर्थ छैन । आङकाजी शेर्पा, राजकुमार लेखी, पासाङ शेर्पा, मल्ल के सुन्दर, पदमरत्न तुलाधर र लक्ष्मण थारुहरुको सामाजिक पहिचान आफसेआफ बनेको होईन । सार्वजनिक समाचार माध्यमहरुले उनीहरुको सार्वजनिक छवि निर्माणमा सहयोग पु¥याएका हुन् । पेशाको जातभित्र पसेपछि मान्छेले जन्मदा पाएको जातको खासै अर्थ र मूल्य हुदैन । दलित सम्पादक रैछ भनेर म न कुनै पत्रिका बहिष्कार गर्न सक्छु न शेर्पा प्राध्यापक रैछ भनेर उसको लेख नपढी फाल्न सक्छु । डाक्टर हर्क गुरुङ, ओम गुरुङ, कृष्ण भट्टचन, श्रवण मुकारुङ, दुर्गालाल श्रेष्ठ, लालदेउसा राई, नारायण श्रेष्ठ आदि कैयन समाजशास्त्री, लेखक, कवि र पत्रकार मेरालागी अरु बाहुनचरीभन्दा धेरै प्रिय छन् । मूलधारको पत्रकारितामा बाहुनबाद पोखिएको र आदिवासीलाई कुनामा ठेलेर हेपिएको भन्ने आङकाजी र राजकुमार लेखीहरुको भनाई त्यति तर्कसंगत छैन । नेपालको मूलधारे छापा समावेशी छैन । सन्तुलित छैन । नेपाली भाषा बाहुनबाहेक अरुले गतिलो लेख्न जान्दैनन भन्ने दम्भपनि अझै बाक्लै छ । दलित, महिला, मधेसी र जनजातीको ठूलो हिस्साको उपस्थिति पक्कै छैन । तरपनि, नेपालको मूलधारे पत्रकारिता अतिवादी चाहि छैन । एउटा निश्चित जात र वर्गबाट आएकाको हालीमुहाली भएपनि तिनले बाहुनवादको सिन्डिकेट चलाएको छैनन् । सुधानुपर्ने ठाउँ र सुध्रिनुपर्ने कुरा धेरै छन् । तर सडकमा पिटेर र कोठामा थर्काएर सुधार्ने सपना देख्नु दुखद छ । नेपाली समाचारमाध्यम सबैको वाणी अटाउनसक्ने सफा थलो बनोस । जय होस् । Milan Bagale

1 comment:

  1. सुबोध सर,मेरो लेख आफ्नो ब्लग मार्फत् पाठक मित्र हरु सामु राखीदिनु भएकोमा धेरै धन्यवाद । अशिक मल्ल जी लाइ पनि धेरै धन्यवाद ।

    मिलन बगाले
    (http://sabdachittra.blogspot.com/2012/05/blog-post_20.html)

    ReplyDelete